दस नेता प्रतिस्पर्धामा

बेलायती प्रधानमन्त्री चयन प्रक्रिया
एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले गतसाता राजीनामा दिएसँगै सुरु सत्तारूढ दलको नेतृत्वका लागि १० नेता प्रतिस्पर्धामा उत्रिएका छन्  । प्रतिस्पर्धाको अन्तिम सूचीमा रहेकामा जेरेमी हन्ट, डोमिनिक राब, म्याट हानकक र माइकल गोभ छन्  ।

अन्य प्रतिस्पर्धीमा मार्क हार्पर, साजिद जाभिद, बोरिस जोन्सन, एन्ड्रिया लिडसम, इस्थर म्याकभी, रोरी स्टेवार्ट छन् । प्रतिस्पर्धीमध्ये अगाडी देखिएका जोन्सनले आगामी अक्टोबर ३१ भित्र बेलायतलाई युरोपेली संघबाट कुनैपनि हालतमा अलग गर्ने प्रतिवद्धता व्यक्र गरेका छन् ।

हालैको बेलायत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनी टोरी नेताका लागि उत्तम विकल्प भएको भन्दै प्रशंसा गरेका थिए । जोन्सन बेलायती पूर्व विदेशमन्त्री हुन् । त्यसैगरी आप्रवसी तथा अन्तर्राष्ट्रिय विद्यार्थीको पक्षमा केही लचिलो देखिएका गृहमन्त्री जाभिद पनि बलियो उम्मेदवार ठानिएका छन् ।

प्रधानमन्त्री टेरेजा मेले जुन ७ मा राजीनामा दिएपछि कन्जरभेटिभ दल (टोरी) नेताका लागि दौड सुरु भएको हो । संसद्मा बहुमत भएकाले उक्त दलको नेता नै आगमी प्रधानमन्त्री हुने निश्चित छ । कन्जरभेटिभ दलले जुलाई महिनाको अन्त्यसम्म दलको नेता चयन भइसक्ने जनाइसकेको छ । पार्टीको १९२२ कमिटीले दलको नेतृत्वका लागि इच्छुक नेताले मंगलबारसम्म नाम दर्ताका लागि समय दिएको थियो ।

प्रतिस्पर्धामा रहेका नेतामध्ये पार्टीका ३ सय १३ मध्ये बहुमत सांसदको समर्थन जुटाउने नेता अन्तिम प्रतिस्पर्धामा चुनिन्छन् । तीमध्ये एकलाई कन्जरभेटिभका सदस्यले मतदानमार्फत दलको नेता चयन गर्ने प्रावधान छ । कन्जरभेटिभ दलका देशभर १ लाख २४ हजार सदस्य छन् ।

दलद्वारा सार्वजनिक कार्यक्रमअनुसार जुन १३ गते प्रथम चरणको मतदान हुने छ । त्यसैगरी, १८ देखि २० जुनभित्र अन्तिम दुई प्रतिस्पर्धीको नाम सार्वजनिक गरिने छ । त्यसैगरी जुन २२ देखि पार्टीमा मतदान सुरु हुने र जुलाई २२ मा टोरी नेताको घोषणा गरिने जनाइएको छ ।

प्रधानमन्त्री मेले आफ्नै मन्त्रिपरिषदका सदस्य तथा दलका सांसदको विरोधपछि जुन ७ मा राजीनामा दिएकी हुन् । त्यसयता उनी बेलायतको कामचलाउन प्रधानमन्त्री छन् । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे मेले गतवर्ष पेस गरेको सम्झौता बेलायती संसदले ३ पटक अस्वीकार गरेपछि उनी पद छाड्न बाध्य भएकी हुन् । बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा बहुमत आएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

पाटन संग्रहालयमा भोटेकोसी सभ्यता

कान्तिपुर संवाददाता

ललितपुर — चीनको तिब्बतबाट बगेर आउँछ भोटेकोसी  । अलिक तल आइसकेपछि यो सुनकोसी बन्छ  । यसैगरी बग्दै यो सप्तकोसीमा मिसिन्छ । यही भोटेकोसी आसपास सदियौंदेखि बसोबास गर्दै आएका समुदायले कस्ता सभ्यता विकास गरे होलान् ?

उनीहरूको विश्वास, पद्धति, जीवन दर्शन र सामाजिक चिनारी के कस्ता छन् ? यी सबै बुझन् सिन्धुपाल्चोकको भोटेकोसी पुगिरहनु पर्दैन । ललितपुरस्थित पाटन संग्रहालयमा यति बेला ‘भोटेकोसी सभ्यताको सौन्दर्य’ चित्रकला प्रदर्शनी जारी छ ।

तीनदिने प्रदर्शनीको उद्घाटन गर्दै आइतबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नदीसित मानिसको सभ्यता जोडिँदै आएको बताउँदै भोटेकोसी आसपासको सौन्दर्यभित्र पनि भिन्न सभ्यता र विश्वास पद्धति पाइने दाबी गरे । जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाई वैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो ।

त्यही कार्यशालामा तयार पारिएको चित्रहरू प्रदर्शनीमा ल्याइएको हो । सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक रूपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्त्वको रहेको बताउँदै चित्रकारहरूले त्यसलाई मिहीन ढंगले उतारेको व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर
खड्काले बताए ।

जैमन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले चाहिँ ‘प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यहाँ सभ्यता निकै पुरानो रहेको पुष्टि हुने’ बताए । स्थलगत कार्यशालामा तयार पारिएको चित्रकारहरूको कलाकृति हेर्दा भोटेकोसी सभ्यतासित बौद्ध, हिन्दु र बोन गरी तीन प्रकारको विश्वास पद्धति मिसिएको देखिन्छ । विकास बिसुङे, विक्रम प्रजापतीले नारायणलाई क्यान्भासमा उतारेका छन् भने चन्द्रा श्रेष्ठले बोन संस्कृति आधारित पूजालाई ।

त्यसै देवेन्द्र थुम्केली, दीपेन्द्रमान बनेपाली र दिवेश प्रधानले बौद्ध स्तूप, हिगी र म्हानेलाई क्यानभासमा विषयवस्तु बनाएका छन् । कान्छा काजी भासिमा र प्रकाश मानन्धरले स्थानीय अनुहारलाई क्यानभासमा उतार्दा लक्ष्मीप्रसाद खोटेजाले ग्रामीण भेकबाट लोपोन्मुख बन्दै गइरहेको ढुंगा धारामार्फत भोटेकोसी सभ्यताको कथा भनेका छन् ।

त्यस्तै राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकमी, प्रकाशचन्द्र श्रेष्ठले स्थानीय मन्दिर र आसपासको दृश्य कैद गरेका छन् भने सूर्यराम सुवालले हिमालबाट बग्दै आएको भोटेकोसीलाई नै क्यानभासमा उतारेका छन् ।

कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कार्यशाला संयोजन गरेका चित्रकार दिवेश प्रधानले बताए । उनले समृद्ध नेपाल बनाउने अभियानमा कलाकारले योगदान दिनुपर्छ भन्ने ध्येय राखेर कार्यशाला तथा प्रदर्शनी गरिएको जिकिर गरे ।

कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खड्काले भोटेकोसीको सभ्यताको उत्खनन्मा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताए । प्रदर्शनी बुधबार सकिँदै छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्