३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘ट्रम्पको पत्र उत्कृष्ट’

एजेन्सी

सोल — उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पाएको जनाएका छन् । 
उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार किमले उक्त पत्र ‘उत्कृष्ट’ रहेको भन्दै प्रशंसा गरेका छन् ।

‘ट्रम्पको पत्र उत्कृष्ट’

केसीएनएले किमले पत्रको बेहोराबारे गहन ढंगले सोचविचार गर्ने जनाएका छन् । पत्र प्राप्त भएपछि किमले ‘ट्रम्प असाधारण साहस भएको व्यक्ति भन्दै उनको प्रशंसासमेत गरेको जनाइएको छ ।


गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमले आफूलाई ‘एक सुन्दर पत्र’ पठाएको बताएका थिए तर किमले प्राप्त गरेको पत्र ट्रम्पले कहिले र कसरी पठाए भन्नेबारे केही उल्लेख गरिएको छैन । पत्रबारे हालसम्म अमेरिकी राष्ट्रपति कार्यालय हाइटहाउसले पनि कुनै प्रतिक्रिया दिएको छैन ।


ट्रम्प र किमबीच यसअघि दुई पटकसम्म शिखर वार्ता भइसकेका छन् । गत फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो । त्यसयता दुई देशबीच वार्ताका कुनै पहल भएका छैनन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमणपछि परमाणु निशस्त्रीकरण विषयमा अवरुद्ध वार्ता सुचारु हुन सक्ने आशाबीच ट्रम्पको पत्रको प्रशंसाबारे समाचार सार्वजनिक भएको हो ।


ट्रम्प र किमबीच भियतनाममा भएको शिखर बैठकमा कुनै सहमति हुन नसके पनि पछिल्लो समय दुवै नेता एकअर्काप्रति नरम देखिएका छन् । केही समययता ट्रम्पले किमबारे सकारात्मक टिप्पणी गरेका छन् । यसै महिनाको सुरुमा उनले किमको नेतृत्वको प्रशंसा गर्दै उनीसँग उत्तर कोरियाको विकासका लागि प्रचुर सम्भावना रहेको धारणा व्यक्त गरेका थिए । गत महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम ‘निकै चलाख व्यक्ति’ भएको बताउँदै उनले उत्तर कोरियाबाट ‘राम्रा कुरा निस्कने’ आशा व्यक्त गरेका थिए ।


दक्षिण कोरियाली नेता मुन जाए–इनसँग आगामी साता सोलमा भेटवार्ता तय गरेका ट्रम्प उत्तर कोरियासँग वार्ता सुचारु गर्ने तयारीमा रहेको अनुमान गरिएको छ । अमेरिकाले प्योङयाङले परमाणु कार्यक्रम त्यागोस् भन्ने चाहन्छ तर प्योङयाङले भने आफूविरुद्धका प्रतिबन्ध फुकुवा पूर्वसर्तका रूपमा अघि सार्ने गरेको छ ।

प्रकाशित : असार ९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?