कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतमा स्वतन्त्रता दिवस– ‘एकीकृत भारतको सपना पूरा’

'जम्मु–कश्मीरका लागि यदि धारा ३७० र ३५ (क) महत्त्वपूर्ण नै थियो भने ७० वर्षमा भारी बहुमत हुँदाहुँदै पनि त्यसलाई विपक्षीहरूले स्थायी नबनाई किन राजनीति गरे’ 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णयको बचाउ गर्दै ‘एक देश एक संविधान’ को पुरानो लक्ष्य पूरा भएको दाबी गरेका छन् । 

भारतमा स्वतन्त्रता दिवस– ‘एकीकृत भारतको सपना पूरा’

भारतको ७३ औं स्वन्त्रता दिवसका अवसरमा बिहीबार नयाँदिल्लीस्थित लालकिल्लामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै मोदीले धारा ३७० खारेजी र जम्मु–कश्मीरलाई केन्द्रशासित दुई राज्यमा परिणत गर्ने निर्णयले सरदार बल्लभभाइ पटेलको एकीकृत भारतको सपना पूरा भएको समेत दाबी गरे ।


मोदी सरकारले अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानका धारा ३७० र ३५ (क) लाई खारेज गरेको थियो । करिब ९२ मिनेट लामो भाषणमा मोदीले ‘एक राष्ट्र एक संविधान’ को सपना साकार भएको र त्यसमा भारतलाई गर्व भएको समेत बताएका छन् ।


उनले धारा ३७० खारेजीप्रति विरोध जनाइरहेकोमा विपक्षीहरूमाथि पनि आक्रमण गरेका छन् । उनले धारा ३७० महत्त्वपूर्ण थियो भने त्यसलाई स्थायी बनाउनतिर किन ध्यान नदिएको भन्दै विपक्षीहरूको नियतमाथि प्रश्न गरे । ‘यदि धारा ३७० महत्त्वपूर्ण नै थियो भने ७० वर्षमा भारी बहुमत हुँदाहुँदै पनि किन त्यसलाई स्थायी बनाइएन ?’ मोदीले प्रश्न गरे ।


तर, उनले जम्मु–कश्मीरमा हाल कायम रहेको कर्फ्यु र स्थानीय राजनीतिज्ञहरूलाई कैद गरिएको सम्बन्धमा भने केही उल्लेख गरेनन् । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएपछि मोदीको यो पहिलो स्वतन्त्रता दिवसको भाषण हो ।

रंगीन पगडी र सेतो कुर्ता लगाएका मोदीले आफ्नो लगातार छैटौं स्वतन्त्रता दिवसमा सम्बोधन गर्दै मोदीले विगतको पाँच वर्ष न्यूनता आवश्यकता पूरा गर्न खर्च भएको र अबको पाँच वर्ष जनताको आकांक्षा पूरा गर्न केन्द्रित हुने बताए । त्यसैगरी उनले भारत सरकारले अब जनसंख्या नियन्त्रणलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् ।


भाषणका क्रममा मोदीले जनसंख्या वृद्धिलाई चिन्तासमेत व्यक्त गरे । उनले जनसंख्या नियन्त्रणका लागि देशभरि नै जनचेतना फैलाउनुपर्ने आवश्यकता पनि औंल्याए । ‘बढ्दो जनसंख्या देशका लागि चिन्ताको विषय हो । जागरुकता ल्याएर यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ,’ मोदीले भने ।


भारत जनसंख्याका हिसाबले छिमेकी चीनपछि दोस्रो ठूलो मुलुक हो । अहिलेकै गतिमा जनसंख्या वृद्धिदर रहेको खण्डमा आगामी एक दशकभित्र भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्ने प्रक्षेपण गरिएको छ । मोदीले यदि जनसंख्या नियन्त्रणका लागि उचित समाधान खोजिएन भने आउँदो पुस्ताले थप तनाव व्यहोर्नेसमेत दाबी गरेका छन् ।


‘जनसंख्या वृद्धिदर अनियन्त्रित गतिमा बढिरहेको छ । यसले हामीलाई र हाम्रो आगामी पुस्ताका लागि असंख्य चुनौतीहरू थपिरहेको छ,’ मोदीले भने । भाजपाका नेताहरूले जनसंख्या नियन्त्रणका लागि कडा कानुन ल्याउनुपर्ने माग गर्दै आए पनि प्रधानमन्त्रीले नै सार्वजनिक कार्यक्रममा बढ्दो जनसंख्याका र त्यसको नियन्त्रणका बारेमा बोलेको पहिलो पटक हो । भारतीय जनता पार्टी (भाजपा) को माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले पनि जनसंख्या नियन्त्रणलाई धेरैअघिदेखि नै आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको छ ।


साथै, मोदीले अमेरिकामा जस्तै भारतको स्थल, जल र वायु गरी सबै सेनाको प्रमुख एउटै बनाउने घोषणासमेत गरेका छन् । मोदीले तिनै सेनाको एउटा प्रमुख चिफ अफ डिफेन्स स्टाफ बनाउने घोषणा गरेका छन् । कार्गिल युद्धपछि चिफ अफ डिफेन्स स्टाफ बनाउनुपर्ने माग सुरु भएको थियो । त्यतिबेला गठित कार्गिल समीक्षा समितिले तिनै सेनाबीच राम्रो संवादका लागि सीडीएसको सिफारिस गरेको थियो ।


त्यसैगरी पानीको संकट समाधान गर्नका लागि ‘जलजीवन मिसन’ अन्तर्गत १०० लाख करोड भारुको पूर्वाधार विकास गर्ने घोषणासमेत मोदीले गरेका छन् । जमिनमुनिको पानीको सतह घट्न जाँदा विगत केही वर्षयता भारतका दक्षिणी राज्यहरूले खानेपानीको चरम अभाव खेप्दै आएका छन् ।


विशेषगरी तमिलनाडु, महाराष्ट्र, कर्नाटकलगायतका राज्यमा खानेपानीको चर्को अभाव हुने गरेको छ । र, सरकारमाथि त्यो समस्या समाधानका लागि दबाब पर्दै आएको थियो ।


विगत केही महिना भारतको अर्थतन्त्र सुस्त देखिए पनि मोदीले भने पाँच वर्षभित्र भारतको अर्थतन्त्रको आकार ५० खर्ब डलर पुग्ने दाबी गरे । ‘केहीले पाँच वर्षभित्र अर्थतन्त्रको आकारलाई दुई गुणाले वृद्धि गर्न असम्भव ठानेका छन् । तर, पछिल्लो ७० वर्षमा २० खर्ब डलर मात्र पुगेको अर्थतन्त्रमा पछिल्लो पाँच वर्षमा १० अर्ब डलरको थप्न सफल भएका छौं त्यसले यो लक्ष्य हासिल गर्न सम्भव छ,’ मोदीले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?