कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'चीनलाई समेटेर नयाँ सन्धि’

सन्धि अन्त्यसँगै अमेरिका, रुस र चीनबीच हतियारको दौड सुरु हुने चिन्ता 
(एजेन्सी)

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसहित रूस तथा चीनलाई समेटेर नयाँ परमाणु सन्धि गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । अमेरिका र रूसबीचको एक मुख्य सन्धिबाट अलग भएको घोषणाको भोलिपल्ट ट्रम्पको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । 

'चीनलाई समेटेर नयाँ सन्धि’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले शुक्रबार शीतयुद्धकालीन छोटा तथा मध्यम दूरीका परमाणु हतियारसम्बन्धी सन्धि इन्टरेडिएट रेन्ज न्युक्लियर फोर्सेस (आईएनएफ) बाट अमेरिका अलग भएको बताएका थिए । उक्त सन्धिले ५ सय देखि ५ हजार किलोमिटरसम्मका परमाणु हतियारको उत्पादन तथा फ्रयोगमा रोक लगाएको थियो ।


रूसमा निर्मित त्रुज क्षेप्यास्त्रले आईएनएफ सन्धि उल्लंघन गरेको अमेरिकी ठहर छ । यद्यपि, उक्त आरोप रूसले खण्डन गरेको छ । आईएनएफ सन्धिबाट अलग भएको अवस्थामा दुई देशबीचको परमाणु हतियारको दौड कसरी अन्त्य हुन्छ त ? भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले ‘हृवाइटहाउस प्रशासनले रूससँग नयाँ सम्झौताबारे कुराकानी गरिरहेको’ दाबी गरे । उनले भने, ‘हामीले निश्चय नै कुनै बिन्दुमा चीनलाई पनि समावेश गर्ने छौं ।’ राष्ट्रपति ट्रम्पले नयाँ सम्झौता ‘विश्वका लागि ठूलो उपलब्धि हुने’ दाबी गरे । ‘चीन र रूस दुवै यसबारे कुरा गर्न निकै उत्साहित थिए । त्यसैले पनि हामी कुनै बिन्दुमा सहमति पहिल्याएर नयाँ सन्धि गर्ने छौं,’ ट्रम्पले संवाददाताहरूसँग भने ।

शुक्रबारका अमेरिकी निर्णबारे प्रतिक्रिया जनाउँदै रूसले ‘सन्धिबाट अलग भएको घोषणा गर्नु अमेरिकाको ठूलो गल्ती’ भएको बताएको छ ।


रूसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकाले एमके–४१ लन्चरहरू युरोपेली भूमिमा राखेर आईएनएफ सन्धिको उल्लंघन गरेको’ दाबी गरेको छ । मन्त्रालयले उक्त कदम नसच्चाए ‘विश्व समुदायमा बढ्ने तनावका लागि अमेरिकी जिम्मेवार हुने’ चेतावनीसमेत दिएको छ ।


अमेरिकाले ‘एएससी–८’ का नामले समेत चिनिने ‘९एम७२९’ क्षेप्यास्त्र परिचानल गरेर रूसले आईएनएफ सन्धि उल्लंघन गरेको दाबी गरेको हो । अमेरिकी दाबीलाई नेटो राष्ट्रहरूले समर्थन जनाएका छन् । ‘९एम७२९’ अमेरिका तथा उसका मित्रशक्ति राष्ट्रहरूका लागि टाउको दुखाइको विषय भएको विश्लेषकको भनाइ छ ।


नेटो महासचिव जेन्स स्टोलटेनबर्गले ‘नेटोले हतियारको नयाँ दौड नचाहेको’ बताएका छन् । उनले नेटो आवद्ध देशहरूले युरोपमा क्षेप्यास्त्र परिचालन गर्ने कुनै पनि योजना नरहेको प्रस्ट पारेका छन् । उनले गतमहिना ‘रूसी क्षेप्यास्त्रहरू परमाणु शक्तिसम्पन्न, प्रतिरोध गर्न निकै कठिन र केही मिनेटमै युरोपका मुख्य सहरमा पुग्ने क्षमताका रहेका’ बताएका थिए ।


‘सन्धिको अस्तित्व सकिनुमा पूर्णरूपमा रूस जिम्मेवार छ,’ अमेरिकी विदेशमन्त्री पोम्पियोले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फेब्रुअरीमा ट्रम्पले ‘अमेरिका र नेटोको माग अनुसार रूस नचले परमाणु सन्धिबाट अलग हुने’ भन्दै अगस्ट २ को समयसीमा तोकेका थिए । त्यसको केही समयमै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सन्धिप्रति आफ्नो देशको नैतिक तथा कानुनी दायित्व अन्त्य भएको प्रतिक्रिया जनाइसकेका छन् ।

सन् १९८७ मा भएको आईएनएफ सन्धिले छोटो तथा मध्यम दूरीका परमाणु हतियार निर्माण रोक्ने व्यवस्था गरिएको थियो । सन्धिमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्भाचोभले हस्ताक्षर गरेका थिए ।


विश्लेषकहरूले सन्धिको अन्त्यसँगै अमेरिका, रूस र चीनबीच हतियारको दौड सुरु हुने चिन्ता व्यक्त गरेका छन् । ‘सन्धिको अन्त्य भइसकेको छ । हामीले अब हतियारको विकास नै विकास देख्ने छौं,’ रूसी सैन्य विश्लेषक पाभेल फेल्गेनहृवेरले भने, ‘रूस पहिले नै तयार छ ।’


प्रकाशित : श्रावण १९, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?