हङकङमा चर्कियो प्रदर्शन 

विरोधमा उत्रे दसौं हजार 
एजेन्सी

हङकङ — हङकङमा विगत एघार सातादेखि जारी सरकारविरोधी आन्दोलन क्रममा आइतबार दसौं हजार मानिस सडकमा उत्रेका छन् । यसअघि गरिएका विरोधमा झडपहरू भए पनि आइतबारको प्रदर्शन भने शान्तिपूर्ण रह्यो । 

हङकङका लोकतन्त्र पक्षधरले आइतबार भिक्टोरिया पार्कमा गरेको सरकारविरोधी प्रदर्शन । तस्बिर : एपी

सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङका मुख्य स्थानमा सुरु प्रदर्शन हाल लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । पछिल्ला प्रदर्शनमा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन माग गरिँदै आएको छ । सरकारले स्थगित गरिसकेको भए पनि सुपुर्दगी विधेयक फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीको छ ।

विरोध प्रदर्शन चर्कंदै गएपछि चीनले पछिल्लो समय प्रदर्शनकारीलाई लक्षित गरी कडा चेतावनी दिँदै आएको छ । सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । त्यसयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन गर्दै आएको चीनले सीमावर्ती क्षेत्र सेन्जेनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रदर्शनको नेतृत्व गरेका संघसंस्था तथा मानव अधिकारवादी समूहहरूलाई सहरी क्षेत्रमा र्‍याली आयोजना गर्न भने रोक लगाइएको थियो । ‘सिभिल राइट्स ह्युमन फ्रन्ट’ का अनुसार भिक्टोरिया पार्कमा प्रदर्शनका लागि अनुमति दिइएको थियो । बीबीसीका अनुसार एड्मीराल्टी, कजवे र वान चाईलगायत स्थानमा प्रहरीको बेवास्ता गर्दै ठूलो मात्रामा प्रदर्शनकारी विरोधमा उत्रेका थिए । ठूलो वर्षाका बाबजुद भेला भएका प्रदर्शनकारी भिक्टोरिया पार्कमा नअटेपछि वरपरका सडकमा समेत जम्मा भएका थिए ।

प्रदर्शनमा सहभागी सरकारले आफ्ना मागको बेवास्ता गरेको भन्दै आक्रोशित देखिन्थे । एक प्रदर्शनकारी वङले भनेका छन्, ‘हामी विभिन्न मागसहित दुई महिनादेखि लडिरहेका छौं तर हाम्रो सररकाले कुनै जवाफ दिएको छैन । हामी पटकपटक विरोधमा उत्रन सक्छौं ।’ कतिपय प्रदर्शनकारीले ‘हङकङलाई स्वतन्त्र बनाऊ’ लेखिएका प्लेकार्ड बोकेका थिए भने उनीहरूले ‘तत्काल लोकतन्त्र’ भन्ने नारा लगाइरहेका थिए ।

अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास
यसअघि विरोध प्रदर्शन क्रममा प्रहरीसँग भिडन्त भएपछि उनीहरूले गतसाता हङकङ अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेका थिए । प्रदर्शनकारीको भीडका कारण अस्तव्यस्त भएपछि विमानस्थल प्रशासनले सबै उडान रद्दको घोषणा गर्दै यात्रुलाई आवतजावत नगर्न सूचना जारी गरेका थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास तथा रबरका गोली प्रहार गरेपछि उनीहरू प्रहरीप्रति आक्रोशित थिए ।

आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले विमानस्थलमा विरोध सुरु गरेको जनाएका थिए । चीन तथा अमेरिकालगायत देशले हङकङमा जारी प्रदर्शनप्रति चासो व्यक्त गर्दै चीनलाई शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न आग्रह गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आफैं क्रियाशील भएर हङकङ समस्या समाधान नगरे व्यापार सम्झौता नहुने’ चेतावनी दिइसकेका छन् । त्यसैगरी, बेलायती विदेशमन्त्री डोमिनिकन राबले ‘हङकङमा प्रदर्शनकारीको माग पूरा गरिनुपर्ने तथा उनीहरूमाथि भएका प्रहरी दमनको छानबिन हुनुपर्ने’ बताएका थिए ।

के गर्दै छ चीन ?
विरोध प्रदर्शन चर्कंदै गएपछि हङकङमा रहेका चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता व्यक्त हुने गरेको छ । हङकङको सीमाक्षेत्रमा सैनिक बल थपेपछि चीनले त्यसको तयारीका गरेको आकलन गरिएको थियो । हङकङमा सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद् व्यवस्थापनमा आवश्यक सहयोगका लागि सरकारले चिनियाँ जनमुक्ति सेनालाई आग्रह गर्न सक्ने कानुनी व्यवस्था छ तर हङकङमा सेना परिचालन गर्नु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क विश्लेषकहरूको छ ।

यसअघि चीनले हङकङमा भएका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ को संज्ञा दिँदै यसका लागि ‘कट्टरपन्थी तत्त्वहरू जिम्मेवार’ रहेको समेत दाबी गरेको थियो । चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालय (एचकेएमएओ) प्रवक्ता याङ गुआङले विज्ञप्तिमार्फत हङकङको प्रदर्शनले ‘कानुनी शासनमाथि नै गम्भीर असर पुर्‍याएको’ दाबी गरेका थिए ।

विरोध प्रदर्शन किन ?
अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो ।

स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीको छ । विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भदै विशाल प्रदर्शनहरू गरिँदै आएको छ तर हङकङका अधिकारीले सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने बताएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

रोपाइँ गर्न खेतमै जाग्राम

एकपटक जोत्ने खेत किसानले ३ पटक जोतिसके । तर पानी नपरेर रोपाइँ हुन सकेको छैन । बीउ पनि सुक्न थालेका छन् । 
मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका–१३ बस्तीको अधिकांश क्षेत्रमा रोपाइँ हुन सकेको छैन । जिल्लाकै धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिएका बस्तीका खेत बाँझै छन् ।

मंगलसैन नगरपालिका–१३ बस्तीमा रोपाइँ हुन नसकेका खेत । तस्बिर : मेनुका/कान्तिपुर 

आमाडालाका ५०, वडपीपलका ६, भावर खोलाका ३०, नवाडीका ७, बडीघाटका १०, कोसैनका २० र भीमलाका ४० गरी १६३ परिवारका खेतमा रोपाइँ नभएको हो । ‘कहिले पानी पर्ला र रोपाइँ गरौंला भनेर किसान खेतमै जाग्राम बसेका छन्,’ स्थानीय टेकबहादुर धामीले भने, ‘खेतमै त्रिपाल टाँगेका छौं ।’

रोपाइँका लागि खेतमा त्रिपालै टाँगेर बस्नुपरेको यो पहिलो पटक भएको धामीले बताए । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसानले सधैंजसो खाद्यान्न अभाव झेल्नुपरेको छ । आकाशेपानीको मौका छोपी खेती गर्नुपर्ने उनीहरूको पुरानै नियति हो । सेती नदीसँगै जोडिएको खेत हिउँदमा मात्र होइन, वर्षामा पनि सुक्खै रहन्छ । साउन सकिनै लाग्दा पनि वर्षा नभएपछि खेत यो वर्ष पनि बाँझै रहने चिन्ता उनीहरूको छ ।

रोपाइँ गर्न आकाशेपानी पर्खिनुपर्छ । बेलैमा पानी परेन भने खेत बाँझै रहने भएपछि किसान वर्षभर खाने अन्न खोज्न तराई जाने गरेको स्थानीय एकेन्द्र धामीले बताए । बिजुली पनि नपुगेको यस क्षेत्रमा पम्प र लिफ्ट गरी सिँचाइ गर्न पनि असम्भव छ । खेतमा पानी नलाग्दा अधिकांश जग्गामा उब्जनी हुन सकेको छैन । ‘एक पटक जोत्नुपर्ने खेत ३ पटक जोतियो, तर रोपाइँ नै हुन सकेन,’ धामीले भने, ‘बीउ पनि सुक्न थालिसक्यो ।’

उनका अनुसार सेती नदी किनारका खेत लोभलाग्दो गरी पाटा मिलेका छन् । तर खोलाको पानी खेतसम्म ल्याउन नसक्दा रोपाइँमा व्यस्त हुनुपर्ने किसान फुर्सदिला छन् । ‘साउन सकिन लाग्दासमेत पानी नपर्दा खेती लगाउन नपाइएला भन्ने चिन्ताले पिरोलेको छ,’ अर्का स्थानीय रमेश धामीले भने, ‘यी खेतमा सिँचाइ सुविधा भए वर्षको दुई पटक धान उत्पादन गर्न सकिन्छ । प्रशस्त मौसमी तथा बेमौसमी तरकारी उत्पादनको सम्भावना छ । पानी नभएपछि थोरै खेतमा मात्र किसानले वर्षाको पानीको भरमा धान रोप्ने गरेका छन् ।’

स्थानीयका अनुसार खेतमा कुलो लाग्दैन । खोलामा समेत पानी छैन । आकाशेपानीको भर परेपछि खेत बाँझै छ । खेतमा धानको बीउ राखेको दुई महिना बढी भइसक्यो । धान रोप्न पानी छैन । ‘आकाशेपानीको भरमा रोपाइँ गर्थ्यौं, यसपाला पानी परेन खेत बाँझै छ,’ बस्तीका परे धामीले भने । सिँचाइका लागि अन्य कुनै विकल्प नभएको उनले बताए ।

‘यो वर्ष त भोकमरी पर्छ कि भन्ने चिन्ता लागेको छ,’ उनले थपे । जिल्लामा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । समयमै मनसुन सक्रिय नहुँदा यसपालि धान रोपाइँ समयमै सुरु हुन नसक्दा अधिकांश खेत बाँझै रहेको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्