कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्रेक्जिट विवाद–'संकट टार्न चुनाव’

नवीन पोखरेल

लन्डन — बेलायतको प्रमुख विपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) संकट रोक्नका लागि मध्यावधि चुनाव गर्नुपर्ने माग गरेका छन् । कोर्बिनको भनाईसँगै लेबर सर्मकहरू चुनावको माग गर्दै सडकमा समेत उत्रेका छन् ।

ब्रेक्जिट विवाद–'संकट टार्न चुनाव’

विपक्षी नेता कोर्बिनले ‘युरोपेली संघसंघ बिनासम्झौता बेलायतको बहिर्गमन रोक्न जस्तोसुकै कदम चाल्न’ समेत आफू तयार रहेको चेतावनी समेत दिएका छन् ।

बोरिस जोन्सन नेतृत्वको सरकारले आगामी अक्टोबर ३१ को समयसीमाभित्रै बेलायत युरोपेली संघबाट अलग हुने बताउँदै आएका छन् । तर विपक्षी दल लेबरले प्रधानमन्त्री जोन्सनविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीसमेत सुरु गरेको बेलायती अखबारहरूले जनाएका छन् । कोर्बिनले बिनाकुनै सम्झौता बेलायत ईयूबाट बाहिरिने स्थिति ‘नो डिल ब्रेक्जिट’ लाई रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउन आहृवान गरेका छन् ।


उनले बोरिस सरकारविरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने र त्यो पारित भए मध्यावधि चुनाव घोषणा गर्ने र ब्रेक्जिटको समयसीमा बढाउने तथा जनमतसंग्रहका लागि अभियानसमेत चलाउने जनाउने गरेका छन् । तर, संसदको तेस्रो ठूलो दल लिबरल डेमोक्र्याटकी नेतृ जो स्विन्सनले आफ्नो दलले कोर्बिनलाई समर्थन नगर्ने जनाएकी छन् । उनले आफ्नो दलले सत्तारुढ दलका केन क्लार्क वा लेबरकी हृयारियट हर्मनलाई समर्थन गर्न सक्ने संकेत गरिन् ।


तर, कोर्बिनले आफ्नो प्रयास जारी राखेका छन् । स्कटिस प्रथममन्त्री निकोला स्टर्जनले बिनासम्झौताको खतरा टार्न स्कटिस नेसनल पार्टीले वेस्टमिनिस्टरमा स्विन्सनसँग पनि सहकार्य गर्ने जनाइन् ।


प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ भित्र कुनै पनि अवस्थामा बेलायत युरोपियन युनियन (ईयू) बाट बहिर्गमन (ब्रेक्जिट) हुने घोषणा गर्दै आएका छन् । तर, यो अडानका कारण उनकै पद धरापमा पर्ने अनुमान सुरु भइसकेको छ । संसद्मा अविश्वासको प्रस्ताव आफ्नो पक्षमा पार्न सके स्वतः आमचुनावको पक्षमा जनमत जाने रणनीतमा विपक्षी नेता कोर्बिन देखिएका छन् । यद्यपि, सत्तारूढ दल कन्जरभेटिभको एक बहुमतका आधारमा प्रधानमन्त्री बनेका जोन्सनले अक्टोबर ३१ को ब्रेक्जिट समयसीमाअघि चुनाव गर्ने विषयको कुनै गुन्जायस नभएको बताउने गरेका छन् ।


बहुसंख्यक व्यवसायीले बेलायत ईयूसँग बिनासम्झौता बहिर्गमन भए व्यापारमा प्रतिकूल असर पर्ने बताउँदै आएका छन् । बैंक अफ इंग्ल्यान्डले ‘नो डिल ब्रेक्जिट’ भए वार्षिक ३० अर्ब पाउन्डभन्दा बढी नोक्सान पर्ने जनाएको छ ।


यसैबीच, ब्रिटेनले युरोपेली संघ (ईयू) छाड्नेबारे कुराकारी गर्न ब्रिटिस प्रधानमन्त्री जोन्सन आउँदो साता पेरिस र बर्लिन जाने भएका छन् । उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों तथा जर्मनीकी चान्सलर एन्जेला मर्केलसँग कुराकानी गर्ने छन् । टेरेजा मेले राजीनामा गरेर ब्रिटेनको प्रधानमन्त्री चुनिएपछि जोन्सनको यो पहिलो युरोप भ्रमण हो । उनले आइरिस प्रधानमन्त्री लियो भारदकर तथा युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँग फोनमा कुरा गर्ने द गार्डियन समाचारपत्रले जनाएको छ ।


आउँदो सप्ताहन्त फ्रान्सको बिएरित्जमा हुने सात ठूला औद्योगिक राष्ट्रहरू (जी–७) को शिखर सम्मेलन अघि प्रधानमन्त्री जोन्सनले भेटघाट गर्न लागेका हुन् ।


यद्यपि, ब्रिटिस अधिकारीले ती भेटवार्ताबाट ठोस उपलब्धि हुनेमा आशंका व्यक्त गरेका छन् । जर्मन सरकारबाट चुहिएको एक दस्तावेजमा कुनै सम्झौता भए पनि वा नभए पनि आउँदो अक्टोबर ३१ का दिन बेलायतले युरोपेली संघ छाड्ने छ भन्ने प्रधानमन्त्री जोन्सनको भनाइले युरोपेली नेताहरूको सोचाइमा कुनै परिवर्तन नल्याएको उल्लेख छ । जर्मन अर्थ मन्त्रालयले ब्रेक्जिटबारे ब्रिटेनसँग फेरि औपचारिक वार्ता हुने सम्भावना नरहेको जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?