कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अस्ट्रेलियाको ट्राफिक नियममा कडाई

गाडी चलाउँदा मोबाइल प्रयोग गरे हजार डलर जरिवाना
नारायण खडका

अस्ट्रेलिया — अस्ट्रेलियामा सवारी साधन चलाइरहेको अवस्थामा मोबाइल फोनको प्रयोग गरे हजार अस्ट्रेलियन डलर (करिब ८० हजार रुपैया) जरिवाना हुने भएको छ । अधिकारीका अनुसार यो निमय क्वीन्सल्याण्ड राज्यमा केही महिनापछि लागु हुने छ । यसलाई विश्वकै कडामध्येको एक ट्राफिक नियम मानिएको छ । 

अस्ट्रेलियाको ट्राफिक नियममा कडाई

स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै क्वीन्सल्याण्डमा सवारी साधन चलाउँदा मोबाइलको प्रयोगकै कारण भएका दुर्घटनामा २ महिनाको अवधिमा ४० जनाको मृत्यु भएपछि यो नियम ल्याइएको हो । राज्यका यातायातमन्त्री मार्क बेलीले नयाँ नियम आवश्यकता अनुसार ल्याइएको बताउँदै यथाशिघ्र लागू गरिने बताए ।


उनले कडा जरिवाना र दोस्रोपटक सोही आरोपमा समातिए लाइसेन्स खारेज हुने नियम समेत प्रस्ताव गरेका छन् । उनको प्रस्तावलाई राज्यकी प्रिमियर एनास्टेसिया पालासेले समेत समर्थन गरेकी छिन् । उनले धेरै ब्यक्तिले सवारी साधान चलाइरहेको बेला मोबाईलमा ध्यान दिने गरेकाले दुर्घटना बढिरहेको जनाइन् ।


अस्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीमा सवारी चलाएको बेला मोबाइलको प्रयोग गर्नेलाई कडा जरिवाना भएपनि यो नयाँ नियम अहिले लागु भइरहेको भन्दा करिब अढाई गुणा ज्यादा हो । यस नियम विपरित कार्य गरेको पाइएमा अंक प्रणालीमा चल्ने अस्ट्रेलियाको लाइसेन्सको अंक समेत गुम्ने गरेको छ । जम्मा १२ अंक मात्र हुने यहाँको

लाइसेन्समा सवारी साधन चलाउँदा मोबाइल चलाएको भेटिए ४ अंकसम्म जरिवाना हुने गरेको छ ।


आर्थिक र अंक दुबै जरिवाना हुने यहाँको नियम अनुसार बिभिन्न राज्यहरुमा फरक फरक प्रावधान राखिएको छ । नर्दन टेरिटोरीमा सबैभन्दा कम २ सय ५० डलर र सबैभन्दा बढी दक्षिण अस्ट्रेलियामा ५ सय ३४ डलर जरिवाना तोकिएको छ । तर क्युन्सल्याण राज्यमा अहिले लागु गरिएको ४ सय डलर जरिवानालाई राज्य सरकारले एकैचोटी बढाएर १ हजार डलर बनाएको हो । यसका साथै यही आरोपमा दोस्रोपटक समेत समातिए लाइसेन्स खारेज गरिने भएको छ ।


अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेहरुको संख्या समेत धेरै रहेको छ । अस्ट्रेलियाको यातायात मन्त्रालयको तथ्यांक अनुसार गएको मे महिनामा मात्र १ सय ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् जुन पछिल्लो ५ बर्षको अनुपातभन्दा झण्डै १० प्रतिशतले बढी हो । यसैगरि पछिल्लो एक बर्षमा मात्र अस्ट्रेलियामा १ हजार २ सय ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको सरकारी तथ्यांक छ ।


यहाँका प्रहरी तथा अन्य सरकारी निकायहरुले सवारी सुरक्षा सम्बन्धि बिभिन्न जानकारीहरुका साथै चेतावनी दिने गरेका भएपनि सवारी दुर्घटना हुने क्रम बढिरहेकाले अधिकारीहरु कडा नियम लगाउन बाध्य हुनुपरेको जनाइएको छ । ‘सवारी चलाउँदा मोबाइल गाडीको बन्द लकरमा राख्न हामी सबैलाई अनुरोध गछौं ।’ अधिकारीहरुले भनेका छन् ।

प्रकाशित : असार १५, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?