केरलामा बाढीको कहर

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतीय राज्य केरलामा दुई दिनयताको भीषण वर्षापछिको बाढीले बितण्डा मच्चाएको छ । बाढीका कारण २८ जनाको ज्यान जानुका साथै ५० जनाभन्दा बढी सम्पर्कविहीन छन् । साथै हजारौं विस्थापित भएका छन् । 

शुक्रबारसम्ममा विस्थापितका लागि भनेर करिब ६ सय उद्धार क्याम्पहरू स्थापना गरिएका छन् । जहाँ करिब ५० हजारभन्दा बढी बाढीपीडितलाई राखिएको छ ।

विगत चार दिनदेखि भएको भारी वर्षाका कारण पेरियार र मुवटुपुरा नदीको सतह अत्यधिक बढ्न जाँदा केरलाका उत्तरी जिल्लाहरू कन्नुर, वायनाड, मालप्पुरम, कासरागोड लगायत आधा दर्जन जिल्ला बढी प्रभावित छन् । विशेषगरी बाढीले वायनाड जिल्लामा बढी क्षति भएको छ । त्यस जिल्लामा मात्र बाढीका कारण कम्तीमा ६ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ । त्यसैगरी, वायनाडमै कम्तीमा पनि २० घर पहिरोमा परेको बताइएको छ । वायनाड भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीको चुनावी क्षेत्र हो ।

बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त भएपछि केरला सरकारले शुक्रबार सार्वजनिक बिदासमेतदिएको थियो ।जल तथा मौसम पूर्वानुमान विभागले आगामी चार दिन अत्यधिक वर्षा हुने अनुमान गरेको छ । साथै वायनाडलगायतका सातवटा उत्तरी जिल्लाका मानिसलाई सुरक्षित स्थानमा जानसमेत सचेत गराएको छ । ‘चार दिन लगातार पानी परेको थियो । तर, शुक्रबार मध्याहृनदेखि त वर्षा झन् बढेको छ, जनजीवन पूरै अस्तव्यस्त छ,’ कासरागोठ जिल्लाका एक स्थानीय शिक्षक मधुसूदनले कान्तिपुरलाई बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मालापपुरम जिल्लाको कवलप्परामा बिहीबार रातिदेखि ५० भन्दा बढी सर्म्पकविहीन छन् । बाढीका कारण रनवेसमेत डुबेका कारण केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्मका लागि बन्दगरिएको छ ।

बाढीपहिरोकै कारण परिस्थिति असहज भएको भन्दै केरलाको अलापुरामा बर्सेनि हुँदै आएको चर्चित नेहरू डुंगा प्रतियोगता पनि हाललाई स्थगन गरिएको छ । यस वर्ष उक्त प्रतियोगिताका लागि भारतका चर्चित क्रिकेटर सचिन तेन्दुल्कर प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो ।

बाढीका कारण रेललगायतका सार्वजनिक यातायात अवरुद्ध भएका छन् । विभिन्न रुटका एक दर्जनभन्दा बढी रेल सेवा स्थगित गरिएको छ । केरलाले गतवर्ष पनि बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको थियो । गतवर्ष बाढीपहिरोले ५ सयभन्दा बढीको ज्यान गएको थियो भने सयौं बेपत्ता भएका थिए ।

गत वर्षको बाढी पछिल्लो सय वर्षकै सबैभन्दा विध्वंशकारी बाढी मानिएको थियो । बाढीका कारण करिब ८ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।

त्यसैगरी, अत्यधिक वर्षापछिको बाढीका कारण महाराष्ट्र र अर्को दक्षिण भारतीय राज्य कर्नाटकमा पनि ठूलो जनधनको क्षति भएको छ । शुक्रबारसम्म कर्नाटकमा बाढीले बगाएर ९ जनाको मृत्यु भएको छ भने ४४ हजारभन्दा बढी विस्थापित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्नाटकका तटीय क्षेत्रका जिल्ला बाढीले बढी प्रभावित भएका छन् । ऐतिहासिक हिन्दु र जैनमन्दिर रहेको प्रसिद्ध विश्व सम्पदा स्थल पत्तादकाल पनि जलमग्न भएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

संयमित बन्न राष्ट्रसंघको आग्रह

एजेन्सी

न्युयोर्क — जम्मु–कश्मीरको विशेषाधिकार खारेजीसँगै भारत र पाकिस्तानबीचको तनाव चर्किएका बेला संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई ‘अधिकतम रूपमा संयमित हुन’ आग्रह गरेका छन् ।

गुटेरेसले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न दुई देशबीच भएको सिमला सम्झौताको स्मरण गराएका छन् । भारतीय अधिकारीले जम्मु–कश्मीरबारे विद्यमान विवाद समाधानका लागि ‘सिमला सम्झौता’ आधार हुने बताउने गरेका छन् ।

महासचिव गुटेरेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जम्मु–कश्मीरको हकमा राष्ट्रसंघले आफ्नो बडापत्र र सुरक्षा परिषद्को प्रस्तावका आधारमा निर्णय लिने बताएका छन् । गुटेरेसले विज्ञप्तिमा सन् १९७२ मा भारत र पाकिस्तानले जम्मु–कश्मीर विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न सहमत भएका उल्लेख गरेका छन् ।

सन् १९७२ को जुलाई २ मा गरिएको सम्झौतामा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी राष्ट्रपति जुल्फिकर अली भुट्टोले हस्ताक्षर गरेका थिए । सम्झौतामा जम्मू–कश्मीरबारे ‘अन्तिम स्थितिको निर्धारण राष्ट्रसंघीय बडापत्रका आधारमा शान्तिपूर्ण तरिकाले गरिने’ उल्लेख छ । तर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेसँगै भारतले उक्त मुद्दा आफ्नो आन्तरिक मामिला भएको बताइसकेको छ ।

जसका कारण जम्मु–कश्मीर क्षेत्रमा तनाव थप बढ्ने निश्चित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कश्मीर राज्यलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० र अनुसूची ३५ ‘ए’ खारेज गरेको हो । मोदीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कदमको बचाउ गरेका थिए । सम्बोधनका क्रममा उनले ‘जम्मु–कश्मीर नयाँ युगमा प्रवेश गरेको’ दाबी गरेका थिए ।

तर मोदी सरकारको निर्णयप्रति पाकिस्तानले गम्भीर आपत्ति व्यक्त गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्ने तथा द्विपक्षीय व्यापार निलम्बनको घोषणा गरिसकेको छ । त्यससँगै पाकिस्तानले द्विदेशीय रेलसेवा ‘सम्झौता एक्सप्रेस’ बन्द गरेको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्