२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

युरोपबाट चीन हुँदै भारतमा सुन तस्करी

काँकडभिट्टा — गत सोमबार सिलगुडीमा १० किलो सुनसहित तीन जना पक्राउ परे । केन्द्रीय राजस्व गुप्तचर विभागको टोलीले सुन तस्करीको आरोपमा मिजोरम २४ वर्षीया जमुना किमा, २० वर्षीय एस रुआल सागपुइआ र ३५ वर्षीय लाल नेइहलियालाई पक्राउ गरी अदालतमा बुझायो । 

युरोपबाट चीन हुँदै भारतमा सुन तस्करी

सिलिगुडीबाट बरामद सुनमा अस्ट्रेलिया, चीन र स्विट्जरल्यान्डको नाम जनाउने मार्का लगाइएको थियो । त्यसकारण सुन युरोपबाट चीन हुँदै भारत भित्रिने गरेको आशंका गुप्तचर विभागको छ । ‘अस्ट्रेलिया, स्विट्जरल्यान्डलगायत मुलुकबाट चीनको बाटो भएर सुन भारत तस्करी भएको देखियो,’ राजस्व अनुसन्धान विभागका एक अधिकारीले भने ।


तेस्रो देशबाट चीन ल्याइने सुन चीनबाट बर्मा, भुटान र सिक्किमको नाथुला मार्गबाट भारत तस्करी हुने गरेको पाइएको हो । पहिला चीनवाट नेपाल ल्याएपछि भारत पुर्‍याउन सहज थियो । अहिले लामो रुट प्रयोग गरेर तस्करी भइरहेको छ ।


सीमावर्ती भारत पश्चिम बंगालको सिलिगुडी सुन तस्करीको ट्रान्जिट बन्दै गएको छ । बंगालको दोस्रो ठूला व्यापारिक केन्द्र सिलिगुडीबाट वर्ष दिनभित्र १ सय ४८ किलो बढी सुन बरामद गरिसकिएको छ । जसको बजार मूल्य करिब ४४ करोड भारु हुन्छ ।


भारतको गुप्तचर विभागका अनुसार बर्मा, भुटान र चीनको बाटो भएर भित्रिने सुन सिलिगुडी हुँदै भारतका विभिन्न सहरमा खपत हुने गर्छ । विगतमा नेपालबाट ठूलो परिमाणमा सुन सिलिगुडी भित्रिन्थ्यो । साढे ३३ किलो सुन काण्डपछि नेपालबाट सुन भित्रिन पाएको छैन । जसका कारण भुटान, चीन र बर्माबाट सुन भित्रिरहेको गुप्चतर विभागको दाबी छ ।


‘नेपालबाट सुन तस्करी गर्न नपाउँदा अन्तरदेशीय संगठित गिरोहहरूले कहिले नाथुला त कहिले भुटानको फुन्छोलिङ नाकाको प्रयोग गरेर सुन भित्र्याइरहेका छन्,’ गुप्तचर विभागका एक अधिकारीले भने, ‘नेपालबाट तस्करी गर्न सजिलो थियो, अहिले त्यति सजिलो छैन ।’


अघिल्लो वर्ष जेठ १८ मा चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन विभागको टोलीले सिलिगुडीबाट बरामद गरेको थियो । असार १३ गते थप २ किलो सुन सिलिगुडीबाटै पुन: बरामद गरेको थियो । असार २३ मा १० किलो सुनसहित दुई जना सेवोक रोडबाट पक्राउ परे । भदौ ९ मा विभागले बरामद सुनको सूचीमा फेरि २० किलो थप्यो । सुनसहित सिलिगुडी भानु नगरका दाइभाइ निरज र रोहित अग्रवाल पक्राउ परेका थिए ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?