कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'अमेरिकी हस्तक्षेपले परमाणु संकट बढ्यो'

एएफपी

बेइजिङ — चीनले अमेरिकाको हस्तक्षेपका कारण इरानी परमाणु सम्झौता संकटमा परेको जनाएको छ । अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै आर्थिक नाकाबन्दी लगाएपछि इरानले आइतबार युरेनियम प्रशोधनको उच्च सीमालाई तोडेको घोषणा गरेको थियो ।

'अमेरिकी हस्तक्षेपले परमाणु संकट बढ्यो'

त्यसको प्रतिक्रियामा चीनले ‘अमेरिकाको एकतर्फी दादागिरी’ कारण परमाणु संकट झन बढेको जनाएको हो । युरेनियम प्रशोधन तथा भण्डारन बढाउने निर्णय गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानलाई होसियार रहनु राम्रो’ हुने भन्दै चेतावनी दिएका छन् ।


‘एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिएको विभिन्न तथ्यले प्रस्ट भइसकेको छ ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दबाब नै इरानी परमाणु संकटको मुख्य कारण हो ।’


अमेरिकाले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट एकतर्फी रूपमा अलग भएको घोषणा गरेको थियो । त्यसलगत्तै ट्रम्प प्रशासनले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध कडा पारेपछि इरान थप रूष्ट भएको हो ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका, बेलायत, रूस, चीन, फ्रान्स, जर्मनी र इरानले सन् २०१५ मा परमाणु सम्झौता गरेका थिए । तर अमेरिकामा राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले इरानसँगको परमाणु सम्झौता न्यायसंगत नभएको भन्दै अमेरिका पछि हट्नुपर्ने बताएका थिए ।


गत मेमा सम्झौताबाट अलग भएको अमेरिकाले इरानमाथि अगस्टदेखि आर्थिक नाकाबन्दी कडा पार्दै इरानबाट निर्यात हुने तेललगायतका सामाग्री तथा बैंकिङ प्रणाली लक्षित प्रतिबन्ध लगाएको हो । त्यसलगत्तै इरानले यसअघि अमेरिकी प्रतिबन्धबाट बचाउन चीन, फ्रान्स, जर्मनी, रूस तथा बेलायतलाई आग्रह गरेको थियो ।


तर त्यसका लागि दिइएको समयसीमा सकिएलगत्तै आइतबार इरानी सहायक विदेशमन्त्रीले पत्रकार सम्मेलन गर्दै सम्झौताका प्रावधान पालना नगर्ने घोषणा गरेका हुन् । इरानले सम्झौतामा उल्लेख भएअनुसार आफूसँग राख्ने अनुमति पाएको इनरिच्ड युरेनियमको भण्डारण बढाएको बताएको एक साता नहुँदै यस्तो घोषणा गरेको हो । त्यस्तो युरेनियम आणविक भट्टीमा इन्धन तथा परमाणु हतियार निर्माणका लागि प्रयोग हुन्छ । यद्यपि, इरानी सहायक विदेशमन्त्रीले ‘इरान सम्झौताबाट पछि हट्न नचाहे पनि सम्झौताका सीमाहरूमा अडिग रहने अवस्था नरहेको’ बताएका थिए ।


जर्मनीले तेहरानद्वारा युरेनियम भण्डारणलाई बढाउने निर्णयको विरोध गर्दै परमाणु सम्झौताविपरीतका कार्य नगर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले पनि तेहरानको युरेनियम भण्डारमा कटौती गर्ने आणविक सम्झौतासम्बन्धी निर्णयबाट फिर्ता हुने कार्य दुःखद रहेको बताएका छन् ।


त्यसैगरी, रूसले पनि इरानी निर्णयप्रति चासो व्यक्त गर्दै सम्झौता जोगाउन कूटनीतिक प्रयास गर्ने जनाएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले सोमबार मस्कोमा सञ्चारकर्मीसँग भने, ‘अवस्था पक्कै पनि चिन्ताजनक छ । रूसले वार्तालाई निरन्तरता दिँदै कूटनीतिक क्षेत्रमार्फत सम्झौता जोगाउने छ । हामी अहिले पनि इरानसँगको परमाणु सम्झौताको समर्थक हौं ।’


सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको बहुपक्षीय सम्झौताअनुसार इरानलाई सीमित मात्रामा युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो ।

प्रकाशित : असार २४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?