१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रधानमन्त्री चयनमा अल्झियो बेलायती राजनीति

नवीन पोखरेल

लन्डन — केही महिनायता ब्रेक्जिट केन्द्रित बेलायतको राजनीति अब नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रियामा छ । प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि सत्तारूढ कन्जरभेटिभ नेताबाट राजीनामा दिएसँगै संयुक्तअधिराज्य मेको उत्तराधिकारी छान्न व्यस्त भएको हो । 

प्रधानमन्त्री चयनमा अल्झियो बेलायती राजनीति

पार्टीका केही ‘हेभीवेट’ अहिले कन्जरभेटिभ नेताको दौडमा कस्सिएका छन् । संसद्मा बहुमत प्राप्त कन्जरभेटिभ पार्टीको नेता नै अब बेलायतको प्रधानमन्त्री हुने छन् ।


पूर्व विदेशमन्त्री बोरिस जोन्सन नेताको दौडमा ११४ मत ल्याएर अग्रपंक्तिमा छन् । यतिखेर बोरिस टोरी सांसदहरूलाई विश्वस्त पार्न सक्रिय छन् । बोरिसले पछिल्लो एउटा अन्तरवार्तामा नयाँ ब्रेक्जिट डिलका लागि आफूले ईयूलाई दबाब दिन सक्ने दाबी गरे । यसलाई कतिपयले उनको मत आकर्षित गर्ने नाराका रूपमा पनि लिएका छन् ।


बीबीसीसँग कुरा गर्दै ब्रिटेनको सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता पदका एक प्रमुख दाबेदार बोरिस जोन्सनले भने, ‘ब्रिटेन ईयूबाट बाहिरिनुपर्छ भन्ने ब्रेक्जिट पार्टीका २९ जना सदस्यहरू युरोपेली संसद्मा चुनिएका छन् यो कुरा ईयू नेतृत्वले बुझ्नुपर्छ ।’ उनले यही मंगलबार आफ्नो दलको नेतृत्वका दावेदारहरूबीच हुने टेलिभिजन बहसमा भाग लिन आफू तयार रहेको पनि बताएका छन् । यस अघि उनले त्यस्तो बहसमा भाग नलिने संकेत गरेका थिए ।


बोरिसले गत १२ जुनमा कन्जरभेटिभको आफ्नै बेवसाइटमा १५१२ सदस्यहरूबीच भएको सर्वेक्षणमा ५३ दशमलब ६ प्रतिशत मत ल्याएका थिए । सबैभन्दा बढी सांसदहरूको मत प्राप्त गर्ने दुई जना उम्मेदवारमध्येबाट एक जना छान्न देशभरिका कन्जरभेटिभ सदस्यहरूले मतदान गर्ने छन् । जुलाई महिनाको अन्त्य वा अगस्टसम्ममा ब्रिटेनमा नयाँ प्रधानमन्त्री चयन भइसक्ने अपेक्षा गरिएको छ ।


बोरिस आवप्रावासीप्रति अलिक बढी उदार भएकाले प्रायः नेपाली उनी प्रधानमन्त्री भएको हेर्न उत्सुक छन् । विदेश मन्त्री जेरेमी हन्ट ४३ मतसहित बोरिसको निकट प्रतिस्पर्धी छन् भने माइकल गोभले ३७ मत ल्याए । दौडमा उत्रिएका स्वास्थ्यमन्त्री म्याट हेनकक, मार्क हार्पर एवं दुई महिला उम्मेदवार एन्ड्री लिड्सम र इस्थर म्याकभे कन्जरभेटिभ नेता बन्ने प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् ।


दलका सांसदहरूबीचको पहिलो ब्यालेटमा २० मत ल्याई छैटौं स्थानमा रहेका सबैभन्दा कान्छा ४० वर्षीय उम्मेदवार हेनककले आफू भावी करिअरका लागि केन्द्रित हुने बताउँदै प्रतिस्पर्धा त्यागेका हुन् । लिड्सम, हार्पर र म्याकभे क्रमशः ११, १० र ९ मत मात्र ल्याएर पहिलो चरणबाटै बाहिरिएका हुन् ।


अर्को चरणको मतदानमा जान योग्य डोमिनिक राब (२७ मत) र साजिद जाभिद (२३ मत) लाई प्रतिस्पर्धा छाड्न दबाब बढेको बताइएको छ । सत्तारूढ टोरी सांसदबीच आगामी सातासम्म हुने चार चरणको मतदानमा अत्यधिक मत ल्याउने दुई नेताको अन्तिममा पार्टी सदस्यहरूबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष मार्चसम्मको तथ्यांकअनुसार, कन्जरभेटिभका १ लाख २४ हजार सदस्य छन् ।

प्रकाशित : असार १, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?