कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुबईमा बस दुर्घटना, १७ को मृत्यु 

एजेन्सी

दुबई — संयुक्त अरब इमरेट्सको दुबईमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा कम्तीमा १७ को मृत्यु भएको छ । दुर्घटनामा केही घाइते छन् । मृतकहरू विभिन्न देशका नागरिक छन् ।

भारतीय अधिकारीले आफ्नो देशका ८ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दुबईस्थित भारतीय दूतावासले आफ्नो देशका मृतकको नाम सार्वजनिक गरेको छ । उसले मृतकका परिवारसँग सम्पर्क गरेको जनाएको छ ।


दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदै छ । अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन । अधिकारीका अनुसार ओमानमा दर्ता भएको बसमा ३१ यात्रु सवार थिए । प्रहरीका अनुसार शेख मोहम्मद बिन जाएद रोडमा राखिएको संकेत चिहृनमा बस ठोकिँदा दुर्घटना भएको हो ।


दुर्घटनामा घाइते करिब ५० वर्ष‍ीय बस चालकको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको दुबई प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा दुर्घटनाबारे दुःख व्यक्त गरेको छ । दुबई प्रहरी प्रमुख मेजर जनरल अब्दुल्लाह खालिफा अल-मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाहीले नराम्रो परिणाम निम्तने बताए ।


स्थानीय सञ्चारमाध्यमका अनुसार सडकमा राखिएको उचाइबारे जानकारी दिने संकेत चिहृन छल्न खोज्दा बसको अर्कोतर्फ हुत्तिएको थियो । त्यस क्रममा बसको छत ध्वस्त भएको जनाइएको छ ।

ओमानी बस कम्पनी म्वासलतले घटनाप्रति दुःख व्यक्त गर्दै मस्कट र दुबईबीचको बस सेवा तत्कालका लागि स्थगित गरेको जनाएको छ ।



प्रकाशित : जेष्ठ २४, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?