२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अमेरिका-बेलायतबारे ट्रम्प- 'द्विदेशीय सम्बन्ध प्रगाढ’

नवीन पोखरेल

लन्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अमेरिका र बेलायती गठबन्धन ‘विश्वकै उत्कृष्ट’ रहेको बताएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका र बेलायतको सम्बन्ध विश्वले थाहा पाएसम्मकै उत्कृष्ट हो ।’ 

अमेरिका-बेलायतबारे ट्रम्प- 'द्विदेशीय सम्बन्ध प्रगाढ’

पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘हाल निकै राम्रो रहेको दुई देशबीचको सम्बन्ध भविष्यमा पनि उस्तै रहने’ विश्वास व्यक्त गरिन् ।

उनले ट्रम्पसँग जलवायु तथा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारबारे कुराकानी भएको बताइन् । तीनदिने राजकीय भ्रमणका क्रममा लन्डनमा रहेका ट्रम्पले स्वागत र विरोध दुवै सामना गरे । सोमबार बिहान लन्डन आइपुगेपछि ट्रम्प र प्रथम महिला मेलानियाले बेलायती महारानी र प्रिन्स अफ वेल्सबाट न्यानो स्वागत पाए । उनीहरूको सम्मानमा गार्ड अफ अनर र ४१ ‘रोयल गन स्यालुट्स’ दिइएको थियो ।

भ्रमणको पहिलो दिन सोमबार मध्याहृन ट्रम्प र फस्ट लेडी मेलानियालाई बेलायती महारानी, राजकुमार चार्ल्स र उनकी धर्मपत्नी क्यामिलाले लन्डनस्थित बकिङहम राजदरबारमा औपचारिक स्वागत गरेका थिए । सवा एक बजे ट्रम्पले रानीसँग प्राइभेट लन्च गरे भने दुई बजे दरबारमा अमेरिका-बेलायत ऐतिहासिक चित्र प्रदर्शनी अवलोकन गरेका थिए । ट्रम्प दिउँसो सवा तीन बजे ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न वेस्टमिनिस्टर अबी पुगे ।

त्यसैगरी, अपराहृन ४ बजे ट्रम्प चियापानका लागि चार्ल्स र क्यामिला निवास क्लेरेन्स हाउस पुगेका थिए । साँझ पौने ९ बजे ट्रम्प दम्पती बेलायती दरबारमा आयोजित स्टेट ब्याङक्वेटमा सहभागी भए । सो अवसरमा बेलायती महारानी एलिजाबेथ द्वितीयले अमेरिका बेलायत सहकार्यले दशकौंदेखि दुवै देशका जनताको सुरक्षा र समृद्धि प्रत्याभूत गरेको बताइन् भने ट्रम्पले अमेरिका यूकेबीचको मित्रता कहिल्यै नमर्ने भन्दै प्रशंसा गरे । ट्रम्पले दोस्रो विश्वयुद्धमा ब्रिटिस जनताको साहसको प्रशंसा गर्दै रानीलाई ‘महान् महिला’ को समेत संज्ञा दिए ।

भ्रमणको दोस्रो दिन मंगलबार बिहान राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग भेटवार्ता गरे । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताहरूबीच जलवायु परिवर्तन, चीनको विवादित दूरसञ्चार कम्पनी हुवावेसँगको सहकार्यसहितका द्विपक्षीय चासोका विषयमा छलफल भए ।

सेन्ट जेम्स प्यालेसमा प्रधानमन्त्री मेसँगको ब्रेकफास्ट बैठकमा रास्ट्रपति ट्रम्पले अमेरिका र बेलायतबीच व्यापार थप विस्तार गर्ने सम्भावना औंल्याए । उनले व्यापार बढाउन दुवै मुलुक इच्छुक रहेकाले एउटा सम्झौता गर्न प्रस्ताव पनि गरेका थिए । त्यसअघि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मे दुवै देशका बिजनेस टाइकनहरूको सहभागिता रहेको एक बैठकमा सहभागी भए । जहाँ ट्रम्पले ब्रेक्जिटपछि बेलायतले अमेरिकासँगको व्यापार सम्बन्ध थप विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए ।

ट्रम्पविरुद्ध प्रदर्शन

अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण विवादरहित हुन सकेन । बेलायतको प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले सोमबार साँझ ट्रम्पको सम्मानमा बेलायती राजदरबारमा आयोजित स्टेट ब्याङक्वेट बहिस्कार गरे ।

वेस्टमिनिस्टरमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कोर्बिनले ट्रम्पलाई ‘शान्तिबारे सोच्न’ सुझाव दिए । राष्ट्रपति ट्रम्पविरुद्ध बेलायतका बकिङघम, स्टोक, सेफिल्ड, ग्लास्गो, एडिनबर्ग, चेस्टर, लेइचेस्टर, अक्सफोर्ड र एक्सिटरलगायतका स्थानमा व्यापक विरोध प्रदर्शन गरियो । बीबीसीका अनुसार विभिन्न स्थानका प्रदर्शन हिंसात्मक बन्न नदिन ३ हजार ३ सय प्रहरी अधिकारी खटाइएको थियो ।

त्यसैगरी, भ्रमणका क्रममा ट्रम्प र लन्डन मेयर सदिक खानको वाक्युद्ध पनि सतहमा आएको छ । ट्रम्पले सादिकलाई ‘स्टोन कोल्ड लुजर’ (जन्मजात हरुवा) भन्दै कटाक्ष गरे । यसअघि मेयर खानले ट्रम्पलाई ‘फासिस्ट’ को संज्ञा दिँदै चर्को आलोचना गरेका थिए । ट्रम्पले अँगालेको नीति रंगभेद तथा सभ्य समाजका लागि अनुपयुक्त भएको टिप्पणी खानको थियो ।

राष्ट्रपति ट्रम्प भेटवार्तामा व्यस्त बनिरहँदा लन्डनसहित बेलायतका विभिन्न सहरमा भने उनीविरुद्ध प्रदर्शनहरू भए । लन्डनको ट्राफलगर स्क्वायरमा हजारौंको सहभागितामा भएको प्रदर्शनलाई विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले समेत सम्बोधन गरेका थिए ।

गत डिसेम्बरमा भएको एक मतसर्वेक्षणमा ७० प्रतिशतभन्दा बढी बेलायतीले ट्रम्पको आलोचना गरेका थिए । बोरिस जोन्सन राम्रो प्रधानमन्त्री हुन सक्ने र ब्रेक्जिट वार्तामा युरोपियन युनियनका कट्टर आलोचक नाइजेल फराजलाई पनि सामेल गर्नुपर्ने भनी राष्ट्रपति ट्रम्पले हालै दिएका अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचना भएको छ ।

अमेरिकी राष्ट्रपतिले बिनासम्झौता बेलायत ईयूबाट बहिर्गमन हुनुपर्ने बताउँदै आएका छन् । ईयूपछि बेलायतको दोस्रो ठूलो व्यापार सम्बन्धका साथै बेलायतसँग सामरिक महत्त्व राख्ने देश अमेरिका भएकाले ट्रम्पको आलोचना बाबजुद पनि उनको भ्रमण महत्त्वपूर्ण मानिन्छ ।

भ्रमणको अन्तिम दिन ५ जुनमा महारानी एलिजाबेथ द्वितीय र युवराज चार्ल्ससँगै राष्ट्रपति ट्रम्पले पोर्टस्मथमा आयोजित ‘डी डे स्मृति समारोह’ मा भाग लिने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?