३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हङकङ विमानस्थल दोस्रो दिन पनि ठप्प 

(एजेन्सी)

हङकङ — हङकङ सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले दोस्रो दिन पनि  विमानस्थल ठप्प पारेका छन् । सामाजिक सञ्जालहरूमा सार्वजनिक दृष्यमा यात्रुहरूले प्रदर्शनकारीको भीड छिचोलेर प्रस्थान कक्षमा पुग्न संघर्ष गरिरहेका देखिन्थे । यद्यपि, प्रदर्शनकारीले कुनै पनि उडान हुन दिएनन् ।

हङकङ विमानस्थल दोस्रो दिन पनि ठप्प 

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मंगलबार ‘प्रदर्शनकारीलाई पुनः चेतावनी दिएकी’ छन् । उनले पछिल्लो समयको प्रदर्शनका कारण ‘हङकङ निकै खतरनाक अवस्थामा पुगेको र विरोधका समय हुने हिंसाले जटिल मोडमा पुर्‍याउने’ बताइन् । ‘एक मिनेट सोच्नुस् । हाम्रो सहर हेर्नुस्, घर हेर्नुस,’ रून्चे स्वरमा उनले भनिन्, ‘के तपाई यसलाई डुबाउन चाहनुहुन्छ ?’


तर लामको चेतावनीसँगै प्रदर्शनकारी झन् आक्रोशित बनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वकै व्यस्तमध्येको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार भेला भएका हजारौं सरकारविरोधी प्रदर्शनकारीका कारण सबै उडान रद्द भए ।


विमानस्थलमा प्रदर्शनकारीको भीड बढै गएपछि अधिकारीले स्थानीय समयअनुसार ४.३० बजे सबै उडान रद्दको घोषणा गर्दै यात्रुलाई विमानस्थलको टर्मिनल भवनबाट बाहिरिन भनेका थिए । क्याथे प्यासेफिकलगायत केही एयरलाइन्सले विमानस्थल बन्दको सूचना जारी गर्नुपुर्व नै उडान रद्द गरेका थिए ।


लगातार दसौं साता सप्ताहन्तमा गरिदैं आएको विरोध प्रदर्शन तत्काल रोकिने कुनै छनक छैन् । सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु गरिएको प्रदर्शन पछिल्लो समय लोकतन्त्रका विभिन्न विषयमा केन्द्रित छ ।


प्रदर्शनकारीले सुपुर्दगी विधेयक फिर्ता, कार्यकारी प्रमुख लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन माग गर्दै आएका थिए । तर उनीहरुले सरकारले आफ्ना मागप्रति वेवास्था गरेकाले अन्तर्राष्ट्रिय सममर्थन जुटाउन विमानस्थलमा प्रदर्शन गर्नुको विकल्प नभएको बताउने गर्छछन् ।


सोमबार पनि प्रदर्शनका कारण विमानस्थलले सबै उडान रद्द गरेको थियो । अधिकारीले विज्ञप्ति जारी गर्दै ‘नियमति कार्यमा अवरोध’ सिर्जना भएको जनाएको थियो । प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास तथा रबरका गोली समेत प्रहार गरेको थियो ।


सोमबार करिब २ सय उडान रद्द भएका थिए । एकसय बीसभन्दा बढी एयरलाइन्सले उडान भर्ने विमानस्लबाट बर्सेनि करिब ७ करोड ५० लाखले यात्रा गर्छन् । विमानस्थलबाट विश्वका २ सय २० गन्तव्यमा उडान हुँदै आएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?