कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इरानले युरेनियम उत्पादन बढायो

एजेन्सी

तेहरान — इरानले तीन चार वर्षअघिको परमाणु सम्झौताको अर्को एक प्रावधान तोडेको बताएको छ । राजधानी तेहरानमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले इरानले सन् २०१५ को सम्झौताअनुसारको युरेनियमको थप प्रशोधको सीमा तोडेको बताए । 

इरानले युरेनियम उत्पादन बढायो

अराक्चीले युरोपेली देशले सम्झौताअनुसारको प्रतिबद्धता पूरा नगरेको समेत आरोप लगाए । अमेरिकाले सन् २०१८ मा इरानसहित युरोपेली देश सम्मिलित सम्झौताबाट एकपक्षीय रूपमा अलग भएको घोषणा गरेको थियो । त्यसयता अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।


इरानले सम्झौतामा उल्लेख भएअनुसार आफूसँग राख्ने अनुमति पाएको इनरिच्ड युरेनियमको भण्डारण बढाएको बताएको एक साता नहुँदै यस्तो घोषणा गरेको हो । त्यस्तो युरेनियम आणविक भट्टीमा इन्धन तथा परमाणु हतियारमा पनि प्रयोग हुन्छ ।


इरानले आफूले परमाणु हतियार निर्माण गर्ने मनसाय नरहेको बताउने गरेको छ । सहायक विदेशमन्त्री अराक्चीले भनेका छन्, ‘इरान न सम्झौताबाट पछि हट्छ न रद्द गर्छ ।’ तर उनले युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुखलाई एक पत्र लेख्दै सन् २०१५ मो सम्झौताका सीमाहरूमा इरान अब अडिग नरहने स्पष्ट पारेका छन् ।


यसअघि इरानले आफूलाई अमेरिकी प्रतिबन्धबाट बचाउन चीन, फ्रान्स, जर्मनी, रूस तथा बेलायतलाई आग्रह गरेको थियो तर त्यसका लागि दिइएको समयसीमा सकिएलगत्तै आइतबार इरानले पत्रकार सम्मेलन गर्दै सम्झौताका प्रावधान पूर्ण रूपमा पालना नगर्ने प्रस्ट पारेको हो ।


सहायक विदेशमन्त्री अराक्चीले पत्रकार सम्मेलनमा ‘३.६७ प्रतिशतभन्दा बढी घनत्वमा युरेनियमको थप प्रशोधन कार्य सुरु भएको’ बताए । इरानले हरेक दुई महिना अवधिमा २०१५ को सम्झौतामा उसले गरेका प्रतिबद्धताबाट क्रमशः एक/एक गर्दै पछि हट्ने जनाएको छ तर उसले आफूविरुद्धका प्रतिबन्ध हटाइए कूटनीतिक बाटो खुला रहने समेत जनाएको छ ।


बीबीसीका अनुसार इजरायलका ऊर्जामन्त्रीले इरानी कदमको आलोचना गरेका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले पेरिस सम्झौता अलपत्र परे के हुन्छ भन्दै इरानी राष्ट्रपति हसन रूहानीसँग चासो व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित : असार २३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?