बेलायती झण्डाबाहक ट्यांकर इरानको कब्जामा 

इरान खतरनाक बाटोमा हिंडेको बेलायती विदेशमन्त्रीको चेतावनी 
एएफपी

लन्डन — इरानले ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ दाबी गर्दै बेलायती झण्डाबाहक तेल ट्यांकर नियन्त्रणमा लिएको छ । ‘स्टेना इम्पेरो’ ट्यांकर इरानी रेभुलुसनरी गार्ड कर्प्सले ‘स्ट्रेट अफ हर्मेज’ बाट नियन्त्रणमा लिएको हो । अर्को लाईबेरियाको झण्डाबाहक बेलायती ट्यांकर ‘एम भी मेस्डार’ लाई पनि इरानी सेनाले शुक्रबार घेरा हालेको थियो । उक्त ट्यांकरलाई भने केहि समयमै छाडिएको थियो ।

बेलायती झण्डाबाहक ट्यांकर इरानको कब्जामा 

२१ माईल चौडा ‘स्ट्रेट अफ हर्मेज’ पर्सियन र ओमानको खाडीबीचको रणनीतिक क्षेत्र हो । उक्त स्थान खाडी क्षेत्रबाट तेल ओसापसारका लागि प्रयोग हुने मुख्य नाका हो । ‘स्ट्रेट अफ हर्मेज’ बन्द भएको खण्डमा यसले विश्व अर्थतन्त्रमाथि नै नकारात्मक असर पार्छ ।


बेलायती विदेशमन्त्री जेरेमी हन्टले ट्यांकर नियन्त्रणप्रति गम्भीर चासो उत्पन्न भएको बताए । हन्टका अनुसार इरानका ४ वटा डुंगा र एक सैनिक हवाईजहाजले ट्यांकरलाई घेरा हाली इरानी जलक्षेत्रतर्फ लगिएको हो । विदेशमन्त्री हन्टले ‘इरान गलत बाटोमा हिंडेको’ भन्दै ‘ट्यांकरलाई तत्काल नछोडे इरानले गम्भीर परिणाम भोग्नुपर्ने’ चेतावनी दिए । उनले भनेका छन्, ‘हिजो खाडीमा जे भयो यसले इरान पूर्णरूपमा गलत बाटोमा रहेको प्रष्ट भएको छ ।’


यद्यपि, हन्टले इरानमाथि सैनिक कारबाहीबारे नसोचेको जनाए । ‘हामीले तत्कालका लागि कुनै सैनिक समाधान सोचिरहेका छैनौं,’ हन्टले भने, ‘हामीले समस्या समाधानका लागि कुटनीतिक बाटो खोजीरहेका छौं ।’ इरानले भने ‘आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएर पनि कुनै वास्ता नगरेपछि ट्यांकरलाई नियन्त्रणमा लिएको’ जनाएको छ । तर उक्त ट्यांकरका मालिकले ‘स्टेना इम्पेरोले कुनै अन्तर्राष्ट्रिय नियम उल्लंघन नगरेको तर नियन्त्रण लिइएका बेला अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको’ दाबी गरेका छन् ।


ट्यांकरमा १८ भारतीय, ३ रूसी, एक लात्भियन र एक फिलिपिनो गरी २३ जना चालक दलका सदस्य थिए । भारत तथा फिलिपिन्सले तेहरानसँग सम्पर्क गरी आफ्ना नागरिकलाई सकुशल छाडिनदिन आग्रह गरेको जनाएका छन् ।


यसै महिनाको सुरुमा बेलायतको सहयोगमा जिब्रल्टारमा इरानी ट्यांकर नियन्त्रणमा लिइएपछि दुई देशबीच तनाव बढेको हो । बेलायतले सिरियाविरुद्ध युरोपेली संघले लगाएको प्रतिबन्ध उल्लंघन गरेको जनाउँदै ट्यांकर नियन्त्रणमा लिएको बताएको थियो । तर इरानले त्यसको खण्डन गर्दै ‘बेलायती ट्यांकर नियन्त्रणमा लिने’ चेतावनी दिएको थियो ।


गतसाता इरानी डुंगाहरूले एक बेलायती तेल ट्यांकरलाई नियन्त्रणमा लिने प्रयास गरेपनि शाही नौसैनिकको चेतावनीपछि पछि हटेका थिए । तर इरानले उक्त आरोपको खण्डन गरिसकेको छ ।


विश्व समुदायद्वारा भर्त्सना

इरानले अन्तर्राष्ट्रिय नियमविपरित बेलायती ट्यांकरलाई नियन्त्रणमा लिएको भन्दै विभिन्न देशले उक्त कदमको भर्त्सना गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् प्रवक्ताले ‘इरानी कदम हिंसाउन्मूख भएको’ बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति आफूले बेलायतसँग कुराकानी गर्ने बताए । त्यसैगरी, जर्मनी, फ्रान्सलगायत युरोपेली देशले तत्काल बेलायती ट्यांकर छाड्न इरानलाई आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?