पाकिस्तानमा कालो दिन–‘कडा प्रतिक्रिया दिन्छौं’

'कश्मीरमा १२ दिनदेखिको कर्फ्यु जारी रहनु, थप सेना खटाइनु, राष्ट्रिय स्वयंसेवक संघका दस्ता परिचालन गरिनु तथा सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद गरिनु जातीय सफायाको तयारी’
एजेन्सी

इस्लामाबाद — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरमा मुस्लिम समुदाय निकै प्रताडित हुनुपरेको भन्दै पुनः अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । 

खानले ‘कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय समुदाय मौन रहेको बताउँदै मुसलमानविरुद्ध जातीय सफाया प्रयास भए कडा प्रतिक्रिया दिने’ चेतावी दिएका छन् ।
भारतले जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेसँगै उक्त क्षेत्रमा १२ दिनदेखि कर्फ्यु जारी छ भने सञ्चार सम्पर्कविच्छेद छ । भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानले भने कश्मीरमा भारतले गरेको दमन र मानवअधिकार उल्लंघनको विरोध स्वरूप बिहीबारलाई ‘कालो दिन’ को संज्ञा दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमार्फत् कश्मीरमा जातीय सफायाको तयारी गरिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘मोदीले यसअघि गुजरातमा मुस्लिमविरुद्ध गरेको जातीय सफायाको उदाहरणसँगै
कश्मीरमा १२ दिनदेखिको कर्फ्यु जारी रहेको, ठूलो संख्यामा सैनिकीकृत क्षेत्रमा थप सेना खटाइएको, राष्ट्रिय स्वयंसेवक संघका गुन्डा परिचालन गरिएको तथा सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद गरिएको छ ।’

यसअघि खानले पाकिस्तान शासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधनगर्दै बुधबार कश्मीरको विशेषाधिकार खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड खेलेकाले ‘भारतलाई पाठ सिकाउने समय आएको’ बताएका थिए ।

खानले जम्मु–कश्मीरविरुद्ध मोदीको क्रियाकलापका कारण युद्धको अवस्था आउने चेतावनी दिएका थिए । उनले मोदीको नाम लिएर भनेका थिए, ‘तपार्इंको इँटाको जवाफ हामी ढुंगाले दिन्छौं ।’

सम्बोधनका क्रममा खानले‘कश्मीर स्वतन्त्रतातर्फ अघि बढ्ने’ बताएका थिए । पाकिस्तानले यस वर्षको आफ्नो स्वतन्त्रता दिवस ‘कश्मीर एकता दिवस’ का रूपमा मनाएको हो ।

त्यस क्रममा प्रधानमन्त्री खान बुधबार पाकिस्तान शासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका थिए । जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने भारतको निर्णयबारे आपत्कालीन बैठक डाक्न राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष पाकिस्तानले औपचारिक अनुरोध गरिसकेको छ ।

भारतीय सरकारले भारत प्रशासित जम्मु–कश्मीरको विशेष मान्यता खारेज गरेसँगै परमाणु शक्तिसम्पन्न दुवै मुलुकबीच तनाव चुलिएको छ । पाकिस्तानले भारतको यो कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन ।
यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तरर्राष्ट्रियजगत्ले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका छन् ।

अगस्ट १९४७ मा बेलायतको शासनसत्ता ढलेसँंगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।

सीमा क्षेत्रको भिडन्तमा८ सैनिक मारिए
एजेन्सी (इस्लामाबाद)– कश्मीरमा भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा दुई देशका सेनाबीचको गोली हानाहानमा ८ सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३ पाकिस्तानी र ५ भारतीय सैनिक रहेका पाकिस्तानी सेनालाई उद्धृत गर्दै अर्न्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले बिहीबारट्वीट गर्दै सैनिकबीच गोली हानाहान भएको जनाएका हुन् । उनले लाइन अफ कन्ट्रोल (एलओसी) मा भारतीय सेनाले गोली हानेको बताएका छन् ।

प्रवक्ता गफुरले जम्मु–कश्मीरबाट ध्यान अन्तै मोड्न भारतीयसेनाले गोलीबारी गरेको दाबी गरेका छन् । एलओसीमा दुवैमुलुकका सैनिकले गोली हानाहान गरिरेहका छन् ।

पाकिस्तानी दाबीलाई कतिपय भारतीय सञ्चारमाध्यमले अस्वीकार गरेका छन् । उनीहरूले भिडन्तमा भारतीय सेनाको मृत्यु नभएको दाबी गरेका छन् । अलजजिराले भने पाकिस्तान नियन्त्रित कश्मीरमा बिहीबार २ सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

मष्टामाण्डौंमा डेउडा

मेनुका ढुंगाना

विनायक, अछाम — नाकमा फुली, टाउकोमा सेतो कपडा बाँधेकी ७० वर्षीया उज्जवलीदेवी शाही लाठीको सहारामा मेला हेर्न विनायकको उकालो लागिन् । लयाँटी निवासी यिनी पूर्वी अछामको विनायकमा हरेक वर्ष आइपुग्छिन् । मालिका चतुर्दशीको अघिल्लो दिनदेखि ३ दिनसम्म यहाँ यो क्षेत्रकै ठूलो मानिने ‘मष्टामाण्डौं’ मेला लाग्ने गर्छ । 

मनमा उत्साह बोकेर उज्जवलीदेवीजस्ता मानिस मेलामा किन आउँछन् भने टाढाका आफन्त र आफ्नै उमेरका साथीसँगीसँग यहीँ भेट हुन्छ । यसबाहेक मेलामा धामी नाच्ने, कुल देउता पुज्ने र देउडा खेल्ने कार्य पनि हुन्छ । यो सबै उनलाई रमाइलो लाग्छ । ३ दिन चल्ने मेलामा वरिपरिका श्रद्धालुहरूको भीड लाग्छ । ‘पहिले मेला हेर्न हिँडेरै आउँथे । यसपटक त मोटरसाइकल चढेर आएँ,’ उनले सुनाइन्, ‘छोराले विनायकसम्म पुर्‍याएपछि मलाई सजिलो भयो । सुख, दुःख साटासाट गर्ने, लामो समयसम्म नभेटिएका नातागोतासँग भेट हुने बेला पनि यही हो ।’

प्रायःजसो मेलापात र चुलोचौकोमा व्यस्त रहने महिला गाउँघरमै हुने यस्ता मेला जात्रा हेर्ने अवसर सकभर छुटाउँदैनन् । ‘पहिले त घरबाट निस्कनै पाइँदैन थियो,’ मेलामा भेटिएकी विनायक ५ कि ७५ वर्षीया खन्टी रावलले भनिन्, ‘कतै कसैको विवाहको रत्यौलीसम्म जान पाइन्थ्यो । यस्ता मेलामा चिनेजानेकाहरू भेट हुँदा खुसी लाग्छ ।’ मेला हेर्नकै लागि उनी गाउँका थुप्रै वृद्धवृद्धा र युवासहितआएकी थिइन् ।

मेलाकै अवसरमा माइतीघर जाने र बुबाआमा र दाजुभाइ भेट्ने प्रचलन पनि छ । स्थानीयका अनुसार दसैंतिहारभन्दा पनि चेलीका लागि यो मेला ठूलो मानिन्छ । ‘यो बेला माइतीघर आएन भने आमाबुवा र दाजुभाइले दुःख मान्छन्,’ कालीकोटबाट विनायकस्थित माइतीघर आइपुगेकी रमिला रावलले भनिन्, ‘बरु दसैंतिहारमा नआए दुःख मान्दैनन् ।’

स्थानीयका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा रहेको देउडा यो मेलाको अर्को आकर्षण हो । तीन दिनसम्म धितमर्ने गरी खेल्ने गरिन्छ । ठाडी भाका, न्याउले, देउडा दोहोरीको माध्यमबाट धेरैजसोले सुखदुःखका भाव अभिव्यक्त गर्दछन् । यीमध्ये केटा र केटी पक्षबीच देउडा दोहोरी चल्छ ।

मेलामा खासगरी मष्टो देउताअन्तर्गत पर्ने कालासिल्ला र बालनसिल्ला देउताको पूजा हुन्छ । मेलाकै लागि काम र अध्ययनका लागि घरबाहिर रहेकाहरू पनि सकभर फर्किने गर्छन् । ‘घर नफर्केको ५ वर्ष भएको थियो । मष्टो देउतालाई भाकेका कारण यो पटक फर्केर आएँ,’ स्थानीय प्रसादे रावलले भने, ‘यो पर्वलाई दसैंतिहारभन्दा ठूलो मान्छौं हामी ।’

अछामको विनायकमा जारी मष्टामाण्डौं मेलामा देउडा नाच्दै महिलाहरू ।तस्बिर : मेनुका/कान्तिपुर

मष्टो देउताका धामी स्थानीय रतनबहादुर शाहीका अनुसार यो पर्वमा गाउँभरिका पचासभन्दा बढी धामीसँगै नाच्छन् । देउतालाई भाकल दिए मनोकांक्षा पूरा हुने भन्दै बोकाको बलि पनि चढाइन्छ । ‘यहाँ जेठ पूर्णिमा, साउन पूर्णिमा र पुस पूर्णिमामा बलि दिइन्छ,’ उनले भने, ‘देउडा र देउता नाच भने साउनमा मात्रै देखाइन्छ ।’ उनका अनुसार यहाँ कालीकोट, सुर्खेत, दैलेख, जुम्ला, मुगु र बाजुराबाट जात्रा हेर्नेहरू आउँछन् ।

स्थानीय भाषामा यसरी आउनेलाई रम्च्यारु भन्ने गरिन्छ । ‘यो क्षेत्रको सबैभन्दा बढी पुज्ने देउता नै यही हो,’ शाहीले भने । मंगलबारबाट सुरु भएको मेला बिहीबार राति सकिने उनले बताए । गाउँगाउँमा सडक सञ्जाल विस्तार भएपछि मेलाको महत्त्व पहिलेभन्दा बढेको उनको बुझाइ छ ।

‘पहिले त मेलामा आउनका लागि २/३ दिन अगाडि नै घरको चाँजोपाँजो मिलाउनुपर्थ्यो । अहिले गाडी आउँछन् । टाढाटाढाबाट पनि एकै छिनमा आइपुग्छन् । यसले मेलाको प्रचारप्रसार र महत्त्व बढाएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्