जम्मु–कश्मीरका सम्बन्धमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने भारतको प्रयास

अमेरिकालाई पूर्व जानकारी रहेको भारतीय सञ्चारमाध्यमको दावी  
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले उक्त निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वादलाई तीव्र बनाएको हो । 

नरेन्द्र मोदी नेतृत्वको सरकारले सोमबार संविधानको धारा ३७० र ३५ (क) लाई खारेज गर्दै जम्मु–कश्मीर राज्यको विशेष अधिकार अन्त्य गर्ने र दुई वटा केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय गरेको थियो।

यसै क्रममा सोमबार मात्रै भारतका विदेश सचिव विजय शेखर गोखलले संयुक्त राष्ट्र संघका सुरक्षा परिषद्का प्रमुख स्थायी सदस्य राष्ट्रहरु अमेरिका, चीन, बेलायत, फ्रान्स र रुसलगायतका दिल्लीस्थित दूतहरुसँग जम्मुकश्मीरका सम्बन्धमा भारत सरकारले चालेको कदमका बारेमा छलफल गरेका थिए।

त्यसैगरी मन्त्रालयका अन्य उच्च अधिकारीहरुले पनि अरु मुलुकका प्रतिनिधिहरुलाई पनि भेटेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन्। भेटमा सोमबारको निर्णय भारतको आन्तरिक निर्णय भएको र यसका पछाडि जम्मुकश्मिर क्षेत्रमा सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई प्रवर्द्धन गर्नु रहेको तर्क दिइएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

हुन त भारतीय सन्चारमाध्यमहरुले सोमबारको निर्णयका बारेमा अमेरिका यसअघि नै अवगत रहेको दावी गरेका छन्। भारतीय सन्चारमाध्यमहरुले गत साता बैंकमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँगको भेटमा भारतीय विदेश मन्त्री एस जयशंकरले जम्मु–कश्मीरका सम्बन्धमा चालिने कदमका बारेमा जानकारी गराएको उल्लेख गरेका छ। त्यसैले पनि मोदी सरकारको सोमबारको निर्णयका सम्बन्धमा अमेरिकाले जनाउने प्रतिक्रियालाई विशेष चासोका साथ हेरिएको छ।

भारतले जम्मु–कश्मीरमा सुरक्षा व्यवस्था कडा पार्दै लगेसँगै अमेरिका, बेलायत, जर्मनी र इजरायललगायतका मुलुकले तत्काल आफ्ना नागरिकहरुलाई जम्मु–कश्मीर छाड्न सूचना जारी गर्नुले पनि तिनलाई भारतले चाल्न लागेको कदमका बारेमा पूर्वजानकारी रहेको दावी गरिएको छ।

पछिल्लो समय अमेरिकाले जम्मु–कश्मीरको विशेष चासो देखाउँदै आएको छ। हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए। गत महिना जापानमा सम्पन्न जी २० सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्तो आग्रह गरेको खुलासा ट्रम्पले अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा गरेका थिए।

भारतले भने कश्मिर मामिला दुई पक्षीय मुद्दा भएको भन्दै ट्रम्पको उक्त भनाईलाई ठाडै नकारेको थियो। तर, फेरि गत साता ट्रम्पले कश्मिरका मुद्दामा आफू भारत र पाकिस्तानबीच मध्यस्थताका लागि इच्छुक रहेको बताएका थिए। विश्लेषकहरुले कश्मीरका सम्बन्धमा ट्रम्पले बारम्बार चासो राख्नु र भारतका तर्फबाट पछिल्लो निर्णय आउनु संयोग मात्र नभएको टिप्पणी गरेका छन्।
त्यसैगरी जम्मु–कश्मीरका सम्बन्धमा छलफल गर्न आगामी साता विदेश मन्त्री जयशंकर चीन जाने समेत बताइएको छ। चीन आफै हंगकंग र सिनजियागंको समस्याबाट गुज्रिरहेको हुँदा भारतको पछिल्लो निर्णयका सम्बन्धमा उसले कडा प्रतिक्रिया जाउने सम्भावना नरहेको समेत भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित : श्रावण २१, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

थारू बस्तीमा गुरही

ठाकुरसिंह थारू

बर्दिया — थालभरि कपडाका पुतली । थारूहरू गुरही भन्छन् यसलाई । थालमै छ घुघरी । चना र केराउ मिसिएको यो एक प्रकारको प्रसाद हो । हातमा लठ्ठी र बनकस (बाबियो) को कोर्रा लिएर युवक तयारी अवस्थामा छन् । यही बेला एक युवतीले गुरही उडाइन् ।

युवकले लठ्ठी र कोर्राले पिटे । पिटदै गुरही विसर्जन गरेपछि सबैले घुघरीको प्रसाद खाए । युवायुवतीहरू रमाउँदै घर फर्किए ।
सोमबार नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारू समुदायले भने गुरही पर्व मनाएका हुन् । रोपाइँ सकिएपछि उनीहरूले यो पर्व मनाउँछन् । यसलाई वर्षको पहिलो पर्वका रूपमा लिइन्छ ।

अत्यधिक गर्मी र फोहोरले वर्षातका महिनामा मानिस बढी बिरामी हुन्छन् । त्यस्तै लगाइएको बालीमा कीराको प्रकोप फैलिन्छ । बालीनालीमा कीरा नलगोस् भनेर गुरहीलाई पिटिन्छ । त्यससँगै गाउँका कसैलाई पनि रोग नलागोस् भन्ने कामना पनि गरिन्छ । ‘गुरही पर्व मनाउने आफ्नै मौलिक परम्परा छ । खासगरी रोग धपाउन र बालीमा कीरा नलागून् भनेर नै पुर्खाहरूले यो पर्व मनाउन सुरु गरेका हुन्,’ अगुवा थारू महिला इन्दु चौधरीले भनिन्, ‘वर्षामा काम व्यस्त रहने थारू महिला गुरहीमा सिंगार गरेर पुतलीझैं बन्छन् ।’

पछिल्लो समय थारू समुदायका नयाँ पुस्ताले आफ्नो परम्परागत पर्व मनाउने क्रम बढेको छ । यसअघि उनीहरूआफ्ना संस्कृति बिर्सिंदै गएका थिए । सांस्कृतिक पर्वहरू गाउँमा मात्रै होइन, विभिन्न सहरमा रहेका थारू युवाले पर्व मनाउन थालेका हुन् ।

नेपालगन्जमा पनि सोमबार गुरही मनाएका छन् । रंगीबिरंगीे पुतली लिएर महिला धम्बोझी चोकमा जम्मा भएका थिए । युवाहरूले गुरहीको स्वागत गर्न बाबियोको कोर्राले पिटे । महिलाले गुरही उडाए । नेपागन्जमा पहिलोपल्ट पर्व मनाइएको हो ।

बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायको नेपालगन्जमा बाक्लो बसाइ छ । ‘गाउँमा सीमित रहेको पर्व यस वर्ष सहरमा पनि मनाइयो,’ थारू पत्रकार संघ जिल्ला अध्यक्ष भगतराम थारूले भने । गुरही पर्वमा सहभागी थारू महिलाले लेहंगा, चोलिया र पुरुषहरू धोती पहिरनमा थिए । संस्कृतिका धनी मानिने पश्चिम तराईका थारू गाउँमा वर्षापछि पर्वको महोलले छुन थाल्छ । हरेरी र गुरिया पर्व सुरु भएका छन् । बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र कपिलवस्तुलगायतका थारू समुदायले गुरिया पर्व मनाउँछन् ।

खासमा गाइने कीरालाई थारू समुदायले गुरही कीरा भन्छन् । खेतीपाती सकिएपछि बालीनालीमा कीरा नलाग्न र गाउँमा रोग नलागोस् भनेर उक्त पर्व मनाइने परम्परा रहेको थारू अगुवाहरू बताउँछन् । थारू जाति प्रकृतिपूजक मानिन्छन् । प्रकृतिप्रति विश्वास गर्ने भएकाले गुरहीको पूजा गरिन्छ । गाइने कीराले लामखुट्टे र धानमा लाग्ने कीरा खान्छ । गाइने कीराले कीरा खाएर बालीनाली जोगाउने भएका कारणले पनि यो पर्व मनाइने गरिएको हो । ‘गाइने कीराले लामखुट्टे खाएर मानिसलाई रोगबाट जोगाउँछ,’ थारू संस्कृतिबारेका जानकार सुन्दर चौधरीले भने, ‘त्यसैले गुरही मनाइएको हुन सक्छ ।’

गुरहीको अघिल्लो दिन थारू गाउँमा जिता (मासुका लागि सुंगुर, खसी, खुकुरा) मार्ने चलन छ । भोलिपल्टको साँझ गाउँको सार्वजनिक स्थानमा गुरही पर्व मनाइन्छ । त्यसअघि चौकीदारले गुरही मनाउनका लागि हाँक लगाउँछन् ।

हाँकपछि युवतीहरू चना तथा केराउको (घुघरी) खाने परिकार र कपडाले बनाएको गुरही बोकेर सार्वजनिक स्थलमा जम्मा हुन्छन् । युवाहरूले गुरही पिटदै चना र केराउको परिकारको प्रसाद मागेर रमाइलो गर्छन् । कतिपय गाउँमा गुरही पर्वका दिन नाचगान गर्ने परम्परा छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्