अस्ट्रेलियामा ग्यास उत्सर्जन बढ्दो

नारायण खडका

(अस्ट्रेलिया) — अस्ट्रेलियामा हरित गृृह ग्यास उत्सर्जनमा गत वर्षको भन्दा वृद्धि भएको छ । अस्ट्रेलियाली सरकारको नयाँ तथ्यांकअनुसार वायु प्रदूषणमा मुख्य कारक रूपमा मानिएको हरित गृह ग्यास उत्सर्जन गतवर्षको भन्दा ०.७ प्रतिशतले वृद्धि भएको हो । 

अस्ट्रेलिया सरकारले हरेक ३ महिनामा ग्यास उत्सर्जनसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । बिहीबार सार्वजनिक तथ्यांकअनुसार हरित गृह ग्यास उत्सर्जन वृद्धि हुनुमा डिजेल प्रयोगमा वृद्धि, प्राकृतिक ग्यास निर्यात, धातु तथा कोइला उत्पादनमा वृद्धि मुख्य कारक रहेको उल्लेख गरिएको छ । वातावरण तथा ऊर्जा विभागका अनुसार हरित गृह ग्यास उत्सर्जनमा विद्युत् क्षेत्रको ३३.२ प्रतिशत, यातायातको १९.९ प्रतिशत, कृषि क्षेत्रको १२.९ प्रतिशत र अन्य विद्युतीय स्रोतको १९.१ प्रतिशत योगदान छ । ऊर्जामन्त्री एङग्स टेलरले तथ्यांक सार्वजनिक गर्दै जाडोयाममा मानिसहरुले बढी ऊर्जा खपत गर्ने भएकाले पनि ग्यास उत्सर्जनमा वृद्धि भएको जनाए ।


अस्ट्रेलियाले केही समयअघि कार्बनमा लगाउँदै आएको कर हटाएपछि यसको थप वृद्धि भएको हो । मन्त्री टेलरले प्राकृतिक ग्यास निर्यातका कारण तत्काल हरित गृह ग्यास उत्सर्जन बढेको देखिए पनि विश्वव्यापी रूपमा यसले अस्ट्रेलियाको २७ प्रतिशत उत्सर्जन कम गर्न मद्दत पुर्‍याएको दाबी गरे । विश्वव्यापी उत्सर्जन कम गर्न सहयोग पुर्‍याइरहेको प्राकृतिक ग्यासको निर्यात नहटाउने पक्षमा सरकार रहेको उनको भनाइ छ ।


अस्ट्रेलियामा केही साताअघिको निर्वाचनमा समेत वातावरण प्रदूषणसम्बन्धी विषय मुख्य एजेन्डा बनेको थियो । सत्तारूढ दल लिबरल र विपक्षी दल लेबरले समेत यसलाई प्रमुख एजेन्डाका रूपमा उठाएका थिए ।


वातावरण विषयलाई नै लिएर बि्रसबनमा करोडौं डलरमा बन्न लागेको अदानी कोल माइन पनि विवादमा अाइरहेको छ । अस्ट्रेलियामा ठूलो संख्यामा कोल माइनको खानी उत्खनन् गरेर विद्युत् निकाल्ने गरिएको छ । अस्ट्रेलियाले वातावरण प्रदूषण कम गर्नका लागि नै सोलारलगायतका प्राकृतिक स्रोतमा बढी प्राथमिकता दिन ठूलो मात्रामा आमजनतालाई आर्थिक लगायतका सहुलियत दिने गरेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

चार देशमा राजदूत सिफारिस, अस्ट्रेलियामा महेश दाहाल

कतारमा नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्र
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 

राजदूत सिफारिसमा सत्तारूढ नेकपाभित्रको शक्ति सन्तुलन मिलाइएको छ । सिफारिसमा परेका चार जना प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका व्यक्ति हुन् । सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

तत्कालीन राजदूत लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा अध्यक्ष दाहालको प्रस्तावमा उनीनिकट दाहाललाई सिफारिस गरिएको छ । नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका दाहाल अध्यक्ष दाहालका जिल्लावासी र नातेदार हुन् ।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा राजदूत सिरफारिसमा परेका हुन् । झापाकाण्डमा १२ वर्ष जेल परेका उनी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड हुन् । पार्टी एकता हुनुअघि उनी तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए ।

राजदूत सिफारिस दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामुकी छोरी हुन् । ३७ वर्षीया शेर्पा प्रधानमन्त्री ओलीको प्रस्तावमा राजदूत सिफारिसमा परेको स्रोतको भनाइ छ । उनी दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिएकी छन् । अमेरिकाबाट मास्टर्स डिग्री गरेकी उनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा समेत कार्यरत थिइन् ।

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत डा. चोपलाल भुसाललाई फिर्ता गरिएपछि रिक्त बंगलादेशमा सिफारिस डा. मिश्र पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा नेता हुन् । मिश्र वरिष्ठ नेता नेपालको प्रस्तावमा राजदूत सिफारिसमा परेका हुन् ।

सरकारले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ ।

मुख्यसचिव सात दिन बिदामा
यसैबीच मुख्यसचिव लोकदर्शन रेग्मी ७ दिन लामो बिदामा बसेका छन् । उनी आइतबारदेखि लागू हुने गरी बिदामा बसेको स्रोतले जानकारी दिएको छ ।

सरकारले नयाँ मुख्यसचिव नियुक्तिका लागि रेग्मीलाई राजदूत सिफारिस गर्ने तयारी गरिरहेको हल्ला चलिरहेका बेला उनी बिदा बसेका हुन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×