३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हङकङ प्रदर्शन : 'सामाजिक सञ्जालबाट भ्रम’

ट्वीटर र फेसबुकले भ्रामक सूचना प्रवाह गरेको पत्ता लागेपछि कैयौं चिनियाँ खाता बन्द गरेको जनाएका छन् 
(एजेन्सी)

क्यालिफोर्निया — सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले हङकङमा लोकतन्त्र पक्षधरले गरेको आन्दोलनबारे चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको भन्दै नियन्त्रणका लागि कदम चालेको जनाएका छन् ।

हङकङ प्रदर्शन : 'सामाजिक सञ्जालबाट भ्रम’

सामाजिक सञ्जाल ट्वीटरले ‘हङकङमा वैधानिकता अन्त्य गर्ने तथा राजनीतिक द्वन्द्वको बीउ रोप्ने प्रयास गर्ने’ ९३६ खाता बन्द गरिदिएको जनाएको छ । हङकङको मुख्य भूमि चीनबाट सञ्चालित खाता आफ्नो नीति प्रतिकूल रहेको पनि ट्वीटरले जनाएको छ ।


‘हाम्रो सञ्जालमार्फत भ्रम पार्ने विभिन्न नीति उल्लंघन गरेकाले सबै खाता बन्द गरिएको हो,’ ट्वीटरले वेबसाइटमा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख, ‘स्वस्थ र खुला बहसको संरक्षणको पक्षमा छौं ।’


त्यसैगरी, फेसबुकले पनि ७ वटा पेज, ३ वटा समूह र ५ वटा खाता हटाइएको जनाएको छ । ‘ती खाता तथा पेजमा बारम्बार स्थानीय राजनीतिक समाचार र हङकङमा जारी प्रदर्शनलगायत विषयबारे लेखिन्थ्यो,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेइचर भने, ‘उक्त कार्य गर्ने मानिसले पहिचान लुकाउन खोजे पनि हाम्रो अनुसन्धानले ती चीन सरकारसँग सम्बन्धित रहेको प्रस्ट भएको छ ।’


ट्वीटरका ९३६ खाताका अतिरिक्त २ लाखभन्दा बढी खाता अफवाह फैलाउने उद्देश्यले खोलिए पनि प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको ट्वीटरले उल्लेख गरेको छ । ‘हाम्रो विस्तृत अनुसन्धानपछि संगठित रूपमा चीन सरकार समर्थित कार्य गरिएको भरपर्दा प्रमाणहरू भेटिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैगरी, हामीले हङकङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचार सार्वजनिक गर्ने थप समूहहरू पत्ता लगाएका छौं ।’


गत साताको अन्त्यमा चिनियाँ सरकारी समाचार संस्था सिन्हृवाले ट्वीटरमा प्रायोजित पोस्ट गरेको सार्वजनिक भएपछि कडा आलोचना भएको थियो । त्यसलगत्तै ट्वीटरले त्यस्ता विज्ञापन स्वीकार नगर्ने घोषणा गरिसकेको छ ।

‘हामीले राज्य नियन्त्रित समाचार संस्थाको विज्ञापन स्वीकार गर्दैनौं,’ कम्पनीले भनेको थियो । तर ट्वीटरले आफ्ना नयाँ नीति स्वतन्त्र सार्वजनिक प्रसारकहरूका हकमा लागू नहुनेसमेत उल्लेख गरेको छ । चीनमा ट्वीटर प्रतिबन्धित भए पनि मानिसले भीपीएनमार्फत् प्रयोग गर्छन् ।


किन हुँदै छ प्रदर्शन ?

हङकङ केही महिनाअघि पेस गरिएको सुपुर्दगीसम्बन्धी विधेयकमा असहमति जनाउँदै सर्वसाधारणहरू प्रदर्शनमा उत्रेका हुन् । अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि त्यसको खारेजीको मागसहित सुरु भएको प्रदर्शन पछिल्ला सातामा लोकतन्त्रका विविध पक्षमा केन्द्रित छ ।


प्रदर्शनकारीले स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दै आएका छन् । लगातारको विरोधपछि हङकङ सरकारले विधेयक स्थगित गरिसकेको छ । तर प्रदर्शनकारीले विधेयक खारेजी, प्रमुख कार्यकारी क्यारी लामको राजीनामा तथा प्रदर्शनका क्रममा भएका प्रहरी दमनको स्वतन्त्र छानबिनको माग गर्दै आएका छन् । विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर क्रियाशील छन् ।


एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो । ती युवकलाई बुझाउन ताइवानद्वारा आग्रह गरिए पनि सुपुर्दगी कानुनको अभावमा सम्भव नहुने हङकङको दाबी छ । विधेयकका पक्षधरले हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको दाबी गर्छन् ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । त्यसयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन गर्दै आएको चीनले सीमावर्ती क्षेत्र सेन्जेनमा ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।


चीनको उक्त कदमसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आफैं क्रियाशील भएर हङकङ समस्या समाधान गर्न’ चेतावनीसमेत दिइसकेका छन् । त्यसैगरी, बेलायतले पनि ‘हङकङका प्रदर्शनकारीको माग पूरा हुनुपर्ने तथा प्रहरी दमनको छानबिन गरिनुपर्ने’ बताइसकेको छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?