झारखण्डमा जमेका नेपाली

विप्लव भट्टराई

झारखण्ड, भारत — वरिपरि पहाडै पहाड । बीचमा खोला अनि बस्ती । झट्ट पुग्दा नेपालकै कुनै उपत्यकाजस्तो । पटना–राँची सडकनजिकको चिरकुण्डी गाउँ पुग्दा नेपालकै कुनै बस्ती पुगेझै लाग्छ, नेपाली अनुहार र रहनसहन प्रस्ट झल्किन्छ । 

झारखण्डमा जमेका नेपाली

गाउँमा भेटिएका सबै नेपाली पुस्तौंअघि मुग्लान छिरेर रैथाने भएका रहेछन् । अप्ठेरो लवजमा नेपाली बोल्ने उनीहरू सोधेका कुरा भने प्रस्टै बुझ्थे । करिब ३० घर रहेको गाउँमा आधाभन्दा धेरै नेपालीका छन् । तर दिनहुँ भेटघाट र घरमा पनि भाषा भने हिन्दीको नै प्रयोग भएको पाइयो । ‘हामी पुरानाहरूचाहिँ कहिलेकाहीं नेपाली भाषा बोल्ने गर्छौं,’ ५६ वर्षे मंगलबहादुर थापा (मगर) ले भने, ‘अहिलेकाहरू लाज हुन्छ भनेर बोल्नै मान्दैनन् ।’


नेपाल बाहिर बाक्लो बस्ती भएका स्थानमा नेपाली भाषा र संस्कृतिलाई बिछट्टै माया गरेको पाइन्छ । तर यहाँ भने अन्य संस्कृति यथावत रहे पनि भाषा भने खस्कँदै गरेको पाइयो । नेपालबाट करिब ५ सय किलोमिटर टाढा दूरदराजको यो बस्तीमा हतपत नेपाली नपुग्ने र उनीहरू पनि पहाड खासै नआउने भएकाले भाषा लोप हुँदै गएको हो ।


पुरानो थातथलो गोर्खाको दुरवुङ बताउने मंगलबहादुर १५ वर्षको हुँदा घर छोडेर यता आएका थिए । सुरुमा टाटा कम्पनीमा सुरक्षाकर्मी उनले यहाँ आएको ५ वर्षपछि विवाह गरे । झारखण्डकै कोडर्माको गजन्डीबाट गुरुङकी छोरी गीतालाई उनले भित्र्याएका थिए ।


‘आफ्नै जात भेट्ने कुरा भएन तर नेपालीचाहिँ विवाह गरूँ भन्ने लागेकाले उनलाई भित्र्याएँ,’ उनले थपे, ‘अहिलेकाहरूले पनि विवाहवारीचाहिँ नेपाली नै खोजेर गरिरहेका छन् ।’ आएदेखि १/२ पटक मात्र गाउँ गएका उनले पुस्तानी जग्गाजमिन अरू दाजुभाइलाई छाडेर आफू यतै स्थापित भएको उनको भनाइ छ ।


गाउँघरको सम्झना आलै रहे पनि उनका लागि नेपालको त्यो गाउँ अब सम्झनामा मात्र बाँकी छ । सेक्युरिटीको जागिर हुँदा खासै आर्थिक हैसियत बढाउन नसकेका उनले माइकाको काम थालेपछि क्रमशः दुःखका दिन पनि ओझेल पर्न थालेको सुनाए । विद्युतीय, कस्मेटिकलगायत विभिन्न सामग्रीका लागि प्रयोग हुने माइका झारखण्डको गतिलो आम्दानीको स्रोत हो । यो खनिजको उत्खनन् र प्रशोधनका लागि नै धेरै नेपाली त्यहाँ पुगेका रहेछन् ।


‘यस क्षेत्रका हरेक नेपाली बस्तीको एउटा विषेशता भनेकै समृद्ध जीवन शैली हो,’ झारखण्ड क्षेत्रमा नै कार्यथलो बनाएका कैलाश सत्याथी फाउन्डेसनका बोर्ड मेम्मबर गोविन्द खनालले भने, ‘दुःख गरेर भए पनि राम्रै कमाइ गररे सानदर जीवनयापन गरेका छन् ।’ कोही प्रहरीमा त कोही विद्यालय र सरकारी कार्यालयमा पनि जागिरे रहेछन् । अरू धेरैको पेसाचाहिँ माइका खानी नै हो ।


झारखण्ड क्षेत्रका धेरै स्थान उस्तै प्रकृतिका छन् । जंगलले भरिएका स–साना पहाड, घाँटी अनि त्यसबीचमा गाउँ । यस्ता धेरै गाउँमा नेपालीको बासोबास रहेको पाइयो । चिरकुण्डीसहित कोडर्मा, गजन्डी, राँचीलगायत क्षेत्रमा नेपालीमूलका बासिन्दाको बस्ती छ ।

चिरकुण्डीकै जन्कीबहादुर थापाको ३ पुस्ता यही गाउँमा बितेको छ । हजुरबुबा नै यहाँ आएर माइकाको काम गरेपछि छोरा र नातिपुस्ता पनि यतै स्थापित भए । ‘बुबाहरूले पुख्यौली गाउँ पाल्पाको आँधीखोला भने जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर कहिल्यै गाउँ जान सकिएन ।’ उनीहरूकै छिमेकी रामबहादुर पुनलाई भने थातथलो प्रस्ट थाहा छ ।


१८ वर्षको उमेरमा २०१८ सालमा माइकामा काम गर्न आएका पुनको पुर्ख्यौली थलो पाल्पाको असारे हो । स्थानीय ठुकुरी जातकी छोरी विवाह गरेका उनका ५ छोरी र ३ छोरा छन् । यहाँका अधिकांश नेपालीमूलका बासिन्दाले संस्कृति जोगाएका छन् । दसैंमा टीका लगाउने, लोसार मनाउने अनि भैली खेल्ने गरेको उनीहरूले बताए । आउजाउ र सम्पर्क कम भएकाले नयाँ पुस्ताले भने थातथलो नै बिर्सने हुन् कि भन्ने चिन्ता उनीहरूमा छ ।


जितुको सफलता

बुबा मंगलबहादुर र आमा गीतादेवीले धेरै आग्रह गरेपछि नेपाली सिक्दै गरेका जितु थापा राम्रोसँग नेपाली बोल्न सक्दैनन् । आफ्नो पुर्ख्यौली ठाउँबारे बेखबर उनी नेपाली मूलका बासिन्दाका भने भरोसा हुन् ।


सानै उमेरदेखि घर व्यवहारमा लागेका उनलाई अहिले सफलताको उचाइ दिने पनि माइका नै भएको छ । घरमा नै कारखानाझैं चलाएका उनी सफल व्यवसायीमा दरिएका छन् । घरभरि माइका थुपारेका उनीहरूले अरू केही नेपाली र स्थानीय आदिवासीलाई पनि रोजगारी दिएका छन् । यो सबै काम जितुले सम्हाल्छन् ।


‘आफ्नो व्यवसाय गर्नलाई कतैबाट अवरोध छैन,’ उनले भने, ‘हामी नेपालीमूलको भए पनि क्षमता भएका काम गर्नलाई कसैले रोक्दैन ।’ श्रीमती लीलादेवीको साथ र सहयोग पनि उत्तिकै छ । मिजासिला स्वभावका जितुले अधिकांश समय व्यवसायमा नै खर्चने गरे पनि बँचेको समय क्रिकेटलाई दिन्छन् ।


धेरैले चिन्ने उनको परिचय नै क्रिकेट हो । क्रिकेट खेल्नकै लागि उनी झारखण्डका विभिन्न क्षेत्रसहित विहारसम्म पुग्छन् । उनीहरूको आफ्नै क्लब छ । उनको कोठाभरि उपाधि जितेका मेडल, ट्रफी र प्रमाणपत्र छ । ‘स्कुलदेखि नै क्रिकेट खेल्न थालियो,’ उनले भने, ‘अहिले त नशा नै भयो ।’

प्रकाशित : श्रावण १४, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?