१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

'युद्ध भए इरान ध्वस्त’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् । 

'युद्ध भए इरान ध्वस्त’

एनबीसीसँग कुराकानी गर्दै ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने’ बताए । राष्ट्रपति ट्रम्पले यसअघि ‘इरानमाथि आक्रमण गर्ने योजना अन्तिम समयमा स्थगित गरिएको’ दाबी गरेका थिए । तर १५० इरानी सर्वसाधारणको मृत्यु हुने देखिएपछि आक्रमण योजना अन्तिम समयमा रोकिएको ट्रम्पले बताए ।


इरानी नेतालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘तपाईंहरूले परमाणु हतियार निर्माण गर्न पाउनुहुन्न । यदि तपाईँहरू यसबारे वर्ता गर्न चाहनुहुन्छ भने त्यो राम्रो हो ।’


इरानको इस्लामिक रेभोलुसनरी गार्ड (आईआरजीसी) ले दक्षिणी प्रान्त होर्मोजुमा अमेरिकी जासुसी ड्रोनलाई बिहीबार गोली हानी खसालेपछि आक्रमणको योजना बनाइएको ट्रम्पको दाबी छ । यद्यपि, विश्लेषकहरूले राष्ट्रपतिको उक्त अभिव्यक्ति इरानलाई त्रसाउने भएको हुन सक्ने जनाएका छन् ।


अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ‘राष्ट्रपतिले इरानमा आक्रमण नगरेर राम्रो गरेको’ जनाइन् । उनले ‘राष्ट्रपति ट्रम्पले कुनै पनि सैनिक कदम चाल्नुअघि सदनको अनुमति लिनुपर्ने’ जनाइन् । तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरेकाले ड्रोनलाई गोली हानी खसालेको’ जनाएको थियो ।


इरानी समाचार संस्थाका अनुसार ‘मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको हो ।’ तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमाथि रहेको दाबी गरेको थियो । यसबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा सोमबार छलफल चलाउन अमेरिकाले आग्रह गरेको छ ।


गतसाता ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको अमेरिकी दाबीपछि दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘गोप्य सूचना तथा प्रयोग गरिएका हतियारका आधारमा’ इरानी इरानी विशेष फौजले आक्रमण गरेको दाबी गरेका थिए ।


त्यसविरुद्ध पोम्पियो र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन कडा कदम चाल्नुपर्ने पक्षमा उभिएका थिए । तर संसदा नेताहरू त्यसको विपक्षमा उभिएका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

ओमानको खाडी तेल ट्यांकरहरूको आवतजावत हुने प्रमुख रणनीतिक जलमार्ग हो ।


इरानी अधिकारीले भने आक्रमणसँग ‘इरानको कुनै सम्बन्ध नभएको’ बताएका छन् । जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा बिहीबार ट्यांकरमाथि आक्रमण भएलगत्तै चालक दलका सदस्यहरूको उद्धार गरिएको थियो । त्यसलगत्तै अमेरिकाले ‘इरानको शत्रुतापूर्ण व्यवहारका कारण’ खाडी क्षेत्रमा एक हजार सैनिक थप गरिसकेको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकपक्षीय रूपमा सन् २०१५ को इरानी परमाणु सम्झौताबाट अलग हुने घोषणा गरेपछि दुई देशबीच तनाव चर्केको हो । त्यसयता अमेरिकाले इरानमाथि दुई पटक पानीजहाजमा आक्रमणको अरोप लगाइसकेको छ ।

प्रकाशित : असार ८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?