२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

रासस/सिन्ह्वा

सियोल — उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । 

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ ।


दक्षिण कोरियाका सेनापतिले उत्तर कोरियाले बिहीबार परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र अहिलेसम्म नै उसले गर्दै आएको परीक्षणमा नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बिहीबार बताएका थिए । उत्तर कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् ।


उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो । सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।”


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ । गत महिना मात्र पनि दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएको थियो । उत्तर कोरियाले आफ्नो विगतको क्षेप्यास्त्र परीक्षणको क्रमलाई स्थगित गरेको जनाएको थियो । उसले लामो समयसम्म क्षेप्यास्त्र हानेको थिएन ।


अमेरिका–उत्तर कोरियाबीच गत बर्ष पहिलो वार्ता चलेपश्चात यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफलहरु भइरहेका छन् । तर बिहीबार उत्तर कोरियाले भने अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।


गएको मे महिनामा उत्तर कोरियाले एउटा सामान्य प्रकृतिको र छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । तर यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना तिना घटनाका रुपमा लिएको बताएका थिए । यस पटकका यी क्षेप्यास्त्रहरु मे महिनामा गरिएका क्षेप्यास्त्रभन्दा शक्तिशाली भएको अनुमान गरिएको छ । यस परीक्षणपछि भने दुई मुलुकबीचको सम्बन्धमा के कस्तो असर गर्ने हो भन्ने विषयमा विभिन्न अड्कलहरु काटिएका छन् ।


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीच आगामी जुलाईमा उच्चस्तरीय वार्ता हुनसक्ने केही समयअघि मात्र बताएका थिए । तर बिहीबारको यो क्षेप्यास्त्र परीक्षणपछि विश्लेषकहरुले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।


यस सैन्य अभ्यासको उत्तर कोरियाले बिगतदेखि नै विरोध गर्दै आएको थियो । यो पछिल्लो परीक्षणपछि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता अनको औपचारिक भनाई सार्वजनिक भएको छैन । अमेरिका र दक्षिण कोरियाले बेला बेलामा गर्ने गरेको संयुक्त सैन्य अभ्यासले अमेरिकासँगको आफ्नो वार्तामा पनि असर परिरहेको भनाई उत्तर कोरियाले बारम्बार राख्दै आएको छ ।

प्रकाशित : श्रावण १०, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?