२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भाजपाविरुद्ध विपक्षी गुहार्दै ममता

दार्जिलिङ — पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टीसित लड्न बंगालका सबै विपक्षलाई गुहारेकी छन् । पश्चिम बंगालमा भाजपा गतिविधि रोक्न आफू सक्षम नरहेको बुझेपछि विधानसभाबाटै उनले विपक्षी गुहारेकी हुन् ।

‘भाजपालाई हराउन सबै एकबद्ध हुन अनिवार्य छ,’ सदनमा उनले भनिन्, ‘यसका लागि सबै विपक्ष मिलेर लडौं ।’ २०२१ मा पश्चिम बंगालमा विधानसभा चुनाव छ । २०१४ को लोकसभा चुनावमा बंगालमा भाजपाले २ सिट जितेको थियो ।


तर २०१९ को लोकसभा चुनावमा ८ सिट जित्यो । भाजपाको यो जितसितै बंगालमा भाजपा लहर चल्न सुरु भएको छ । ममता बनर्जीका पार्टीका केही विधायक, सांसद अनि नगरपार्षदहरू भाजपामा सामेल भइसकेका छन् ।


बंगालका भाजपा अध्यक्ष दिलीप घोष भन्छन्, ‘तृणमूल कंग्रेसका धेरै सांसद, विधायक र पार्षदहरू भाजपामा आउने छन् । चुनावअघि नै बंगालमा भाजपाको सरकार बन्न पनि सक्छ ।’


भाजपाको यस्तो दवाबले बनर्जी निक्कै सकसमा छिन् । उनले ‘भाजपासित लड्न कंग्रेसलगायत अन्य दलले तृणमूललाई साथ दिऊन् भन्ने चाहेको’ बताइन् । ‘बंगालका सबै गैर भाजपा दलहरूलाई हाम्रो साथमा आइदिने अपिल गर्छु,’ उनले सदनमा बारम्बार भनिन् ।

भाजपा नेता मुकुल रोय भन्छन्, ‘२०२१ मा बंगालमा भाजपाको सरकार बन्ने छ । बनर्जी यसैले आत्तिएकी हुन् । ममताको गुहारले हामीलाई फरक पर्दैन ।’


सदनमा उपस्थित विपक्षका विधायकलाई सम्बोधनमा राख्दै ममता बनर्जी भनिरहेकी थिइन्, ‘भाजपाले सबै संवैधानिक संस्थानलाई लत्याएको छ । देशमा धार्मिक असहिष्णुता फैलाउँदै छ । बंगालमा धर्मको नाममा राजनीति सुरु गरेको छ । यसलाई रोक्न हामी एक बनौं ।’

प्रकाशित : असार १४, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?