राजदूतलाई बेलायतको समर्थन 

एजेन्सी

लन्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजदूतसँग ‘व्यवहारै नगर्ने’ भने पनि आफ्नो राजदूतप्रति ‘प्रधानमन्त्रीको पूर्ण समर्थन रहेको’ बेलायती सरकारले प्रतिक्रिया दिएको छ । 

राजदूतलाई बेलायतको समर्थन 

बेलायती प्रधानमन्त्रीको आधिकारिक निवास तथा प्रधान कार्यालय ‘डाउनिङ स्ट्रिट’ ले आफ्ना राजदूत सर किम ड्यारोकप्रति ‘पूर्ण समर्थन’ रहेको मंगलबार दोहोर्‍याएको हो । बीबीसीका अनुसार ट्रम्पले ‘बेलायती राजदूतसँग लामो समय काम गर्न नसक्ने’ जनाए पनि ‘डाउनिङ स्ट्रिट’ ले सर किमप्रति आफ्नो समर्थन कायमै रहेको अडान दोहोर्‍याएको हो ।


अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङटनस्थित बेलायती राजदूत सर किममाथि कडा रूपमा प्रस्तुत हुँदै ‘अब उनलाई कुनै वास्ता नगर्ने’ भनेका थिए । ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरेजा मेमाथि आफ्नो रिससमेत पोखेका छन् । उनले भने, ‘यो सुखद खबर हो कि बेलायतले अब चाँडै नयाँ प्रधानमन्त्री प्राप्त गर्ने छ ।’ सर किमको केही ईमेल आइतबार चुहावट भएको थियो । ती ईमेलहरूमा उनले ट्रम्प प्रशासनलाई ‘अयोग्य र खराब’ भनेका थिए ।


टेरेजाले भनिन्, ‘मलाई सर किममाथि पूर्ण विश्वास छ तर उनीसँग सहमत छैन ।’ बेलायती प्रधानमन्त्रीका प्रवक्ताले चुहावट भएको ईमेल ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री कार्यालयले यो प्रकरणपछि हृवाइटहाउससँग सम्पर्क गरेको थियो ।’ ट्रम्पले चुहावट भएको ईमेलमाथि यसअघि नै आफ्नो प्रतिक्रिया दिइसकेका छन् । उनले भनेका थिए, ‘हामी ती व्यक्तिको ठूलो प्रशंसक होइनौँ र उनले सही तरिकाले बेलायतको सेवा गरेको जस्तो हामीलाई लागेको छैन ।’ ट्रम्पले सोमबार एकपछि अर्को ट्वीट गर्दै लेखेका छन्, ‘सर किमलाई अमेरिकामा कसैले मन पराउँदैनन् ।’


टेरेजाले सर किमलाई समर्थन गरेकोमा आक्रोशित हुँदै ट्रम्पले ब्रेक्जिटमाथि बेलायती प्रधानमन्त्रीको अडानको आलोचनसमेत गरे । उनले ‘यसमा गडबडी भएको’ प्रतिक्रिया दिएका छन् । बेलायती संसद्बाट ब्रेक्जिट सम्झौता पारित गराउन विफल भएपछि टेरेजा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । अब कन्जर्भेटिभ पार्टीका दुई उम्मेदवार बोरिस जोन्सन र जेनेमी हन्ट प्रधानमन्त्री पदको दौडमा रहेका छन् ।


सर किमको ईमेल चुहावटपछि बेलायती सरकारले यसबारे जाँचको आदेश दिएको थियो । ‘बीबीसी’ का कूटनीतिक संवाददाता जेम्स लेन्डनका अनुसार ट्रम्पले सर किमप्रति जुन प्रतिक्रिया व्यक्त गरेका छन्, त्यो आफ्नो मुलुकबाट विदेशी कूटनीतिकलाई देशबाहिर पठाउने औपचारिक कानुनी प्रक्रिया हो । विशेष अन्तरवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा उनले भने, ‘उहाँ धेरै अस्थिर विचारधाराका मानिस हुनुहुन्छ ।’


राष्ट्रपति ट्रम्पले आफ्नो टीटमा जुन शब्दको प्रयोग गरेका छन्, त्यसलाई ध्यानमा राख्दै बेलायती सरकारले सर किमलाई अमेरिकाबाट ‘फिर्ता बोलाउनु’ भनेको समेत उनले अर्थ्याए । सर किम आगामी केही महिनाभित्रै अवकाश प्राप्त गर्दै छन् । यो प्रकरणपछि राजीनामा दिन सक्ने पनि उनले बताए । यदि ट्रमले सर किमसँग व्यक्तिगत रूपमा बेवास्ता गर्ने मात्रै बताएकाले उनी अमेरिकामा राजदूतका रूपमा रहन सक्ने र बेलायतमा नयाँ प्रधानमन्त्रीपछि अर्को नियुक्ति हुन सक्ने प्रतिक्रिया पनि उनको छ ।

प्रकाशित : असार २५, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?