कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पवन चाम्लिङका १० विधायक भाजपामा

मनोज बोगटी

(दार्जिलिङ) — पश्चिम बंगाल राज्यपछि भारतीय जनता पार्टीको आँखा सिक्किममा परेको छ । सिक्किमको राजनीतिमा भारतको सत्तारूढ दल भाजपाको उपस्थिति रहे पनि हालसम्म खास प्रभाव भने पार्न सकिरहेको थिएन ।

पवन चाम्लिङका १० विधायक भाजपामा

तर पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को २५ वर्षे एकछत्र राज तोड्दै पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चाले सरकार बनाएपछि सिक्किमको राजनीतिमा हलचल पैदा भएको छ ।


भारतीय जनता पार्टीको निर्देशनमा सिक्किमको राजनीतिक चलखेल गरिरहेको आरोप प्रसिद्ध फुटबल खेलाडी भाइचुङ भुटियाको दल हाम्रो सिक्किमलाई लाग्दै आएको छ । त्यसैगरी, सिक्किम क्रान्तिकारी मोर्चालाई समेत भाजपानिकट रहेको आरोप बेलाबेलामा लाग्ने गर्छ । तर क्षेत्रीय राजनीतिमा कुनै छनक नदिई सिक्किम डेमोक्रेटिक फ्रन्टका १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।


उनीहरूलाई मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र वरिष्ठ नेता राम माधवले भारतको राजधानी नयाँदिल्लीस्थित मुख्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराए । एसडीएफका वरिष्ठ विधायक दोर्जी छिरिङ लेप्चाको नेतृत्वमा उनीहरू भाजपा प्रवेश गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सिक्किममा ३२ विधानसभा सिट छन् । गत विधानसभा चुनावमा एसडीएफले १५ र एसकेएमले १७ सिट जितेपछि एसकेएमले सरकार गठन गरेको थियो । यद्यपि एसडीएफका २ र एसकेएमका एक विधायकले दुई/दुई क्षेत्रमा चुनाव जितेका कारण ३ स्थानमा उपनिर्वाचन हुन बाँकी छ । तर १० विधायक सामेल भएसँगै भाजपा सिक्किमको प्रमुख प्रतिपक्षी दल बनेको छ । भाजपा महासचिव राम माधवले भाजपाले विपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने बताए । पार्टी प्रवेश गरेलगत्तै विधायक दोर्जी छिरिङ लेप्चाले आफूहरू समयको मागअनुसार भाजपा प्रवेश गरेको बताए ।


‘मोदी सरकारले जसरी देशलाई अघि बढाइरहेको छ त्यो देखेर सिक्किमका युवा आकर्षित हुँदै गएका छन्,’ उनले भने, ‘त्यसलाई हरेर हामीले पनि समयसापेक्ष राजनीति गर्नुपर्छ ।’ यद्यपि, उनले केन्द्रको आशीर्वाद नभएसम्म क्षेत्रीय राजनीतिक दलको औचित्य नरहने दाबी गरे ।


प्रकाशित : श्रावण २९, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?