३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अमेरिकामा बन्दुक आतंक

टेक्सासको एल पासो र ओहायो राज्यको डेटनमा चौबिस घण्टामा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २९ को मृत्यु, ४२ घाइते
दिनेशजंग शाह

न्यूयोर्क — अमेरिकामा चौबीस घण्टाभित्र भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २९ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी राज्य टेक्सास र मध्यपश्मिची राज्य ओहायोमा १३ घण्टाको फरकमा गोलीकाण्ड भएको हो । 

अमेरिकामा बन्दुक आतंक

शनिबार बिहान १० बजे, टेक्सासको ‘बोर्डर सिटी’ का रूपमा परिचित एल पासोमा अवस्थित वालमार्ट सपिङ मलमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको ज्यान गएको हो । २६ घाइते छन् । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रको नजिकै रहेको वालमार्ट सुपरमार्केटमा घटना भएको हो ।


त्यसैगरी, ओहायो राज्यको डेटनमा आइतबार बिहान एक बजेको गोलीकाण्डमा नौ जनाको मृत्यु भएको हो । नागरिकले बन्दुक राख्न पाउने संवैधानिक अधिकार रहेको अमेरिकामा गोलीकाण्डको यो साता आक्रान्त बनेको नयाँ भने होइन । एक साताअघि क्यालिफोर्नियाको गिर्लोको एक उत्सवमा गोलीकाण्ड हुँदा तीन जनाको ज्यान गएको थियो भने १६ घाइते भएका थिए ।


टेक्सास र ओहायोको पछिल्लो गोलीकाण्डसँगै अमेरिकामा यो वर्ष सन् २०१९ मात्रै ३२ औं पटक गोलीकाण्ड भएका छन् । हरेक घटनामा कम्तीमा तीन जनाभन्दा बढीको सामूहिक ज्यान गएको तथ्यांकले देखाउँछ ।


शनिबार बिहान, हिस्पानिक (स्पेनिस) समुदायको बाहल्य रहेको एल पासो सहर रगताम्य बन्यो । सिमाना पार गर्ने आप्रवासी प्रवाहका कारण संघीय सरकारको निशानामा रहेको यो सहर, गैरकानुनी रूपमा अमेरिका छिर्ने प्वाइन्टका रूपमा पनि परिभाषित छ ।


‘शनिबार बिहान १० बजे, २१ वर्षीय श्वेत युवा हातमा राइफल लिएर हजारौं मानिस रहेको सपिङ मल ‘वालमार्ट’ मा पस्छन् । केही मिनेटमै मल परिसर गोलीको आवाजले आक्रान्त बन्छ, धूवाँले मडारिन्छ । मल परिसर, रक्ताम्य बन्छ ।’ समाचार एजेन्सीका अनुसार ‘म्यानउल नामक एक ग्राहक काउन्टरमा पैसा तिरेर, जब मलबाहिर निस्कन खोज्छन्, तब उनले बन्दुकको आवाज सुन्छन् । त्रसित हुँदै पछाडि फर्किंदा उनले सैनिकझैं देखिने राइफलधारी एक युवालाई देख्छन् । होस उड्यो उनको । भाग्न खोज्दा, जमिनमा दुई व्यक्ति ढलेको देख्छन् उनी, जहाँ रगतको सानोतिनो खोलो बगेको थियो ।’


स्थिति यतिसम्म थियो कि ७ महिनाको एक बालकलाई रगतले पोतिएर जमिनमा लडिरहेको अवस्थामा जीवित उद्धार गरिएको थियो ।


गोली चलाउने टेक्सासको एलेन सिटी निवासी प्याटरिक क्रसिएसले केही मिनेटमै प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

गोलीकाण्डअघि उनले टेक्सासमा हिस्पानिकहरूले अमेरिकीहरूलाई विस्थापित गरेको स्टाटस अनलाइनमा पोस्ट गरेको बताइएको छ । उनले लेखेका थिए ‘मेरो प्यारो टेक्सासको राज्य एवम् स्थानीय सरकारमा हिस्पानिकहरूले नियन्त्रण गर्ने स्थिति आउन लाग्यो । यसमा दुवै पार्टी र उनीहरूको नीति जिम्मेवार छ ।’ घटना मूलतः आप्रवासीप्रतिको असहिष्णुता र घृष्णाबाट प्रेरित थियो कि भन्ने विषयमा अनुसन्धान थालिएको छ ।


सीसीटीभी दृश्यमा कालो टिसर्ट लगाएका एक बन्दुकधारी वालमार्टभित्र प्रवेश गरेलगत्तै आफूले बोकेको एसल्ट जस्तो देखिने राइफलबाट अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ ।


घटना अमेरिकाको आधुनिक इतिहासकै आठौं भयानक रहेको बताइएको छ । घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन । मेक्सिकोका राष्ट्रपतिले आफ्ना ३ नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोएटर्स समाचार संस्थाले जनाएको छ । पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो ।


टेक्सासका गर्भनर ग्रेग अबोटले घटनाप्रति दुखः व्यक्त गर्दै भनेका छन्, ‘टेक्सासका लागि यो इतिहासकै सबैभन्दा घातक दिन हो ।’ घटनापछि अमेरिकाकै प्रख्यात सुपरमार्केट वालमार्टमा किनमेल गर्न गएका मानिस स्तब्ध भएका थिए । एल पासो प्रहरी प्रमुख ग्रेग अलेनले सन्दिग्ध व्यक्तिबारे सूचना पाएको ६ मिनेटमै अधिकारीहरू घटनास्थल पुगेको बताए ।


उनका अनुसार घटनाका समय वालमार्टमा ग्राहकहरूको भीड थियो । घटनाका सन्दिग्धलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली नचलाएको अलेनले बताए । उनका अनुसार घटनामा विभिन्न उमेर समूहका मानिस पीडित भएका छन् ।


पीडितहरूलाई तत्काल रगतको आवश्यकता परेको भन्दै एल पासो प्रहरीले रक्तदानका लागि आहान गर्दै टवीट गरेको छ । ‘मानिसहरू आत्तिँदै दौडिएका थिए,’ आक्रमणका समय आफ्ना श्रीमान्सँगै वालमार्टमा रहेकी कियन्ना लङले भनिन् ।


गोली चलेपछि आफूहरू स्टोरमा लुकेको उनले बताइन् । घटनाका समयमा नजिकै रहेका ग्लेन्डोन ओक्लीका अनुसार वालमार्टमा गोली चलेको सूचना एक बालकले नजिकैको अर्को सपिङ मलमा रहेका मानिसलाई बताएका थिए । उनका अनुसार बालकको सूचनालाई कसैले पनि वास्ता नगरेको बताए तर केही मिनेटमै २ पटक गोलीको आवाज सुनिएपछि मानिस सतर्क भएका ग्लेन्डोनले बताए ।


त्यसैगरी, अमेरिकाको ओहायो राज्यमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको हो । घटनामा कम्तीमा १६ घाइते छन् । ओहायो राज्यको डेटनस्थित एक बारबाहिर स्थानीय समयानुसार आइतबार बिहान करिब १ बजे आक्रमण भएको हो । प्रहरीले आक्रमणकारीलाई घटनास्थलमा मारिदिएको जनाएको छ । टेक्सास राज्यको एल पासोमा २० जनाको ज्यान जाने गरी भएको बन्दुक आक्रमणको २४ घण्टा नबित्दै ओहायोमा पनि उस्तै घटना भएको छ ।


डेटन प्रहरीले गोली चलेको केहीबेरमै घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको दाबी गरेको छ । सहायक प्रहरी प्रमुख म्याट कार्बरले प्रहरी गस्ती टोलीले आक्रमणकारीलाई परास्त गरेको बताए । ‘यस्ता परिस्थितिका लागि हाम्रा सहकर्मी राम्रोसँग प्रशिक्षित छन्,’ उनले भने, ‘संयोगवश घटनाका समय हाम्रा सहकर्मी नजिकै थिए ।’


आक्रमणकारी तथा उनको उद्देश्य पत्ता लगाउन प्रहरीले प्रयास गरिरहेको कार्परले बताए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा दर्जनौं गोली चलेको आवाजसँगै मानिस भागेको देखिन्छ । घटनास्थलअगाडिको नेड पेपर्स बारले सामाजिक सञ्जालमार्फत आफ्ना कर्मचारी सुरक्षित रहेको जनाएको छ । घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई) का गुप्तचरहरूले पनि अनुसन्धान गरिरहेको जनाइएको छ ।


दुई आक्रमणपछि अमेरिकामा बन्दुक नीतिबारे पुनः बहस सुरु भएको छ । अधिकारकर्मीहरूले बन्दुक राख्न पाउने कानुन कडा बनाउनुपर्ने माग गरेका छन् । दुई घटनापछि विगत झैं यसपटक पनि राजनीति तिक्तता फेरि छताछुल्त भएको छ । फेरि एकपटक अमेरिकी मूलधारमा आप्रवासी एजेन्डा एवम् घरेलु बन्दुक हिंसाको एजेन्डाले महत्त्वपूर्ण स्थान पाएको छ ।


सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका प्रतिस्पर्धीहरूले बन्दुक नियन्त्रण गर्ने कानुनको माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभेदी एवम् गलत आप्रवासी नीतिले टेक्सासको गोलीकाण्ड हुन प्रेरित गर्ने दाबी गरेका छन । राष्ट्रपति ट्रम्पले सो आरोपलाई हचुवा बताए ।


बन्दुक संस्कृतिका अनुयायी अनुदारवादीहरू, यस्ता घटनालाई आतंकवाद, आप्रवासन एवं मानसिक स्वास्थ्य समस्यासँग जोड्दै आएका छन् भने उदारवादीहरू संवैधानिक अधिकार रहेको बन्दुक संस्कृतिलाई नियन्त्रित एवम् व्यवस्थित गर्नुपर्ने माग गर्दै आएका छन् ।


अमेरिकी राजनीति, समस्याको जडका विषयमा जति विभाजित छ, त्यति नै ध्रुवीय बन्दै छ समाधानका सन्दर्भमा । सोझो अर्थमा अनुदार एवम् उदार राजनीतिका विपरीत नीति एवम् लबिङले यो विषयलाई बन्धक बनाएको स्पष्ट देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने त्यसबारे तटस्थ देखिएका छन् । ट्वीट गर्दै उनले घटनास्थलबाट प्राप्त विवरण ‘निकै नराम्रो रहेको’ जनाउँदै घटना दुःखदायी भएको उल्लेख गरेका छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?