१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने

(एजेन्सी)

वासिङ्टन/काबुल — अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सन् २०२० भित्र अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता सुरु हुने जनाएका छन् । वासिङ्टनमा बोल्दै विदेशमन्त्री पोम्पियोले राष्ट्रपतीय निर्वाचनअघि सैनिक फिर्ता प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक गरेका हुन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने

विश्लेषकहरूले उक्त कदमलाई अमेरिकामा २०२० मा हुने राष्ट्रपतीय निर्वाचनसँग जोडेर हेरेका छन् । अमेरिकी विदेशमन्त्रीको पछिल्लो उद्घोष करिब दुई दशक लामो द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धताको स्पष्ट संकेत हो ।


वासिङ्टनमा मंगलबार बोल्दै पोम्पियोले आगामी राष्ट्रपतीय चुनावअघि अफगानिस्तानमा खटाइएका सेनाको संख्या घटाउन ट्रम्पले निर्देशन दिएको बताए । उनले भने, ‘राष्ट्रपतिबाट आउँदो वर्षको नोभेम्बरमा हुने निर्वाचनसम्ममा अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकको संख्या घटाउने निर्देशन पाएको छु ।’


पोम्पियोले राष्ट्रपति ट्रम्पको निर्देशनले ‘अन्त्यहीन युद्धबाट’ अमेरिका अलग हुने बताए । यद्यपि, उनले अफगानिस्तानमा शान्ति सुरक्षाको अवस्थामा निकै सुधार आएको दाबी गरे । अमेरिकी सैनिक घटाउने ट्रम्पको प्रतिबद्धताले अफगानिस्तानमा हाल जारी शान्तिवार्तालाई टेवा पुग्ने आंकलन गरिएको छ ।


विगत केही महिनादेखि अफगानिस्तानमा शान्ति स्थापनार्थ अमेरिका र तालिवान पक्षबीच वार्ता जारी छ । वार्तामा सहभागी अमेरिकी वार्ताकारले संवाद सहमति नजिक पुगेको बताएका छन् । त्यसको अर्थ अमेरिका सकभर चाँडो अफगानिस्तानबाट निस्कन चाहेको प्रस्ट छ ।


बीबीसीका अनुसार कानुनी शासन, मानवअधिकार र तालिवानले अवैध घोषित गरेको अफगान सरकारको भविष्यबारे आशंका पैदा भएका छन् ।


गत साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी विदेशमन्त्री पोम्पियो र अफगान राष्ट्रपति असरफ घानीबीच तालिवानसँगको युद्ध अन्त्य गर्ने सहमति भएको जनाइएको थियो । त्यसलगत्तै पोम्पियोले दुवै पक्षबीच शान्तिसम्झौता हुनेमा आशावादी रहेको जनाएका थिए ।


अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी फौज छन् । यस वर्ष मात्रै अफगानिस्तानमा तैनाथ १२ अमेरिकी सेनाको मृत्यु भएको छ भने ६० घाइते छन् । सन् २००१ मा तालिवानविरुद्ध आक्रमण गरेसँगै अमेरिकाले सेना तैनाथ गरेको हो । त्यसयता लगातार सेना खटाउँदै आएको अमेरिकीका लागि कुनै पनि युद्धमा उसको अहिलेसम्मकै लामो संलग्नता हो । १८ वर्षे अवधिमा अफगानिस्तानमा तैनाथ २ हजार ४ सयभन्दा बढी सेनाको ज्यान गइसकेको छ ।


प्रकाशित : श्रावण १५, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?