६० लाख जनसंख्या बाढीको जोखिममा

रासस/सिन्ह्वा

ढाका — दक्षिणी एसियाका करिब ६० लाख नागरिक बाढीको खतरामा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले लाखौं व्यक्ति प्रभावित भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको छ । 

केही दिनयता दक्षिण एसियाका प्रायः देशमा भीषण बाढी आएको छ । भारतको कुनै एउटा राज्यमा मात्र १० लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै, अरू पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ ।


यसैगरी, बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौं नागरिकको ज्यान गएको छ भने लाखौं प्रभावित भएका छन् ।


ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपत्कालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग उक्त समितिले ती देशमा उपलब्ध गराइरहेको छ । रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो छ । यसबाट अझै पनि कैयौं नागरिक विस्थापित हुने र क्षति बेहोर्नुपर्ने अवस्था रहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने, ‘बाढीको प्रकोप दिन प्रतिदिन बढदो छ, विस्थापित हुनेहरूको संख्या पनि बढिरहेकै छ ।’


उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रूपमा रहेको बताए । यही हिसाबले अरू केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तीमा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको पनि उनले बताए ।


अहिले आफूहरू आपत्कालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए । भने, ‘बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकाले यसले अझै पनि ठूलो क्षति पुर्‍याउन सक्ने खतरा छ ।’ भारतीय राज्य असममा मात्र १० लाख नागरिक विस्थापित भएका छन् ।


यहाँ ब्रहृमपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भू–भागमा बाढीले क्षति पुर्‍याएको छ । यहाँ बाढीका कारण धेरैजनाको मृत्यु भइसकेको छ । उता बंगलादेशमा पनि बाढीले ठूलो असर पुर्‍याएको छ ।


जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । त्यहाँ बाढीले ११ हजारभन्दा बढी घर बगाएको छ । भारी वर्षा र बाढी आउने क्रम जारी छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?