कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा ड्रागन डुंगा

लक्ष्मी लम्साल

बेइजिङ — परम्परागत संस्कृति र सभ्यताको पुनरूत्थानमा क्रियाशील चीनले शुक्रबार ‘तुआनवुच्ये’ अर्थात् ड्रागन बोट फेस्टिभल मनाएको छ । ईशापूर्व ४७५–२२१ का प्रसिद्ध कवि तथा कूटनीतिज्ञ छ्वी युआनको सम्झनामा विशेष खानेकुरा खाँदै डुंगा खियाउने मुख्य गतिविधिसहित यो पर्व मनाउने गरिन्छ ।

चीनमा ड्रागन डुंगा

किम्वदन्तीअनुसार तत्कालीन चीनका विभिन्न राज्यबीचमा निरन्तर युद्ध भइरहन्थ्यो । छिन् र छ्वी राज्य निकै शक्तिशाली रहेका बेला कवि युआन छ्वी राज्यका उच्च पदाधिकारी थिए ।


चीनको प्राचीन साहित्य इतिहासमा युआनले आफ्नो राजनीतिक संकल्प, नेताहरूको विवेकशील, न्यायोचिन र निःस्वार्थ नीति, प्रकृति, भूगोल समेटिएका विभिन्न कविता लेखेका छन् । छ्वी राज्य आन्तरिक मामिला र कूटनीतिक क्षेत्रमा गम्भीर मतभेदमा फसेपछि कवि युआनमाथि राजनेताले विश्वास गर्न छोडे । यसको फाइदा उठाउँदै ईशापूर्व २७८ मा छिन् राज्यका सेनाले छ्वी राज्यमाथि नियन्त्रण जमाए ।


आफ्नो राज्यको अस्तित्व मेटिएको देख्न नसकी कवि तथा कूटनीतिज्ञ छ्वी युआनले नदीमा हामफालेर देहत्याग गरे । देशभक्त कवि युआनले मातृभूमि शत्रु राज्यमा गाभिएपछि ‘मि लो च्याङ’ मा डुबेर प्राण त्यागेको दिन उनको कदर गर्दै बर्सेनि बाँसका टुक्रामा प्वाल पारी चामल राखेर नदीमा बगाउन थालियो ।


त्यो प्रचलन परिष्कृत कविको खोजी गर्न डुंगा प्रतियोगिता गर्ने तथा जलचरबाट कविको शरीर जोगाउन विभिन्न खानेकुरा बगाउने गरिएको हो । कविलाई बचाउन त्यति बेला मानिसले नदीमा डुंगा चलाएका थिए भन्ने मान्यताका आधारमा हाल चिनियाँहरू ड्रागन बोट प्रतियोगिता गर्ने गर्दछन् ।


प्रतियोगितामा कुनै कुनै ठाउँमा दर्जनौंको संख्यामा डुंगाहरूले भाग लिन्छन् र निकै रोचक तथा मनमोहक दृश्य देखिन्छ । डुंगाको अगाडिको भागमा नागको टाउको जडान गरिनुका साथै झ्याली, डम्फु र नगराको आवाज घन्काएर डुंगाबाजहरू प्रतियोगिता जित्न तँछाडमछाड गर्छन् ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?