१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्रम्पद्वारा बेलायती राजदूतको आलोचना 

इमेल चुहावट प्रकरण
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका लागि बेलायती राजदूतको आलोचना गरेका छन् । राजदूत सर किम डारोकले ‘ट्रम्प प्रशासन अक्षम, असुरक्षित र अयोग्य’ भएको जनाएका थिए ।

ट्रम्पद्वारा बेलायती राजदूतको आलोचना 

राजदूतलाई इंगित गर्दै ट्रम्पले ‘आफू उक्त मानिसको फ्यान नभएको र उनको भनाइप्रति चिन्तित नरहेको’ बताए । यद्यपि, राजदूतको भनाइले दुई देशबीचको विशेष सम्बन्धमा केही कटुता पैदा गर्न सक्ने ठानिएको छ ।

विदेश मन्त्रालयलाई लेखेका इमेलमा डारोकले ‘ट्रम्प नेतृत्वको हृवाइटहाउस अद्वितीय रूपमा बेकामे र विभाजित’ भएको दाबी गरेका थिए । डारोकको आलोचना गर्दै ट्रम्पले भनेका छन्, ‘राजदूतले संयुक्त अधिराज्यको सेवा गरेका छैनन् । म त्यसो भन्न सक्छु ।’


मेल अखबारले सार्वजनिक गरेका इमेलमा डारोकले ट्रम्प प्रशासन सक्षम हुने सम्भावनामा शंका व्यक्त गरेका छन् । डारोकले इमेलमा लेखेका छन्, ‘ट्रम्प प्रशासन बिस्तारै सामान्य, कम बेकामे, कम अप्रत्याशित, कम विभाजित र कम अक्षम हुने हामीलाई कुनै विश्वास छैन ।’


बेलायती व्यापार मन्त्री लियाम फक्सले बीबीसीसँग कुराकानी गर्दै राजदूतको अभिव्यक्ति ‘गैरव्यावसायिक, अमर्यादित र देशभक्तिविरुद्ध’ भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘जसले सार्वजनिक गरेको भए पनि इमेलले दुई देशबीचको अद्वितीय सम्बन्ध रहेका देशको रक्षा र सुरक्षा सम्बन्धलाई अवमूल्यन गरेको छ ।’


राजदूत डारोकले लेखेका इमेलहरू आइतबार बेलायती अखबार मेलले सार्वजनिक गरेको हो । ‘अखबारले इमेल चुहाएर बदमासीपूर्ण कार्य गरेको’ जनाएको बेलायती विदेश मन्त्रालयले राजदूतका भनाइ असत्य रहको दाबी भने गरेको छैन । मन्त्रालयले सोमबार इमेल चुहिएकोबारे छानबिन सुरु गरेको जनाएको छ ।


यसअघि बेलायतको ब्रेक्जिट पार्टी प्र्रमुख निगेल फराजले ‘राजदूत डारोक पदका लागि पूर्णरूपमा अयोग्य भएको’ भन्दै आलोचना गरेका थिए । तर न्यायमन्त्री डेभिड गुआकले ‘इमानदार र पारदर्शी सल्लाह दिनु राजदूतको कर्तव्य भएको’ भन्दै बचाउ गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता ‘कूटनीतिज्ञलाई आफू रहेको देशको राजनीतिबारे स्पष्ट र इमानदार रिपोर्टिङ गर्न प्रोत्साहन गरिने’ भन्दै डारोकको पक्षमा उभिएका बीबीसीले जनाएका थिए ।

प्रकाशित : असार २४, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?