२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भेनेजुएलाबाट पेरू पस्नेको लाम

एजेन्सी

काराकस — भेनेजुएलामा आप्रवासी नियम कडा पार्ने निर्णयसँगै हजारौं मानिस पेरूतर्फ लागेका छन् । पेरू जानका लागि पासपोर्ट र भिसा आवश्यक पर्ने नियम कार्यान्वयन गर्ने निर्णयसँगै हजारौं भेनेजुएलीहरूले देश छाडेका हुन् । 

भेनेजुएलाबाट पेरू पस्नेको लाम

भेनेजुएलामा जारी राजनीतिक संकट गहिरिएसँगै सन् २०१५ यता करिब ४० लाख मानिसले देश छाडिसेका छन् । बीबीसीका अनुसार तीमध्ये अधिकांश पेरू र कोलम्बिया पुगेका हुन् ।


कोलम्बियासँग ४ महिनादेखि बन्द सीमा गतसाता खुला गरिएसँगै दसौं हजार भेनेजुएलीले देश छाडेका थिए । भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोले गत फेब्रुअरीमा अमेरिकी समर्थनको मानवीय सहायता देशमा भित्र्याउने तयारीपछि राष्ट्रपति निकोलस मडुरोले कोलम्बियाको सीमा बन्द गरेका थिए ।


अधिकारीका अनुसार बिहीबार पेरू हिँडेका करिब ६ हजार भेनेजुएलीले छिमेकी देश इक्वेडर पार गरिसकेका छन् । उक्त संख्या विगतको तुलनामा ३ गुना हो । भेनेजुएलामा जारी शक्ति संघर्षका कारण देशमा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएपछि मानिस अन्यत्र जाने क्रम बढेको हो । भेनेजुएलामा मुद्रास्फीति निकै बढेको छ भने औषधिको समेत अभाव छ ।


विपक्षी नेता तथा राष्ट्रियसभाका अध्यक्ष गुआइडोले मडुरो चुनावमा धाँधली गरी राष्ट्रपतिमा निर्वाचित भएको भन्दै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको हो । अमेरिकासहित करिब ५५ देशले गुआइडोलाई समर्थन जनाएका छन् । सेनाको समर्थन कायम राख्न सफल मडुरोलाई चीन तथा रूसलगायत राष्ट्रले सहयोग गरिरहेका छन् ।

प्रकाशित : असार १, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?