१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीन र रूसबीच सहकार्य

एजेन्सी

मस्को — चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘निकट मित्र’ को संज्ञा दिँदै प्रशंसा गरेका छन् । मस्कोमा भएको भेटवार्ताका क्रममा रूस र चीनबीच सैन्य तथा व्यापार सहकार्यका लागि सी र पुटिनबीच सहमति भएको छ । 

चीन र रूसबीच सहकार्य

‘विगत ६ वर्षमा हामीले करिब ३० पटक भेटवार्ता गरिसकेका छौं । हालसम्म सबैभन्दा बढी मैले रूस भ्रमण गरेको छ । राष्ट्रपति पुटिन मेरा सबैभन्दा घनिष्ट मित्र तथा सहकर्मी हुन्,’ रूसी राजधानी मस्कोमा आयोजित पत्रकार सम्मेलनका क्रममा सीले भने । उनले पुटिनसँग ‘गहिरो व्यक्तिगन मित्रता रहेको’ बताए । रूसी राष्ट्रपति पुटिनले ‘द्विदेशीय सम्बन्ध अभूतपूर्व तहमा पुगेको’ भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘यो विश्वव्यापी साझेदारी र रणनीतिक सहकार्य हो ।’


सीको तीनदिने रूस भ्रमण व्यापार तथा द्विदेशीय सम्बन्ध विस्तारमा केन्द्रित छ । दुई पक्षले विभिन्न व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका छन् । चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएको बेलामा भएको राष्ट्रपति सीको रूस भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । पश्चिमबाट एक्लिएको महसुस गरेको रूस र अमेरिकासँग व्यापार युद्धमा जेलिएको चीनबीच आर्थिक र सैन्य सहकार्यसमेत हुने आंकलन गरिएको छ ।


दुई देशको साझेदारीका कारण व्यापारमा पनि वृद्धि भएको छ । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार सन् २०१८ मा व्यापार २५ प्रतिशतले बढेर १०८ अर्ब अमेरिकी डलर पुगेको थियो । सीको भ्रमणका बेला दुवै देशले भविष्यमा सैन्य र आर्थिक सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले राष्ट्रिय आर्थिक स्वार्थका लागि भन्दै ‘चीनप्रति कडा व्यापार नीति अख्तियार गरेपछि’ दुई देशबीच सम्बन्ध बिग्रिएको हो । व्यापार विवाद समाधानका लागि गरिएका विभिन्न चरणका वार्ता असफल भएसँगै अमेरिका र चीनले एक अर्का देशबाट आयात हुने सामानमा लाग्ने करको दर बढाएका छन् ।


त्यसैगरी, युक्रेनमा भएको द्वन्द्वका कारण अन्य पश्चिमा देशसँग सम्बन्ध चिसिएपछि रूसले चीन लगायतका पूर्वी राष्ट्रसँग सम्बन्ध सुधार गर्दै लगेको छ । रूसले ५ वर्षअघि युक्रेनमाथि हस्तक्षेप गरेपछि पश्चिमा देशहरूसँग उसको सम्बन्ध बिग्रिएको हो । २०१५ मा सिरियाका राष्ट्रपति बसर अल–असदलाई आर्थिक तथा सैन्य सहयोग गरेपछि रूसको पश्चिमा देशले आलोचना गर्दै आएका छन् ।


त्यस्तै, रूसी दूरसञ्चार कम्पनी एमटीएससँग चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले फाइभजी सञ्जाल विस्तार गर्नेछ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेलाई अमेरिकी संस्थासँग सहकार्य गर्न प्रतिबन्ध लगाएको छ ।


बीबीसीका अनुसार सीको भ्रमणमा रक्षा र व्यापारसम्बन्धी विषयमा मात्रै कुरा भएन, चीनले आफ्नो ‘पान्डा कूटनीति’ को पनि अभ्यास गरेको छ । किनकि भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले मस्कोस्थित चिडियाखानालाई दुइटा पान्डा हस्तान्तरण गरे ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?