कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इरानले तेल ट्यांकरमा अवरोध गर्‍यो : बेलायत

एजेन्सी

लन्डन — बेलायतले खाडी क्षेत्रमा आफ्ना तेल ट्यांकरलाई इरानी पानीजहाजहरूले रोक्ने प्रयास गरेको जनाएको छ । बेलायत सरकारका प्रवक्ताका अनुसार आफ्ना ट्यांकरमाथि अवरोध पुर्‍याउन खोज्ने तीनटा इरानी पानीजहाजलाई धपाइएको जनाएका छन् । बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनविपरीत’ इरानले आफ्ना ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै उक्त कार्यको भर्त्सना गरेको छ । 

इरानले तेल ट्यांकरमा अवरोध गर्‍यो : बेलायत

बेलायती रक्षा मन्त्रालयका अनुसार इरानी पानीजहाज तथा बेलायती ट्यांकरको बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेर इरानी जहाजलाई मौखिक चेतावनी दिएको थियो । गतसाता इरानले जिब्राल्टार टापुनजिकै आफ्नो ट्यांकर कब्जा गरिएपछि त्यसको बदला लिने बताइरहेका बेला उक्त घटन भएको हो ।


अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले इरानी रेभोल्युसनरी गार्ड कोरको स्वामित्वका जहाजहरूले ‘ब्रिटिश हेरिटेज’ नामक ट्यांकरलाई खाडीबाट स्ट्रेट अफ होर्मुजतर्फ जाँदै गर्दा अवरोधको प्रयास गरेका जनाएका छन् । सञ्चारमाध्यमका अनुसार त्यसलगत्तै ट्यांकरको सुरक्षामा सँगै रहेको बेलायती नौसैनिक जहाज एचएमएस मन्ट्रोजले जहाजतिर बन्दुक ताकेर फर्कन चेतावनी दिएपछि इरानी जहाज फर्केका थिए ।

गत साता बेलायती रोयल मरिनको सहयोगमा एक इरानी तेल ट्यांकरलाई जिब्राल्टारमा कब्जामा लिइएको थियो । युरोपेली संघले लगाएका प्रतिबन्ध उल्लंघन गर्दै उक्त ट्यांकर सिरियातर्फ गइरहेको भन्दै नियन्त्रणमा लिइएको थियो । उक्त घटनापछि इरानी विदेश मन्त्रालयले बेलातयी राजदूतसँग सोधपुछ गर्दै बेलायतले ‘समुद्री डकैती’ शैलीमा आफ्नो ट्यांकर कब्जा गरेको भन्दै विरोध जनाएको थियो । घटनापछि एक इरानी अधिकारीले ट्यांकर फिर्ता नभए बेलायती ट्यांकर कब्जा गर्ने चेतावनी दिएका थिए ।


इरानी राष्ट्रपति हसन रौहानीले बुधबार आफ्ना ट्यांकर वरपर सैन्य जहाज खटाएर त्रसित मानसिकता प्रदर्शन गरेको भन्दै बेलायतप्रति व्यंग्य गरेका थिए । यी पछिल्ला घटना इरान र अमेरिकाबीच चर्कंदो तनावमाझ भएका छन् ।सन् २०१५ को इरानी परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेसँगै दुई देशबीचको तनाव चुलिएको छ । तर सम्झौताका पक्षधर बेलायतसहित अन्य युरोपेली देशहरूले सम्झौताप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

यद्यपि, पछिल्लो समय बेलायत र इरानबीच देखिएको तनावका कारण परमाणु सम्झौता संकटमा परेको आंकलन गरिएको छ । यसअघि गत जुनमा दुइटा तेल ट्यांकरमाथि गरिएको आक्रमणमा इरानले गरेको बेलायतको आरोप छ ।

आरोप झूटो : इरान

‘तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध गरेको बेलायतको आरोप झूटो’ भएको इरानले दाबी गरेको छ । ‘बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा कुनै सत्यता नरहेको’ इरानी गार्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


‘विगत २४ घण्टामा बेलायतसमेतका कुनै पनि जहाजमाथि आक्रमण गरिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ । बेलायत सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दैर् ‘तीनवटा इरानी पानीजहाजमा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्यांकरमा आक्रमण प्रयास गरेको’ दाबी गरेको थियो ।


एचएमएस मोन्ट्रोज युद्धपोतले इरानी आक्रमणलाई निस्तेज बनाएको बेलायतको भनाइ छ । तर विदेशी जहाज नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले ‘तत्कालै, निर्णायक र तीव्रता’ का साथ गर्न सक्ने इरानले दाबीसमेत गरेको छ । जिब्राल्टारको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्यांकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुवै देशबीच तनाव जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ‘ग्रेस १’ नामक तेल ट्यांकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरका भन्सार अधिकारी तथा प्रहरीले नियन्त्रणमा राखेको छ ।


इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित : असार २६, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?