आईएलओको वर्किङ अन ए वार्मर प्लानेट रिपोर्ट : गर्मीले आठ करोडको नोकरी संकटमा

रोयटर्स/एएफपी

जेनेभा, स्विजरल्यान्ड — जलवायु परिवर्तनजन्य अत्यधिक गर्मीका कारण सन् २०३० सम्ममा विश्वभर ८ करोड मानिसको नोकरी जोखिममा पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । यो वर्ष युरोपलगायतका अन्य क्षेत्रमा अनुभव गरिएको अत्यधिक गर्मीको उदाहरण दिँदै उसले सबैभन्दा बढी प्रभाव गरिब मुलुकमा पर्ने पनि उल्लेख गरेको छ ।

आईएलओको वर्किङ अन ए वार्मर प्लानेट रिपोर्ट : गर्मीले आठ करोडको नोकरी संकटमा

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो शताब्दीको अन्त्यसम्ममा १.५ डिग्री सेल्सियसले तामक्रम वृद्धि भई २.२ प्रतिशत काम गर्ने समय (वर्किङ आवर) घट्नेसमेत जनाएको छ । ‘यसबाट ८ करोड मानिसको पूर्णकालीन नोकरी संकटनमा पर्ने छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अत्यधिक गर्मीका कारण नोकरी घट्दा २४ खर्ब अमेरिकी डलरबराबरको विश्वव्यापी अर्थतन्त्रले मूल्य चुकाउनुपर्ने छ ।’


‘आईएलओ’ का अनुसार भीषण गर्मी मानिसको शरीर/स्वास्थ्यले धान्नै नसक्ने भएकाले तिनीहरूको काम गराइ क्षमतामा कमी हुने छ । ‘जलवायु परिवर्तनका कारण हुने अत्यधिक गर्मीले श्रमिकको उत्पादकत्वमा कमी मात्रै हुने छैन, वर्षाको स्वरूपमा परिवर्तन, समुद्री सतहको जलस्तरमा वृद्धि र जैविक विविधतामाथि प्रतिकूल प्रभावसमेत पर्ने छ,’ आईएलओका क्याथरिन स्यागेटले भने ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसैसँग सम्बन्धित अर्को चेतावनी दिएको छ । डब्लूएचओले जलवायु परिवर्तनसँग सम्बन्धित हिट स्ट्रेस (तापजन्य तनाव) का कारण विश्वभर सन् २०३० र २०५० का बीच एक वर्षमा ३८ हजार थप मानिसको मृत्यु हुन सक्ने जनाएको छ । ‘हिट स्ट्रेस’ ले मानिसको शरीरले सहनै नसक्ने गर्मी अनुभव गर्ने छ ।

अत्यधिक गर्मीले लू लाग्ने, थकान महसुस हुने, शरीर कमजोर हुने, काम गराइको क्षमता घटना र अन्त्यमा मृत्युको दरसमेत बढ्न सक्ने छ । कृषि मजदुर, विशेष रूपमा महिला जसले यो क्षेत्रमा ९४ करोड श्रमिकलाई सहयोग गर्छन्, सबैभन्दा बढी प्रभावित हुने छन् । ‘आईएलओ’ ले २०३० सम्म गर्मीले उत्पन्न हुने तनावका कारण काम गर्ने समयमा ६० प्रतिशतसम्म कमी हुन सक्ने प्रक्षेपण गरेको छ ।


अत्यधिक तामक्रमका कारण नोकरीमाथि संकट मात्रै होइन, कामदारको क्षमता पनि प्रभावित हुने रिपोर्टमा छ । यसले उत्पादनको क्षमता घटाउने छ ।


आईएलओको ‘वर्किङ अन ए वार्मर प्लानेट’ शीर्षक प्रतिवेदनमा ‘हिट वेभ’ को सबैभन्दा बढी दुष्प्रभाव शरीरमाथि पर्ने औंल्याइएको छ । यसबाट अधिकांश जनसंख्या कृषि र निर्माण क्षेत्रमा आधारित रहेको मुलुक सबैभन्दा बढी प्रभावित हुने छन् । गर्मीले सबैभन्दा बढी प्रभावित हुने मुलुकमा कम्बोडियामा ७.८३ प्रतिशत, चाड (मध्य अफ्रिकी मुलुक) मा ७.११, थाइल्यान्डमा ६.३९ र सुडानमा ५.९ प्रतिशत रहेको छ । भीषण गर्मीका कारण भारतमा कुल ५.८ प्रतिशत काम गर्ने समयलाई प्रभावित पार्ने छ । त्यहाँ ३.४ करोड मानिसको नोकरी संकटमा पर्ने छ । त्यस्तै, चीनमा खराब मौसमका कारण ५.४७ करोड र अमेरिकामा ३.८९ लाख नोकरीमाथि असर पर्ने छ ।


भीषण गर्मीका कारण कृषि र निर्माण क्षेत्र सबैभन्दा बढी प्रभावित हुने छ । यसबाट काममा ६० प्रतिशत समय प्रभावित हुने छ भने १९ प्रतिश समयमा कुनै पनि राम्रो काम हुन नसक्ने रिपोर्टमा छ । भीषण गर्मीका कारण पूरै विश्वमा पलायनको स्थिति आउने छ ।


कृषि क्षेत्रमा लागेका मानिस आफ्नो पेसा छाडेर सहरमा नोकरी खोज्न थाल्ने छन् । यसबारे विश्वकै आर्थिक अवस्था खराब हुने छ । खासगरी दक्षिण र पश्चिम एसियाको अवस्था सबैभन्दा खराब हुने छ । यो शताब्दीको अन्त्यसम्म स्थिति भयावह हुने चेतावनीसमेत दिइएको छ ।



सार्क मुलुकमा गर्मीका कारण घट्ने काम गर्ने समय (प्रतिशतमा)

अफगानिस्तान०.२५

बंगलादेश ४.८४

भुटान ०.३८

भारत ५.८०

माल्दिभ्स ०.१५

नेपाल २.०५

पाकिस्तान ५.५४

श्रीलंका २.६७


प्रकाशित : असार १९, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?