कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्यांकर जफत गर्न अमेरिकी पक्राउ पुर्जी

एजेन्सी

वासिङ्टन — जिब्राल्टरले गत महिना नियन्त्रणमा लिएको एक इरानी तेल ट्यांकर छाड्न अनुमित दिइएको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले पुनः जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ ।

जिब्रल्टारका एक न्यायाधीशले शुक्रबार इरानी सुपर ट्यांकर ‘ग्रेस–१’ लाई छाड्ने आदेश दिएका थिए । न्यायाधीशको आदेशपछि जिब्रलटारका मुख्यमन्त्री फाबिएन पिकार्डोले ट्यांकर आफ्नो देश जान सक्ने बताएका थिए ।


बेलायत स्वशासित क्षेत्र जिब्राल्टरबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको ट्यांकरले अवैध रूपमा सिरियातर्फ तेल ओसारेको दाबी गरिएको थियो । सिरियामा युरोपेली संघले प्रतिबन्ध लगाउँदै आएको छ । जिब्राल्टर सरकारले उसले इरानबाट ग्रेस–१ त्यसतर्फ नजाने आश्वासन पाए पनि नियन्त्रणमा लिएको बताएको थियो ।


अमेरिकाले ट्यांकरलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले अस्वीकार गरिदिएको थियो । इरानले यसअघि नै आफूले अन्तर्राष्ट्रिय नाकाबन्दी तथा निमय उल्लंघन नगरेको दाबी गर्दै ट्यांकर नियन्त्रणमा लिने कदमको विरोध गर्दै आएको थियो ।


आफ्नो ट्यांकर नियन्त्रणमा लिइएको दुई सातापछि इरानले स्ट्रेट अफ होर्मुजबाट बेलायती झन्डाबाहक ट्यांकर ‘स्टेना इम्पेरो’ लाई नियन्त्रणमा लिएको थियो । इरानले ट्यांकरले अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको दाबी गर्दै नियन्त्रणमा लिएको थियो ।


इरानले भने ‘आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएर पनि कुनै वास्ता नगरेपछि ट्यांकरलाई नियन्त्रणमा लिएको’ जनाएको थियो । तर ट्यांकरका मालिकले ‘स्टेना इम्पेरो’ ले कुनै अन्तर्राष्ट्रिय नियम उल्लंघन नगरेको तथा नियन्त्रण लिइएका बेला अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको’ दाबी गरेका छन् । ‘स्टेना इम्पेरो’ हालसम्म पनि इरानको नियन्त्रणमा छ ।


यद्यपि, उक्त घटनालाई जिब्राल्टरमा आफ्नो ट्यांकर नियन्त्रणमा लिइएको जवाफी कदमा रूपमा व्याख्या गरिएको छ । ‘स्ट्रेट अफ होर्मुज’ को उत्तरमा रहेको फार्सी टापुमा इरानी रेभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को जलसेनाको आधार रहेको छ ।


पर्सियन र ओमानको खाडीबीचको २१ मिटर चौडा ‘स्ट्रेट अफ होर्मुज’ खाडीको रणनीतिक क्षेत्र हो । खाडी क्षेत्रबाट तेल ओसापसारका लागि प्रयोग हुने मुख्य नाका ‘स्ट्रेट अफ होर्मुज’ बन्द भए विश्व अर्थतन्त्रमाथि नै नकारात्मक असर पर्छ ।


वासिङ्टनका अनुसार इरानी ट्यांकरले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, बैंक छली, सम्पत्ति शुद्धीकरण र आतंकवाद कानुनको उल्लंघन गरेको अमेरिकी दाबी छ । त्यसकारण ग्रेस–१ तथा त्यसमा रहेको तेल जफत गर्न सकिने अमेरिकाको भनाइ छ ।


पछिल्लो पक्राउ पुर्जीसँगै अमेरिकाले प्याराडाइज ग्लोबल ट्रेडिङ एलएलसीसँग जोडिएको बैंक खाताको ९ लाख ९५ हजार अमेरिकी डलर रकम जफत गर्नसमेत आदेश दिएको छ । कम्पनीले इरानी रेभोलुसनरी गार्ड कर्प्सका लागि काम गर्ने दाबी अमेरिकाको छ । रेभोलुसनरी गार्डलाई अमेरिकाले आतंकवादी संगठन बताउने गर्छ ।


अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अलग भएको घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै ‘तेहरानमाथि कडा आर्थिक प्रतिबन्ध’ लगाइसकेका छन् । दुई देशबीच जारी तनाव त्यसयता थप चर्केको हो ।

प्रकाशित : भाद्र १, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?