कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

युरोपेली आयोगमा पहिलोपल्ट महिला

एएफपी

स्ट्रासबर्ग, फ्रान्स — युरोपेली आयोगको अध्यक्षमा जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन निर्वाचित भएका छन् । मंगलबारको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएका हुन् । 

युरोपेली आयोगमा पहिलोपल्ट महिला

ब्रसेल्समा प्रधान कार्यालय रहेको आयोगको सर्वोच्च पदमा पुग्ने उनी पहिलो महिला बनेकी छन् । युरोपेली संघ आबद्ध २८ मुलुकका सरकारले ६० वर्षीया उर्सुमालाई समर्थन जनाएका थिए ।


कुल ७ सय ५१ सदस्यीय युरोपेली संसद्मा उनले २ सय ८३ मत प्राप्त गरिन् । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन् । उनको कार्यकाल पाँच वर्षको हुने छ ।


बहुभाषी एवं सात सन्तानकी आमा उर्सुलाले मतदानपछि सांसदलाई सम्बोधन गर्दै भनिन्, ‘बेलायतको बहिर्गमनपश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरू रहेका र मेरो काँधमा महत्त्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो ।


ब्रेक्जिटको मुद्दा चर्को रूपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने छ ।


नवनिर्वाचित उर्सुलाले भनिन्, ‘दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो, मसँग बहुमत पनि थिएन । तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ, अब म सबैलाई साथमा लिएर कार्य गर्ने छु ।’


जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गरेकी उर्सुला विजयी भएकोमा खुसी लागेको प्रतिक्रिया दिइन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले पनि उर्सुलालाई ट्वीटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?