१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इरानी ड्रोन खसालेको ट्रम्पको दाबी, सुरक्षित फर्केको इरानको भनाइ

एजेन्सी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको जलसेनाले शुक्रबार एक इरानी ड्रोन खसालेको दाबी गरेका छन् । उनका अनुसार इरानी ड्रोन समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा खसालिएको हो ।

इरानी ड्रोन खसालेको ट्रम्पको दाबी, सुरक्षित फर्केको इरानको भनाइ

इरानी ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरको दूरीमा देखिएपछि खसालिएको ट्रम्पको भनाइ छ । उनले ‘यूएसएस बक्सर’ ले आफ्नो आत्मरक्षाका लागि ड्रोनमाथि आक्रमण गर्न बाध्य भएको बताए ।


‘इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरिरहेको छ,’ राष्ट्रपति कार्यालय हृवाइटहाउसमा शुक्रबार बोल्दै ट्रम्पले भनेका छन्, ‘अमेरिकाले आफ्ना अधिकारी, सामग्री र स्वार्थ रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्छ ।’


इरानले अमेरिकी दाबी अस्वीकार गर्दै मानवरहित विमान (ड्रोन) सकुशल फर्केको जनाएको छ । इरानी उपविदेशमन्त्री अब्बास आरागचीले ड्रोन खसालेको दाबी अस्विकार गरे ।


इरानी सशस्त्र बलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले ‘इरानको कुनै पनि ड्रोन अमेरिकी पानीजहाजसँग आमनेसामाने नभएको’ बताए । उलने भनेका छन्, ‘इरानका सबै ड्रोन सुरक्षित रूपमा फर्किसकेका छन् ।’


इरानले गत जुनमा अमेरिकी ड्रोनलाई गोली हानी खसालेको थियो । आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै इरानले अमेरिकी ड्रोनलाई ‘स्ट्रेट अफ होर्मुज’ मा खसालेको थियो । अमेरिकाले भने उक्त ड्रोन आक्रमणका बेला इरानी हवाई क्षेत्रमा नभई अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि रहेको बताउने गरेको छ ।


अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अलग भएको घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै ‘तेहरानमाथि कडा आर्थिक प्रतिबन्ध’ लगाइसकेका छन् । त्यसयता दुई देशबीच जारी तनाव इरानले अमेरिकी ड्रोन खसालेपछि थप चर्केको हो ।


अमेरिका र इरानबीच तनाव जारी रहेकै बेला बेलायती सेनाका पानीजहाजले आफ्नो देशका तेल ट्यांकरहरूको सुरक्षाका लागि गस्ती थालेका छन् । बेलायती आग्रहमा जिब्राल्टरको तटपारि आफ्नो देशको ट्यांकरलाई नियन्त्रणमा लिइएको प्रतिशोध लिने इरानी चेतावनीपछि बेलायत शसंकित भएको हो ।


गतसाता इरानले खाडीमा तेल तस्करी गरेको भन्दै एक विदेशी तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । गत मे र जुन महिनामा इरानले दुई पटक ओमानको खाडीमा तेल ट्यांकहरूमाथि आक्रमण गरेको अमेरिकाको आरोप छ । तर तेहरानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?