कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पार्टी विचारधारा सिकाउन सफ्टवेयर

एजेन्सी

सोल — उत्तर कोरियाको सत्तारूढ दल ‘वर्कर्स पार्टी अफ कोरिया (डब्लूपीके) आफ्ना सदस्य तथा कार्यकर्तालाई पार्टीको विचारधारा सिकाउन सफ्टवेयर निर्माण गरेको छ । 

पार्टी विचारधारा सिकाउन सफ्टवेयर

उत्तर कोरियाली सरकारी अखबार रोडोङ सिनमुनका अनुसार ‘चोङ्सेओ १.०’ नाम दिइएको सफ्टवेयरमा राष्ट्रनिर्माता किम इल–सुङ र उनका छोरा किम जोङ–इलका लेखहरू समावेश छन् ।


अखबारका अनुसार इन्साइक्लोपेडियाजस्तै विद्युतीय पुस्तकमा विगतका महान् कार्य, उल्लेखनीय घटना तथा वर्तमान सर्वोच्च नेता किम जोङ–उनसँग सम्बन्धित विषयवस्तु समावेश छन् । त्यसका साथै सफ्टवेयर निर्माताहरूले विभिन्न विशेषतासहितको ‘चोङ्सेओ २.०’ समेत निर्माण गरिरहेको अखबारले जनाएको छ ।


उक्त सफ्टवेयर विन्डोज तथा उत्तर कोरियाको लिनक्समा आधारित ‘रेड स्टार’ अपरेटिङ सिस्टममा चल्ने जनाइएको छ । अखबारका अनुसार सफ्टवेयर देशव्यापी रूपमा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।


हाल सरकारी अखबार रोडोङ सिनमुनले पार्टी विचारधारा सिकाउने संस्थापक नेता किम इल–सुङका विभिन्न लेख प्रकाशन गर्दै आएको छ । अखबारले किमको मृत्युको वार्षिकीका अवसरमा प्रकाशन गरेको सम्पादकीयमा ‘संस्थापक नेता किमबाट शिक्षा लिन निकै मिहिनेत गर्नुपर्ने’ उल्लेख गरेको थियो ।


उत्तर कोरिया सरकारको यो कदमलाई आफ्ना नागरिकमाथि हुने विदेशी प्रभाव रोक्ने प्रयासका रूपमा हेरिएको छ । पछिल्लो समय सूचना प्रविधिको प्रयोगले विदेशी समाचार तथा मनोरञ्जनमा उत्तर कोरियालीको पहुँच बढ्दै गएको छ ।


करिब २ करोड ५५ लाख जनसंख्या रहेको उत्तर कोरियामा ६० लाख मोबाइल फोन प्रयोगकर्ता छन् । उत्तर कोरियाले आफ्नै देशमा निर्माण गरेको स्मार्टफोन ‘प्योङयाङ–२४२५’ मा वाईफाई, वायरलेस चार्जिङ सुविधाका साथै ‘फेस रिकग्निसन’ मार्फत फोन अनलक सुविधासमेत छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?