अस्ट्रेलियाद्वारा युद्धग्रस्त क्षेत्रबाट ८ बालबालिकाको उद्धार

अस्ट्रेलिया — अस्ट्रेलियाले युद्धग्रस्त क्षेत्र सिरियाको शरणार्थी शिविरमा रहेका ८ बालबालिकाहरुलाई उद्धार गरेको छ । उद्धार हुने बालबालिकाहरु आतंकवादी संगठन इस्लामिक स्टेटका लडाकुका छोराछोरीहरु हुन् ।

अस्ट्रेलियाद्वारा युद्धग्रस्त क्षेत्रबाट ८ बालबालिकाको उद्धार

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाबुआमा इस्लामिक स्टेटमा आबद्ध भएपछि सिरिया पुगेका अस्ट्रेलियाली बालबालिकाहरुलाई उद्धार गरिएको पुष्टि गरेका छन् । उनले आफ्ना अभिभावकहरुको अपराधको सजाय बालबालिकाहरुले भोग्न नहुने बताएका छन् ।


उनले उद्धारमा संलग्न सबैलाई धन्यवादसमेत दिएका छन् । उनले उद्धार गरिएका बालबालिकाहरुको सहयोग र सामाजिक सहायताका लागि अस्ट्रेलिया सरकारका सम्बन्धित निकायहरुले विचार गर्ने समेत बताएका छन् । उद्धार गरिएका बालबालिकाहरु २ वर्षदेखि १८ वर्षसम्मका रहेका सञ्चारमाध्यमहरुले जनाएका छन् ।


इस्लामिक स्टेटको कथित जेहादी युद्धमा सहभागी हुन केही अस्ट्रेलियालीले समेत देश छोडेका थिए । जसका कारण उनीहरुको परिवारहरु समेत प्रभावित थिए ।


तर, पछिल्लो समयमा इस्लामिक स्टेटले हार ब्योहोरेपछि शरणार्थी शिविरमा रहेका आफ्ना नागरिकहरुलाई फिर्ता लैजानुपर्ने मानव अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुले आग्रह गर्दै आएका छन् । अस्ट्रेलिया सरकारले सामाजिक क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहकार्यमा उनीहरुलाई उद्धार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सञ्चारमाध्यमहरुले मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनलाई उद्धृत गर्दै अहिले पनि सिरियाको उत्तरपूर्वी शरणार्थी शिविर क्षेत्रमा ३ हजार ५ सय बढी विदेशी बालबालिकाहरु रहेको जनाएका छन् ।


त्यसमा पनि करिब १ सयको कुपोषणका कारण मृत्यु भएको छ । अहिले पनि कम्तीमा ५० जना इस्लामिक स्टेटसँग आबद्ध भएका बालबालिका तथा महिलाहरु सिरियाका शरणार्थी शिविरमा छन् ।


सिरियामा दशकसम्म चलेको कथित जेहादी युद्धमा हजारौंले ज्यान गुमाइसकेका छन् । हजारौंको संख्यामा सिरियाका विभिन्न शरणार्थी शिविरमा रहेका छन् । उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकहरुलाई सम्बन्धित देशले फिर्ता लैजानुपर्ने आवाज मानवअधिकारवादी संस्थाहरुले उठाइरहे पनि सुरक्षाको कारण देखाउँदै फिर्ता लैजाने क्रममा ढिलाई भइरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित : असार १०, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?