३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मलेसियामा गैरकानुनी आप्रवासीविरुद्ध कडा नीति 

देशव्यापी धरपकड गर्नेदेखि व्यवस्थापनसम्मका योजना

(क्वालालम्पुर) — मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासी हटाउन पञ्चवर्षीय योजनासहितको विस्तृत कार्यक्रम ल्याउने भएको छ । गैरकानुनी आप्रवासीविरुद्ध यसअघिका सरकारी कार्यप्रणालीमा सुधार गर्दै विभिन्न योजनासहितका कार्यक्रम ल्याउने लागेको गृहमन्त्री मुहिद्दिन यासिनले एक वक्तव्यमा उल्लेख गरेका छन् ।

मलेसियामा गैरकानुनी आप्रवासीविरुद्ध कडा नीति 

उनका अनुसार सम्बन्धित विभिन्न मन्त्रालय र निकायसँगको रणनीतिक सहकार्यमा देशको गैरकानुनी आप्रवासी समस्या हल गर्न उक्त योजना ल्याउन लागिएको हो । यसमा प्रदेश सरकारको भूमिका, स्थानीय प्रशासन, ंस्थानीय सामुदाय एवं सुरक्षा समितिलगायतसँग सहकार्य गरिने जनाइएको छ ।


‘स्थानीय समुदाय एवं निकायहरुसँगको सहकार्यका माध्यमबाट सम्बद्ध निकाय र प्रशासनलाई थप जिम्मेवार एवं प्रभावकारी बनाई गैरकानुनी आप्रवासीहरु बसिरहने अवस्था हुन नदिनु यसको उद्देश्य हो,’ उनले आइतबार जारी एक प्रेस वक्तव्यमा भनेका छन् ।


कार्ययोजना ५ वर्षसम्म चरणबद्ध रूपमा लागू गरिने यासिनले जनाए । उनका अुनसार ‘गैरकानुनी आप्रवासीविरुद्ध देशव्यापी धरपकड, कारबाही कार्यान्वयन, नीतिगत एवं कानुनी सुधार, सीमा सुरक्षा, विदेशीको व्यवस्थापन र प्रचारप्रसार एवं जनचेतनामूलक कार्ययोजना’ ल्याउन लागिएको हो ।


मलेसियाले यसअघि गैरकानुनी आप्रवासी कामदारका लागि आममाफी, स्वेच्छिक घरफिर्ती, पुनः रोजगारी अर्थात् ‘रिहाइरिङ’ लगायत आधा दर्जनभन्दा बढी लाभदायक कार्यक्रम सञ्चालन गरिसकेको छ । ती कार्यक्रमको सदुपयोग गर्दै लाखौं आप्रवासी कामदार स्वदेश फर्के पनि अझै कैयौं गैरकानुनी आप्रवासी रहेका अनुमान छ ।


मलेसियामा गैरकानुनी आप्रवासी देशको प्रमुख समस्यामध्येको एक हो । पछिल्ला वर्ष गैरकानुनी आप्रवासीप्रति कठोर बन्दै आएको मलेसिया सरकारले आप्रवासीका लागि अझै कडाइ गर्ने देखिन्छ । उसले त्यस्ता अवस्थामा रहेका आप्रवासीविरुद्ध मुलुकभर धरपकड अभियान सञ्चालन गर्दै आएको छ ।


सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीयता गैरकानुनी आप्रवासीविरुद्ध ७ हजार ९ सय ४० धरपकड अभियान सञ्चालन गरिसकिएको छ भने २३ हजार २ सय ९५ पक्राउ परिसकेका छन् । साथै २६ हजार १ सय १६ लाई उनीहरुकै देश फिर्ता पठाइएको जनाइएको छ । तीमध्ये हजारौं नेपाली छन् । अधिकारीहरुले दोषी आप्रवासी कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता दुवैलाई कडा कारबाही हुने चेतावनी दिँदै धरपकड अभियान निरन्तर सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?