एक नेपालीसहित ७ जनाको हत्या गर्ने 'सिरियल किलर'लाई जन्मकैदको फैसला
निकोसिया — एक नेपाली सहित ७ जनाको हत्या गरेको आरोपमा ग्रिस मूलका एक साइप्रस सेनाका क्यापटेनलाई त्यहाँको एक अदालतले आजीवन कारवासको सजाय सुनाएको छ ।
घरलु कामदारका रुपमा साइप्रस पुगेकी नेपाली महिला अस्मिता खड्का विष्ट, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालबालिकाहरुलाई निकोस मेटाक्सास नाम गरेका ती सैन्य अधिकृतले नियतवस हत्या गरेको अदालतले ठहर गरेको छ ।
मारिने सबै घरेलु कामदारका रुपमा साइप्रस पुगेको र हत्या भएका बालबालिकाहरु पनि मारिने महिलाहरुकै सन्तान भएको बताइएको छ ।
३५ वर्षीय ती सैन्य अधिकारीले सन् २०१६ देखि २०१८ को अगस्टमा ती महिला र बालबालिकाको हत्या गरेका थिए । शृंखलाबद्ध हत्याले सिंगो मेडिटेरानियन टापुलाई नै स्तब्ध बनाएको थियो ।
सोमबार निकोसियाको अदालतमा उनलाई कडा सुरक्षाकाबीच उपस्थित गराइएको थियो । उनलाई हत्या र अपहरणको मुद्दा चलाइएको थियो । ती सैन्य अधिकारीले अदालत सामू आफूमाथि लागेको सबै आरोप स्वीकार्दै आँशु झारेको एएफपीले जनाएको छ ।
अदालतमा वकिलले मेटाक्सासले गरेका अपराधको सम्पूर्ण बयान पढेर सुनाएका थिए । त्यसपछि आरोपितले हातले लेखेको एउटा सानो कागजमा पढेर आरोप स्वीकारेका थिए । उनले मृतकका आफ्नतहरुसँग क्षमा मागेका थिए । ती आरोपितले अदालतमा आफूले किन उक्त कार्य गरेको भन्नेबारे आफूलाई नै थाहा नभएको बताउदै आफूले घृणित काम गरेको स्वीकारेका थिए ।
निकोसियाको क्रमनले कोर्टका तीन जनाको न्यायधीशरुले 'प्रतिरक्षा गर्न नसक्ने महिलाहरुलाई श्रंखलाबद्ध तवरले हत्या गरेको' ठहर गरेका थिए । ती आरोपितलाई अदालतले ७ वटा अजीवन जेल सजायको कारावास सुनाएको थियो । जसमा पहिलो ५ वटा सजाय २५/२५ वर्षको हुने र बाँकी दुईवटा सजाय सँगै हुने फैसला गरेको थियो । आरोपितले उक्त निर्णय विरुद्ध अपिल नगर्ने बताइएको छ । उनलाई हत्या बाहेक लगाइएका अन्य आरोपहरुमा सजाय सुनाइएको छैन ।
साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिले यतिधेरै सजाय सुनाइएको यो पहिलो पटक हो । यो घटनाका कारण साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए भने त्यहाँको न्यायमन्त्रीले राजीनामा दिएका थिए । ती महिलाहरु विदेशी नागरिक भएकाले थप अनुसन्धान नगरेको भन्दै प्रदर्शनकारीहरुले प्रहरीलाई विभिन्न आरोप लगाएका थिए । त्यहाँका राष्ट्रपतिले प्रहरीको भूमिकाप्रति असुन्तुष्ट जनाउँदै सुरुदेखि नै अनुसन्धान गरेको भए थप घटना नहुन सक्ने बताएका थिए ।
यो घटना गत अप्रिल १४ मा पर्यटकहरुले एक जना महिलाको शव खानीको नालीमा देखेका थिए । भारी वर्षाले उक्त शव नालीमा ल्याइपुर्याएको थियो । शवको पहिचानपछि प्रहरीले थप अनुसन्धान गर्यो । त्यसको ४ दिनपछि आरोपित सैन्य अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परिसकेपछि मेटाक्सासले प्रहरीलाई अनुसन्धान गर्न सघाएका थिए । प्रहरीले केही शवहरु रेड लेकको विभिन्न क्षेत्रहरुमा ३ वटा सुटकेशभित्र फेला पारेको थियो । बच्चाको शव तालमा फेला पारिएको थियो । इरजायली र ब्रिटिस विज्ञहरुको सहयोगमा अधिकारीहरुले बच्चाको शव तालबाट फेला पारेका थिए । बच्चाको शव एउटा कार्पेटभित्र सिमेन्टको ब्लकले थिचेर राखिएको थियो ।
साइप्रेली सरकारले मृतक सातै जना परिवारका आफन्तलाई किरियाखर्च बापत् १७ हजार युरो दिने निर्णय गरेको छ । घरेलु र अदक्ष कामदारका लागि साइप्रस पूर्वी युरोप र एसियाको मानिसहरुका लागि एउटा प्रमुख गन्तव्यको रुपमा पर्छ ।
प्रकाशित : असार १०, २०७६ १५:१८