कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बेलायती प्रधानमन्त्री चयन : बहसमा उत्रदै प्रतिस्पर्धी

पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान प्रधानमन्त्री जेरेमी हन्टबीचको विजेता बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् 
नवीन पोखरेल

लन्डन — बेलायतको प्रधानमन्त्रीका लागि पूर्व र वर्तमान विदेशमन्त्रीबीच प्रतिस्पर्धा हुने निश्चित भएसँगै उनीहरू टेलिभिजन बहसमा उत्रने भएका छन् । दुई नेता आगामी जुलाई ९ मा टेलिभिजन बहसमा उत्रने छन् । उक्त बहस दुई नेताबीचको पहिलो हुने छ ।

बेलायती प्रधानमन्त्री चयन : बहसमा उत्रदै प्रतिस्पर्धी

सत्तारुढ कन्जरभेटिभ दल कन्जरभेटिभ नेता चयनका लागि भएका चरणवद्ध मतदानमा पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्ट छानिइसकेका छन् । दुईमध्येको विजेताले ६६ मिलियन जनसंख्या रहेको बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । संसद्मा टोरी (कन्जरभेटिभ) दलको बहुमत रहेकाले उक्त दलको नेता नै प्रधानमन्त्री हुने निश्चित छ ।


आफ्नो ब्रेक्जिट डिलबाट असन्तुष्टि जनाउँदै बोरिसले गतवर्ष राजीनामा दिएपछि प्रधानमन्त्री टेरेजा मेले हन्टलाई विदेशमन्त्रीमा नियुक्त गरेकी थिइन् । कन्जरभेटिभ दलका ३१३ सांसदबीच नयाँ नेता चयनका लागि बिहीबार भएको पाँचौं चरणको निर्वाचनमा जोन्सनले सर्वाधिक १६० मत पाए भने हन्टले ७७ मत ल्याए । ब्रेक्जिट अभियानमा खुलेर लागेका जोन्सन सन् २००८ देखि ०१६ सम्म लन्डन मेयर बनेका थिए । सन् २०१० मा क्याबिनेट छिरेका हन्ट विदेशमन्त्री बन्नुअघि सबैभन्दा लामो समय स्वास्थ्यमन्त्री बन्ने भाग्यमानी हुन् । जोन्सनले मत परिणाम लगत्तै ट्वीटमार्फत आफू सौभाग्यशाली भन्दै समर्थन गर्नेहरुप्रति आभार व्यक्त गरेका थिए ।


पाँचौं चरणसम्म पुगेका वातावरण मन्त्री माइकल गोभ भने ७५ मत प्राप्त गरी अन्तिम चरणबाट बाहिरिए । एक मत बदर भएको थियो । हालसम्म पार्टीभित्रका सांसदहरुले मतदान गर्ने गरेकोमा अब भने दलका १ लाख ६० हजार सदस्यले नयाँ नेताका लागि पोस्टल भोटमार्फत मतदान गर्ने छन् । २२ जुनमा अन्तिम मतदान हुने र त्यसको महिना दिनभित्र बेलायतले नयाँ प्रधानमन्त्री पाइसक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री टेरेजा मेले दलको नेताबाट राजीनामा दिएपछि उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रूपमा छिन् ।


यसअघि बिहीबार नै भएको चौथो चरणको मतदानमा गृहमन्त्री साजिद जाविद सबैभन्दा कम मत प्राप्त गरी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । भूतपूर्व ब्रेक्जिट मन्त्री डोमिनिक राब दोस्रो चरणबाटै बाहिरिए ।

टोरी नेता बन्ने दौडमा रहेका पाँच प्रतिस्पर्धीहरु मंगलबार राति बीबीसी वान लाइभ बहसमा सहभागी भएका थिए । टीभी वहसको एउटा प्रश्नको जवाफमा बोरिस जोन्सनले ३१ अक्टोबरमा ईयू छाड्न एकदमै सम्भव भएको बताएका थिए । गृहमन्त्री साजिद जाविदले उक्त मितिमाथि अरू बढी ध्यान दिनुपर्ने बताएका थिए भने माइकल गोभ र जेरेमी हन्टले थप समय चाहिन सक्ने धारणा राखे । तर, रोरी स्टेवार्टले भने आफ्ना प्रतिस्पर्धीहरुलाई बिनाकुनै ठोस योजना ब्रिटेनमाथि विश्वास गरौं भनेर अगाडि बढिरहेको आरोप लगाएका थिए ।


करिब एक घण्टा लामो बहसमा उनीहरु सबैले ब्रेक्जिट टुंगो नलागेसम्म आमनिर्वाचन भने नगर्ने दृढता व्यक्त गरेका थिए । टोरी नेता बन्न १० जनाले आवेदन दिएका थिए । मार्क हार्पर, एन्ड्री लिड्सम र इस्थर म्याकभे आवश्यक १७ मत ल्याउन असफल भएपछि पहिलो चरणबाटै बाहिरिए । म्याक ह्यानककले भने बीचैमा प्रतिस्पर्धा त्यागेका थिए । अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट तेस्रो चरणबाट बाहिरिए ।


अब बन्ने प्रधानमन्त्रीले बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) डिल कसरी पार लगाउँछन् सर्वत्र चासोको विषय छ । प्रधानमन्त्री मे ईयूसँगको आफ्नो ब्रेक्जिट सम्झौता संसद्बाट तीनपटक प्रयास गर्दा पनि पारित गराउन नसकेकै कारण पदबाट राजीनामा दिन बाध्य भएकी थिइन् ।

प्रकाशित : असार ७, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?