कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाले थप १३ देशबाट कामदार भित्र्याउने, नेपाल समेटिएन

घुम्न आउँदा काम गर्न पनि पाइने भिसा प्रक्रियामा नेपाललाई समावेश गराउने दूतावासको प्रयास असफल
नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाले हाल प्रदान गर्दै आएको ‘वर्किङ होलिडे भिसा’ मार्फत भारत लगायतका थप १३ देशका कामदार भित्र्याउने भएको छ । घुम्न आउँदा काम गर्न पाइने भिसाको यस प्रक्रियामा नेपाललाई समावेश गराउने अस्ट्रेलियास्थित नेपाली दूतावासको पहल भने असफल बनेको छ । 

अस्ट्रेलियाले थप १३ देशबाट कामदार भित्र्याउने, नेपाल समेटिएन

अस्ट्रेलियाले ‘वर्किङ होलिडे भिसा’ का रूपमा विश्वका करिब २ दर्जन मुलुकका नागरिकलाई अनुमति दिने गरेको छ । उक्त अनुमितअनुसार विभिन्न ३ प्रकारका काम गर्न सकिन्छ । यही योजनाअन्तर्गत अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले थप १३ देशका नागरिकलाई दुर्गम क्षेत्रमा काम गर्नका लागि प्रवेशाज्ञा दिने बताएका हुन् । हाल छलफलको क्रममा रहेको प्रक्रियामा भारत, फिजी, फिलिपिन्स, ब्राजिल, मंगोलिया लगायत देश समेटिने भएको छ । यद्यपि, फितलो कूटनीतिक प्रयासका कारण नेपाल यो प्रक्रियामा समेटिएको छैन । अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि यस प्रक्रियामा नेपाललाई पनि समेट्ने प्रयास असफल भएको बताए ।


‘साँच्चै भन्ने हो भने नेपालले आफ्नो कूटनीतिक शक्तिलाई सही रूपमा प्रयोग गरे नेपाली पनि समेटिने सम्भावना अझै छ,’ कानुनविद् डा. शमशेरसिंह थापाले भने । उनका अनुसार अस्ट्रेलियाले केही फरक सर्तहरू राखेर निश्चित समयावधिका लागि ती देशका नागरिकलाई पूर्णतः काम गर्ने अधिकार प्रदान गर्दछ । यही प्रक्रियामा समेटिन दूतावासका साथै यहाँको नेपाली समुदायले पहल गर्न सक्ने हो भने नेपालीलाई पनि यो अवसर आउने थापाको धारणा छ । ‘यहाँ अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा नेपाल तेस्रो ठूलो हुनु र अध्यागमन मन्त्रीसँग नेपाली समुदायको राम्रो सम्बन्धकाले हिसाबले पनि सुखद् नतिजा निस्कन सक्छ,’ थापाले भने । तर यसप्रति नेपाल सरकार, कूटनीतिक निकाय र नेपाली समुदाय कति जानकार छ र पहल गर्न सक्छ भन्नेमा भर पर्छ ।


विद्यार्थीका रूपमा आउने नेपालीलाई ‘वर्किङ होलिडे भिसा’ प्रक्रियामा सहभागी गराउन सके सकारात्मक सन्देश दिने कतिपयको दाबी छ । डा. भरतराज पौडेल दक्षिण एसियाली मुलुक भारत समेटिएको अवस्थामा नेपाललाई निश्चित कोटा छुट्टाउनका लागि सहमत गराउन सकिने सम्भावना भएको धारणा राख्छन् । तर, यसका लागि नेपालको कूटनीतिक प्रयासहरु दरिलो हुनुपर्ने उनको भनाइ छ । ‘विश्वमा कतिप काम कूटनीतिक प्रयास र सम्बन्धका आधारमा नै सम्भव भएका छन् त्यसैले नेपाललाई पनि यो प्रक्रियामा समेट्न सकिने सम्भावना छ,’ उनी भन्छन् ।

क्यानबेरास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले, ‘आफूहरुले सम्बन्धित निकायमा यसबारे सक्दो पहल गरेको’ दाबी गरिन् । ‘हामीले लक्की शेर्पा राजदूत हुँदादेखि नै यसबारे अध्ययन गरी नेपालीलाई समेट्न सकिने सम्भावनाबारे छलफल गरेका थियौं । तर यहाँको सम्बन्धित निकायबाट सकारात्मक जवाफ आएन,’ उनले भनिन् । सापकोटा आफैं पनि कूटनीतिक तवरबाट अझै पहल गर्न सकिने हो भने नेपाललाई यो कामदार भिसा प्रक्रियामा सहभागी गराउन सकिने आशा व्यक्त गर्छिन् । ‘हामीले पाइलट प्रोजेक्टका रूपमा मात्र भए पनि नेपाललाई सहभागी गराउन सकिने सम्भावना छ,’ सापकोटा भन्छिन्, ‘त्यसका लागि हाल पनि प्रयास भइरहेको छ ।’


समाचारमाध्यमका अनुसार गत मार्चमा मात्र यो भिसामा १ लाख ५० हजार विभिन्न देशका नागरिक अस्ट्रेलियामा छन् । सरकारले कामदार भिसाका लागि थप १३ देश थप्न लागेको तयारीलाई यहाँ रहेको नेसनल फार्मर एसोसिएसनले समर्थन गरेको छ । एसोसिएसनले त्यस्ता विदेशीलाई कृषि भिसा दिनुपर्ने मागसमेत गरेको छ । अध्यागमनमन्त्री कोलम्यानले दुर्गम क्षेत्रमा कृषि कामदारको अभाव पूर्ति गर्न वर्किङ होलिडे भिसा’ प्रक्रियामा नयाँ देश थप्न लागिएको बताएका छन् । यस भिसामा घुम्न आउने विदेशीहरूले ३ देखि ६ महिनासम्म तोकिएको स्थानमा गएर काम गर्नुपर्ने हुन्छ भने उनीहरुले एक वर्षसम्म काम गर्न पाउने प्रावधान छ ।


यसैगरी अस्ट्रेलिया सरकारले विदेशीलाई आकर्षित गर्न यसअघि नै ‘अस्ट्रेलिया विश्वको उत्कृष्ट काम गर्ने स्थान’ नामको भिडियो विज्ञापन सार्वजनिक गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?