१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘ओबामालाई अनादर गर्न ट्रम्पद्वारा सम्झौता भंग’

इरानी परमाणु सम्झौता
एजेन्सी

वासिङटन/लन्डन — बेलायती कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई अनादर गर्न इरानी परमाणु सम्झौता भंग दाबी गरेको सार्वजनिक भएको छ । अमेरिकाका लागि बेलायती राजदूत सर किम डारोकले लेखेका इमलेमा उक्त टिप्पणी गरेका समाचार बेलायती अखबार ‘द मेल’ ले आइतबार प्रकाशित गरेको छ ।

‘ओबामालाई अनादर गर्न ट्रम्पद्वारा सम्झौता भंग’

डारोकले विदेश मन्त्रालयलाई लेखेका इमेल गतसाता सार्वजनिक भएका थिए । उनको टिप्पणीप्रति विवाद उत्पन्न भएसँगै डारोकले केही दिनअघि राजीनामा दिइसकेका छन् ।


डारोकले ट्रम्पको उक्त कदमलाई ‘कूटनीतिक बर्बरता’ को संज्ञा दिएका समाचारमा जनाइएको छ । अखबारका अनुसार तत्कालीन बेलायती विदेशमन्त्री बोरिस जोन्सनले सन् २०१८ मा अमेरिकालाई परमाणु सम्झौतामा अडिग रहिरहन आग्रह गरेपछि डारकले त्यस्तो टिप्पणी लेखेर पठाएका थिए ।


सन् २०१५ मा पेरिसमा भएको सम्झौतामा इरान आफ्ना परमाणु गतिविधि सीमित पार्न सहमत भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सम्झौताबाट गत वर्ष एकपक्षीय रूपमा अलग भएको घोषणा गरेका थिए । यद्यपि, बेलायत तथा युरोपेली देशहरूले इरानी सम्झौताको बचाउ गर्दै आएका छन् ।


आफ्नो अथतन्त्र कमजोर बनाइरहेका आर्थिक प्रतिबन्ध फुकुवा गर्ने सर्तमा इरान सम्झौतामा सहमत भएको थियो तर ट्रम्पले इरानी परमाणु सम्झौताको औचित्य सकिएको घोषणा गर्दै अलग हुने घोषणा गरेका हुन् । आइतबारको मेल अखबार प्रकाशित समाचारमा लेखिएको छ, ‘जोन्सन अमेरिकाबाट बेलायत फर्किएपछि सर किम डारोकले इमलेमार्फत ट्रम्प इरानी परमाणु सम्झौता भंग गर्न लागेको लेखेका थिए ।’ अखबारका अनुसार ‘व्यक्तिगत कारण तथा पूर्वराष्ट्रपति बाराक ओबामाको अगुवाइमा गरिएको सम्झौता भएकाले पनि ट्रम्पले सम्झौता तोड्न लागेको’ डारोकले लेखेका थिए ।


अखबारका अनुसार ‘डारोकले अमेरिकी राष्ट्रपतिका सल्लाहकारहरूबीच मतभेद रहेको तथा सम्झौताबाट अलग भएपछि के गर्ने भन्ने ह्वाइटहाउससँग योजना नभएको उल्लेख गरेका थिए । अखबारका अनुसार डारोकले विदेशमन्त्री जोन्सनलाई पठाएको मेलमा लेखिएको छ, ‘त्यसमा भनिएको छ, ‘यसले ह्वाइटहाउसमा रहेको दोधार देखाउँछ । खासमा ट्रम्प प्रशासन कूटनीतिक बर्बरता गर्न उद्यत छ किनकि त्यो सम्झौता ओबामाको नेतृत्वमा भएको हो ।’


बेलायती सुरक्षा निकायले चुहिएका कूटनीतिक तथ्यांक नछाप्न सञ्चार माध्यमलाई सजग गराएलगत्तै ‘द मेल’ ले उक्त समाचार सार्वजनिक गरेको हो । स्कटल्यान्ड यार्डले पत्रकारहरूलाई सचेत गराउँदै पूर्वराजदूतबारेका थप विवरण सार्वजनिक गरे गोप्यतासम्बन्धी कानुनको उल्लंघन हुन सक्ने चेतावनी दिएको थियो ।


डारोकले ‘ट्रम्प प्रशासन अक्षम, असुरक्षित र अयोग्य’ भएको उल्लेख गर्दै विदेश मन्त्रलायलाई इमेल लेखेको समाचार गतसाता सार्वजनिक भएका थिए । उनले इमेलमा ‘ट्रम्प नेतृत्वको ह्वाइटहाउस अद्वितीय रूपमा बेकामे र विभाजित’ भएको दाबी गरेका थिए ।


डारोकले लेखेका इमेलहरू सार्वजनिक भएपछि बेलायती विदेश मन्त्रालयले ‘त्यसरी इमेल चुहाएर अखबारले बदमासीपूर्ण कार्य गरेको’ प्रतिक्रिया दिएको थियो । मेलद्वारा सार्वजनिक इमेलमा डारोकले ‘अमेरिका र बेलायतबीच जलवायु परिवर्तन, प्रेस स्वतन्त्रता र मृत्युदण्डका विषयमा विवाद उत्पन्न हुन सक्ने’ उल्लेख गरेका थिए ।


डारोकका इमेल सार्वजनिक भएसँगै उनको पक्ष र विपक्षमा राजनीतिज्ञले मत जाहेर गरेका थिए । ब्रेक्जिट पार्टी प्र्रमुख निगेल फराजले ‘डारोक राजदूत पदका लागि पूर्ण रूपमा अयोग्य भएको’ बताएका थिए भने न्यायमन्त्री डेभिड गुआकले ‘देशलाई इमानदार र पारदर्शी सल्लाह दिनु राजदूतका लागि निकै महत्त्वपूर्ण’ भएको बताएका थिए । त्यसैगरी, विदेश मन्त्रालयका एक प्रवक्ताले ‘कूटनीतिज्ञले आफूले हेर्ने देशको राजनीतिबारे स्पष्ट र इमानदार विचार दिनुपर्ने’ भन्दै डारोकको बचाउ गरेका थिए ।


बेलायत सरकारले राजदूतका टिप्पणीसहितका इमेल सार्वजनिक भएका विषयमा औपचारिक छानबिन सुरु गरिसकेको जनाएको छ । स्कटल्यान्ड यार्डले एक आपराधिक अनुसन्धान सुरु गर्दै इमेल कसरी चुहियो भनेर पत्ता लगाइने बताइसकेको छ । यार्डका सहायक आयुक्त निल बसुले प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक भएको बताएका छन् तर सम्पादक एवं राजनीतिज्ञहरूले थप विवरण प्रकाशनका विषयमा उनले दिएको चेतावनीको आलोचना गरेका छन् ।


विदेशमन्त्री जेरेमी हन्टले प्रेस अधिकारको बचाउ गर्दै जनचासोका विषयमा समाचार प्रकाशन गर्ने अधिकार प्रेसलाई रहेको बताएका छन् । त्यसैगरी पूर्वविदेशमन्त्री बोरिस जोन्सनले ‘गोप्य सामग्री सार्वजनिक गर्नेलाई कारबाही गर्नु उचित भए पनि प्रहरीले सञ्चार माध्यमलाई निसाना बनाउन नहुने’ बताएका छन् । दुवै कन्जरभेटिभ नेता भावी प्रधानमन्त्रीको प्रतिस्पर्धामा छन् ।


द मेल अखबारले भने ‘त्यस्ता विवरण छाप्ने आफ्नो निर्णयको बचाउ गरेको छ । पत्रिकाका प्रवक्ताले ‘इरानी परमाणु सम्झौता रद्द गर्ने राष्ट्रपति ट्रम्पको कदम रोक्न बेलायतको प्रयास बुझ्ने जनचासोलाई सम्बोधन गरेको’ जनाएका छन् ।

प्रकाशित : असार २९, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?