भारत–पाक तनाव– 'जाधवलाई कूटनीतिक पहुँच’

एजेन्सी

इस्लामावाद — मृत्युदण्डको सजाय सुनाइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई पाकिस्तानले ‘कन्सुलर’ पहुँच दिने भएको छ । आफ्नो देशविरुद्ध जासुसी गरेको भन्दै पाकिस्तानी अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो । 

भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधव (दायाँ) र उनीविरुद्धको मुद्दा पुनरावलोकन गर्न आईसीजेले पाकिस्तानी अदालतलाई आदेश दिएपछि खुसी मनाउँदै साथीहरू । तस्बिर : एपी

आईसीजेको आदेशलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले‘निर्णयको स्वागत गर्दै सरकार कानुनअनुसार अघि बढ्ने’ बताएका थिए । पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार भनेको छ, ‘एक जिम्मेवार राष्ट्रका रूपमा पाकिस्तानले आफ्नो देशको कानुनअनुसार कमान्डर कुलभूषण जाधवलाई कन्सुलर सेवाको पहुँच दिने छ ।’

अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले बुधबार जाधवविरुद्धको मृद्दाको पुनरावलोकन गर्न पाकिस्तानी अदालतलाई आदेशको दिएको थियो । त्यसका साथै अदालतले जाधवलाई कूटनीतिक पहुँच नदिएर पाकिस्तानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको थियो ।

आईसीजेको पछिल्लो आदेशपछि दुई देशबीच तनाव थप बढ्ने देखिएको छ । जाधवलाई भारतीय कूटनीतिज्ञसँग पहुँच नदिएर पाकिस्तानले भियना सन्धिको उल्लंघन गरेको भारतको दाबी छ । पाकिस्तानले जाधव अवैध रूपमा छिरेका जासुस भएकाले उनको हकमा त्यस्ता पहुँच लागु नहुने भन्दै आएको थियो । जाधवलाई आफ्नो अधिकारबारे जानकारी नगराएको आईसीजेले समेत ठहर गरिसकेको छ । यद्यपि, पाकिस्तानले उक्त आरोपको खण्डन गर्दै आएको छ ।

जाधव पाकिस्तानको बलोचिस्तान प्रान्तमा सन् २०१६ मा समातिएका थिए । उनलाई पाकिस्तानको सैनिक अदालतले २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भारतको दाबी छ । उसले जाधवमाथि लागेका आरोप खण्डन गर्दै हस्तक्षेपको मागसहित राष्ट्रसंघीय अदालतपुगेको थियो ।

त्यसका साथै भारतले जाधवलाई रिहा गरी भारत फिर्ता गराइदिन आईसीजेलाई निवेदन दिएको थियो । यद्यपि, उक्त माग भने अदालतले अस्वीकार गरिसकेको छ । आईसीजेका आदेश बाध्यकारी हुने भए पनि ती आदेश लागु गराउने अधिकार भने छैन । पाकिस्तानले बलोचिस्तानमा जारी हिंसाका लागि भारत जिम्मेवार रहेको बताउने गर्छ । जाधव व्यापारको सिलसिलामा इरान पुगेको बेला अपहरण गरी पाकिस्तान पुर्‍याइएको भारतको दाबी छ ।

पक्राउ गरिएलगत्तै जाधवले जासुसी गरेको आरोप स्विकारेको भिडियो पाकिस्तानले सार्वजनिक गरेको थियो । भारतले भने उक्त भिडियो जाधवलाई दबाब दिएर बनाइएको दाबी गर्दै आएको छ ।

सन् २०१७ को अप्रिलमा भएको सुनुवाइका क्रममा पाकिस्तानी सैनिक अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको हो । तर अदालतको फैसलालाई चुनौती दिँदै भारतले मुद्दा दायर गरेपछि आईसीजेले मुद्दाको अन्तिम फैसला नहुन्जेल सजाय कार्यान्वयन नगर्न पाकिस्तानी अदालतलाई आदेश दिएको थियो ।

पाकिस्तानले सन् २०१७ को डिसेम्बरमा जाधवकी आमा र श्रीमतीलाई उनीसँग भेट गर्न दिएको थियो । सन् १९४५ मा स्थापना भएको आईसीजेले विभिन्न देशहरूबीचको झगडा समाधान गर्न आदेश दिन सक्छ । त्यसका लागि उसले अन्तर्राष्ट्रिय कानुनको सहारा लिने गर्छ ।

यसअघि सन् १९९९ मा पनि भारत र पाकिस्तानबीचको मुद्दा आईसीजे पुगेको थियो । आफ्नो नौसैनिक विमान खसालेर १६ जनाको ज्यान लिएको भन्दै पाकिस्तानले भारतविरुद्ध मुद्दा दायर गरेको थियो । तर आईसीजेले उक्तमुद्दा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी विचारधारा सिकाउन सफ्टवेयर

एजेन्सी

सोल — उत्तर कोरियाको सत्तारूढ दल ‘वर्कर्स पार्टी अफ कोरिया (डब्लूपीके) आफ्ना सदस्य तथा कार्यकर्तालाई पार्टीको विचारधारा सिकाउन सफ्टवेयर निर्माण गरेको छ । 

उत्तर कोरियाली नेता किम जोङ–उन

उत्तर कोरियाली सरकारी अखबार रोडोङ सिनमुनका अनुसार ‘चोङ्सेओ १.०’ नाम दिइएको सफ्टवेयरमा राष्ट्रनिर्माता किम इल–सुङ र उनका छोरा किम जोङ–इलका लेखहरू समावेश छन् ।

अखबारका अनुसार इन्साइक्लोपेडियाजस्तै विद्युतीय पुस्तकमा विगतका महान् कार्य, उल्लेखनीय घटना तथा वर्तमान सर्वोच्च नेता किम जोङ–उनसँग सम्बन्धित विषयवस्तु समावेश छन् । त्यसका साथै सफ्टवेयर निर्माताहरूले विभिन्न विशेषतासहितको ‘चोङ्सेओ २.०’ समेत निर्माण गरिरहेको अखबारले जनाएको छ ।

उक्त सफ्टवेयर विन्डोज तथा उत्तर कोरियाको लिनक्समा आधारित ‘रेड स्टार’ अपरेटिङ सिस्टममा चल्ने जनाइएको छ । अखबारका अनुसार सफ्टवेयर देशव्यापी रूपमा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।

हाल सरकारी अखबार रोडोङ सिनमुनले पार्टी विचारधारा सिकाउने संस्थापक नेता किम इल–सुङका विभिन्न लेख प्रकाशन गर्दै आएको छ । अखबारले किमको मृत्युको वार्षिकीका अवसरमा प्रकाशन गरेको सम्पादकीयमा ‘संस्थापक नेता किमबाट शिक्षा लिन निकै मिहिनेत गर्नुपर्ने’ उल्लेख गरेको थियो ।

उत्तर कोरिया सरकारको यो कदमलाईआफ्ना नागरिकमाथि हुने विदेशी प्रभाव रोक्ने प्रयासका रूपमा हेरिएको छ । पछिल्लो समय सूचना प्रविधिको प्रयोगले विदेशी समाचार तथा मनोरञ्जनमा उत्तर कोरियालीको पहुँच बढ्दै गएको छ ।

करिब २ करोड ५५ लाख जनसंख्या रहेको उत्तर कोरियामा ६० लाख मोबाइल फोन प्रयोगकर्ता छन् । उत्तर कोरियाले आफ्नै देशमा निर्माण गरेको स्मार्टफोन ‘प्योङयाङ–२४२५’ मा वाईफाई, वायरलेस चार्जिङ सुविधाका साथै ‘फेस रिकग्निसन’ मार्फत फोन अनलक सुविधासमेत छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्