पश्चिम अस्ट्रेलियामा स्वेच्छिक मृत्यु प्रस्ताव

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिएको केही समयमा पश्चिम अस्ट्रेलियामा पनि यसलाई कानुनी रूप दिइने भएको छ ।

भिक्टोरिया अस्ट्रेलियामा स्वेच्छिक मृत्युको अधिकार दिने पहिलो राज्य हो । यही अधिकारको प्रयोग गरेर ६१ वर्षीया क्यान्सर रोगी महिला केरी रोबर्टसनले केही दिनअघि मात्र स्वेच्छिक मृत्युवरण गरेकी छिन् ।

विभिन्न कानुनी र स्वास्थ्यका प्रावधानहरू मेल खाएपछि मात्र प्रयोग गर्न पाउने यो अधिकारलाई संसद्बाट पारित गराउने उद्देश्यले पश्चिम अस्ट्रेलिया सरकारले समेत बिधेयक संसदमा लैजाने तयारी गरेको हो । राज्यका प्रिमियर मार्क म्यागवानले यसबारे विस्तृत छलफल र परामर्शपछि मात्र संसद्मा विधेयक लाने तयारी गरेको बताए ।

यस वर्षको अन्त्यसम्ममा इच्छामृत्युबारे निर्णय हुने जनाइएको छ । अस्ट्रेलियामा स्वेच्छिक मृत्युको अधिकार सम्बन्धमा लामो समयदेखि विभिन्न राज्यमा छलफल हुँदै आएको छ । ‘स्वेच्छिक मृत्युको अधिकार यस राज्यका नागरिकका लागि महत्त्वपूर्ण विषयका रूपमा रहिआएको र यस सम्बन्धमा बोल्न र मतदान गर्न सांसदले पाउनुपर्छ ।’ प्रिमियर म्यागवानले भने ।

यदि संसदले पारित गरेर कानुन बने पनि यसको अधिकार प्रयोग गर्नका लागि विभिन्न सर्तहरू राखिएका छन् । यस सेवाको उपयोग गर्न अस्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा भएको हुनुपर्ने, १८ वर्षमाथिको हुनुपर्ने, पश्चिम अस्ट्रेलियामा एक वर्षदेखि बसोबास गरिरहेको हुनुपर्नेलगायतका सर्तहरू पूरा गर्नुपर्ने छ । यसैगरी प्राणघातक रोग लागेको हुनुपर्ने र ६ महिना वा १ वर्षसम्म मात्र बाँच्न सक्नेअवस्था हुनुपर्नेसमेत बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार प्रस्ताव गरिएको कानुनमा यो सेवा प्रयोग गर्न चाहने बिरामीले तीन पटकसम्म स्वेच्छिक मृत्युका लागि अनुरोध गर्नुपर्ने छ भने दुईजना स्वतन्त्र व्यक्तिले यसको जमानी बसेको हुनुपर्ने छ । यसका साथै दुई चिकित्सकले दुई पटकसम्म स्वतन्त्र रूपले यसको जाँच गरेको हुनुपर्ने छ ।

राज्य सरकारले यो प्रक्रियालाई निगरानी गर्नका लागि संवैधानिक संस्था निर्माण गरिने बताएको छ । राज्यका स्वास्थ्यमन्त्री रोजर कुकले सरकारले विज्ञको सुझावतथा अन्य सरोकारवालासँगको सरसल्लाहमा यसको प्रस्ताव तयार पारिएको बताएका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

बेंसीसहर–चामे यात्रामा सधैं सास्ती

न ठेकेदारले राम्रोसँग पुल बनाउँछ न सडक कार्यालयले समयमा सडक सफा गर्छ ।
आश गुरुङ

लमजुङ — ६ वर्षयता मनाङको हुम्डेमा हवाई सेवा बन्द छ । चामे–बेंसीसहर सडक पनि ठाउँठाउँ अवरुद्ध हुने गरेको छ । नेपाली सेनाले ट्र्याक खोलेको सडक ५ वर्षअघि सरकारलाई हस्तान्तरण गरेको थियो ।

डिभिजन सडक कार्यालयले बर्सेनि मर्मत गर्दै आए पनि पहिरो खसिरहन्छ । मनाङबाट बेंसीसहर, पोखरा, काठमाडौं जाने तथा तल्लो क्षेत्रबाट मनाङ आउनेलाई सास्ती छ । पहिरोकै कारण उनीहरू दिनदिनै सवारीसाधन परिवर्तन गरी आउजाउ गर्न बाध्य छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ बुङछहराका बाबुराम तामाङका अनुसार सडकमा खसेको पहिरो ४/५ दिनसम्म नहटाउँदा स्थानीय जोखिममा परे । विद्यार्थीको पढाइ छुट्यो । ‘पहिरो गएपछि तुरुन्त हटाउनु सडक कार्यालयको कर्तव्य हो तर
कार्यालयको अनुकूलतामा काम गरिन्छ,’ उनले भने ।

उक्त पहिरो ५ दिनपछि शनिबार पन्छाइएको थियो । ‘न ठेकेदारले राम्रोसँग पुल बनाउँछ न सडक कार्यालयले समयमा सडक सफा गर्छ,’ मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकाका मनबहादुर गुरुङले भने, ‘यसले धेरैजसो मनाङवासी र पर्यटकलाई समस्या बनाएको छ ।’ मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देनछोपाङ गुरुङले दिनका दिन सडक कार्यालय र इन्जिनियरलाई फोन गरेर सडक सफा गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘सडकले भनेको समयमा काम गर्दैन । गरे पनि राम्रो गर्दैन । आफैंले गर्नुपर्ने भएपछि छिटो गर्नुपर्‍यो नि,’ उनले भने । सडक स्तरोन्नतिका लागि प्रदेश सरकार, केन्द्रीय सरकारसँग पहल भइरहेको उनले बताए । म्यार्दीखोलादेखि मनाङतर्फको सडक राम्रो भए पनि उत्तिसघारीमा ढुंगा खस्ने समस्या छ । धेरैजसो लमजुङतर्फको सडक बिग्रने गरेको छ ।

काप्रेभीर, च्याम्चेक्षेत्र, शिरचौर, अर्खलेबेंसी, खरखरेलगायत ठाउँमा पहिरो जाने गर्छ । मनाङतर्फ म्यार्दीभीर, सिरानतालमा पहिरो र ढुंगा खस्ने समस्या छ । केही ठाउँमा सडक भासिएको छ । हिउँदमा समेत चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानी वरपरको यात्रा कष्टपूर्ण बन्छ । मनाङ सदरमुकाम चामे जोड्ने सडक स्तरोन्नति हुन बाँकी छ । भीरैभीर लगिएको सडकको अहिलेसम्म ट्र्याक मात्र खोलिएको छ ।

नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोली सडक विभागलाई जिम्मा लगाएको हो । बेंसीसहरबाट मनाङसम्म ६५ किमि मात्र हो । सडक व्यवस्थित नभएकै कारण यो दूरी पार गर्न सवारीसाधनलाई सात घण्टासम्म लाग्छ । जोखिमपूर्ण यात्रा गराउनु आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सुमन गुरुङले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्