१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मेक्सिकोले गैरकानुनी आप्रवासी रोक्ने 

एजेन्सी

वासिङ्टन — मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्ने सहमति जनाएको छ । अमेरिकी राष्ट्रपतिले घोषणा गरेअुनसारको करबाट जोगिन मेक्सिकोले उक्त सहमति जनाएको हो । 

मेक्सिकोले गैरकानुनी आप्रवासी रोक्ने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट गर्दै मेक्सिकोसँगको सहमतिअनुसार अमेरिकाले भन्सार शुल्क वृद्धि स्थगन गरेको बताए । यसअघि ट्रम्पले आप्रवासीको प्रवाह नरोके मेक्सिकोविरुद्ध सोमबारदेखि लागू हुने गरि प्रत्येक महिना ५ प्रतिशतका दरले भन्सार शुल्क बढाउने घोषणा गरेका थिए ।


मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले दुई देशबीच सहमति भएको पुष्टि गरे । उनले मेक्सिकोले आफ्नो देशबाट गैरकानुनी रूपमा अमेरिका भित्रने आप्रवासी रोक्ने र अमेरिकाले कर वृद्धि फिर्ता लिने सहमति भएको जनाए ।


एब्राडका अनुसार तीन दिनसम्म चलेको वार्तामा मेक्सिकोले गैरकानुनी आप्रवासी रोक्न देशभर सुरक्षाकर्मी खटाउने, सीमाक्षेत्रमा ६ हजार सुरक्षाकर्मी थप्नेलगायतका विषयमा सहमति गरेको हो । त्यसका साथै, दुवै देशले सीमा सुरक्षाका विषयमा ‘द्विपक्षीय सहकार्य गर्ने’ समेत सहमति भएको जनाइएको छ ।


अमेरिकी विदेशमन्त्री स्टिभन मनुचिनले ‘आफूहरू सम्झौताबाट प्रशन्न रहेको’ जनाएका छन् । ‘यो निकै महत्त्वपूर्ण सहमति हो । आप्रवासी समस्याबारे मेक्सिकोको प्रतिबद्धता सराहनीय छ,’ उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा आफ्नो देश भित्रने हजारौं आप्रवासी रोक्न भन्दै गत फेब्रुअरीमा मेक्सिको सीमाक्षेत्रमा संकटकाल घोषणा गरेका थिए ।


अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐनमा गम्भीर राष्ट्रिय संकट वा विपद्सँग जुध्न राष्ट्रपतिले संकटकालको घोषणा गर्न सक्ने व्यवस्था छ । ट्रम्पले देशको दक्षिणी सीमामा आप्रवासी संकट आइपरेको बताउँदै संकटकाल घोषणा गरेका हुन् । तर उनको भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन् ।


विगतमा अमेरिकी राष्ट्रपतिहरूले खासगरी विदेश मामिलामा आइपरेका संकटसँग जुध्न राष्ट्रिय संकटकाल घोषणा गर्नेगरेको अभ्यास छ । तर ट्रम्पले देशमा विवादास्पद मुद्दामा विपक्षीको बहुमत रहेको संसद् छल्न कार्यकारी शक्ति प्रयोग गरेको देखिन्छ । जसका कारण विपक्षी दलका नेताहरू रुष्ट छन् । अमेरिका र मेक्सिकोबीच करिब ३ हजार २ सय किलोमिटर सीमा जोडिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?