कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन 

पछि हट्यो हङकङ सरकार
एजेन्सी

हङकङ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा प्रदर्शन चर्केपछि हङकङ सरकार पछि हटेको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शनिबार उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । शनिबारको पत्रकार सम्मेलनमा उनले ‘विधेयकका कारण समाजमा विभाजन आएको भन्दै तत्कालका लागि यसलाई रोकेर पुर्नविचार गर्नु उचित’ भएको बताइन् । 

सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन 

‘विधेयकका लागि संवाद र व्याख्यामा केही कमजोरी भएको मैले स्वीकार गर्नुपर्छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भनिन्, ‘हङकङको मुख्य रूपमा शान्ति र सुव्यवस्था कायम गर्न क्रियाशिल छ ।’ उनले चालू संसद् अधिवेशन अन्त्य हुनुअगाडि

विधेयक पारितका लागि कुनै हतार नभएको बताइन् ।


यसअघि लामले संवाददाताहरूसँग कुराकानी गर्दै ‘देशको आवश्यकताअनुसार नै कानुन ल्याइएको’ दाबी गर्दै कुनै पनि हालतमा ‘विधेयक फिर्ता नगरिने’ बताएकी थिइन् । उनले हङकङमा मानवाधिकारमाथि हस्तक्षेप हुने आशंकका कसैले पनि गर्न नपर्ने बताइन् ।


ताइवानमा एक पुरुषले आफ्नाी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयक प्रस्ताव गरिएको थियो । हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको भन्दै सरकारले उक्त विधेयक ल्याइएको जनाएको छ ।


आलोचकहरूले चीनको स्वतन्त्रताविरोधी कानुन र न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दै आएका छन् । प्रस्तावित कानुनमा हङकङमा अपराध तथा बलात्कारका आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्ने व्यवस्था गरिएको थियो । तर सुपुर्दगी गर्ने/नगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने सरकारले दाबी गरेको थियो ।


गत बुधबार करिब १० लाख मानिस विधेयकको विरोधमा उत्रेपछि लामले एक सम्बोधन गर्दै हङकङमा ‘संगठित दंगा’ गरिएको बताएकी थिइन् । सम्बोधनका क्रममा उलने ‘हङकङ बिकेको’ भन्ने आरोप अस्वीकार गरेकी थिइन् । त्यसयता हजारौं मानिसले विधेयकविरुद्ध प्रदर्शन गर्दै आएका छन् । आइतबारका लागि थप प्रदर्शन गर्ने योजनापछि सरकार पछि हट्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


विरोध प्रदर्शनमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधरको सहभागिता थियो । प्रहरीले प्रदर्शनकारीमाथि अनावश्यक दबाब प्रयोग गरेको अधिकार समूह ‘ह्यूमन राइट्स वाच’ ले जनाएको थियो । विरोध चर्कंदै गएपछि यसअघि चीनले ‘विदेशी शक्तिको हात रहेको’ दाबी गरेका थियो ।


चिनियाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिले चीनमाथि प्रहार गर्न हङकङमा विध्वंश निम्त्याउन खोजेको जनाउँदै आएको छ । बेलायतबाट स्वतन्त्र भएयता हङकङ ‘दुई देश एक नीति’ अन्तर्गत चिनियाँ नियन्त्रणमा छ ।

प्रकाशित : असार १, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?