बर्मामा नेपालीभाषीको कर्म 

पर्वत पोर्तेल

टमु, म्यान्मार — भारत, मणिपुरको सीमावर्ती बजार मोरे पार गरेपछि म्यान्मार जगाई प्रान्तको टमु पुगिन्छ । टमु नेपालीभाषी बाहुल्य गाउँ हो । टमुको नाम्फालुम बजारचाहिँ मोरैसँगै जोडिएको छ । यो अन्तर्राष्ट्रिय सीमाको विशेषता रोचक छ, वल्लो पाइला टेक्दा भारत, चाल्दा म्यान्मार । 

टमुको नाम्फालुमका पसलमा धेरैजसो नेपाली अनुहार देखिन्छन् । ‘९० प्रतिशतभन्दा बढी नेपालीभाषी छौं,’ कपडा पसल सञ्चालन गरेका वासु भट्टराईले भने, ‘सानोतिनो व्यापारमा म्यान्मारका रैथाने पनि छन् तर ठूलो व्यापारमा चाहिँ नेपालीकै दबदबा छ ।’


टमुमा नेपालीभाषीका करिब ९ सय घर छन् । त्यसैले यो क्षेत्रको बजार उनीहरूकै पकडमा छ । व्यवसाय गर्न स्थानीय नगरपालिकाले मार्केट नै खडा गरिदिएको छ । कतिपय त आफ्नै भवनमा पनि छन् । यस क्षेत्रका नेपालीलाई स्थानीयले ‘नेपाली मारवाडी’ पनि भन्ने गर्छन् किनकि यो क्षेत्रका अधिकांश नेपाली मारवाडी समुदायझैं व्यापारमा जमेका छन् । ‘जसरी मारवाडी समुदायले व्यापारिक क्षेत्रमा उन्नति गरेको छ,’ स्थानीय व्यवसायी खिमप्रसाद पोख्रेल भन्छन्, ‘नेपालीले पनि त्यसैगरी उन्नति गरेकाले मारवाडी भन्ने गरेको होला ।’


यहाँ देखिने ठुल्ठूला कपडा पसल, इलेक्ट्रिक आइटम, कस्मेटिक र जुत्ताचप्पल होलसेल पसल नेपालीकै हुन् । होटल र खाद्यान्न पसलमा भने स्थानीयको पकड छ । डेढ दशकदेखि कपडा व्यवसायमा संलग्न कुमार रेग्मीका अनुसार वर्मामा चीन र थाइल्यान्डबाट सामान आयात हुन्छ ।


चिनियाँ सामान सस्तो भएकाले मणिपुर, नागाल्यान्डलगायत सीमावर्ती बजारमा माग ज्यादा देखिन्छ । बजार मूलतः भारतीय ग्राहक लक्षित छ । भारतीय नागरिकलाई परिचयपत्र देखाउँदा आवातजावतमा छुट छ । बर्मेलीहरू पनि दिनभरि भारत (मोरे) तिरै व्यापारमा हुन्छन् । ‘दुवै देशका सर्वसाधारणलाई आउजाउमा छुट छ,’ भारतीय गोर्खा परिसंघ मणिपुरका सचिव राहुल राई भन्छन्, ‘यो सुविधाले दुवै देशलाई फाइदा पुगेको देखिन्छ ।’


मध्य म्यान्मारको मान्डलेका योगराज दाहाल पेसाले कपडाका होलसेलर व्यवसायी हुन् । वार्षिक अरब रुपैयाँको कपडा कारोबार गर्ने दाहाल म्यान्मारका सफल व्यवसायीको सूचीमा पर्छन् । ‘मासिक करोडभन्दा बढीको कारोबार गर्छु,’ दाहाल भन्छन्, ‘यहाँ मजस्ता नेपाली व्यवसायीको संख्या धेरै छ ।’


दाहालजस्ता सफल नेपाली व्यवसायी म्यान्मारमा धेरै छन् । यहाँका नेपालीको व्यावसायिक छलाङ देखेर म्यान्मारका रैथाने पनि छक्क पर्ने गरेका छन् । उनीहरूको व्यावसायिक तरक्की ईर्ष्यालाग्दो छ । कपडाका होलसेलर देवेन्द्र रिजालदेखि गाडी व्यापारी मणिलाल पौडेलसम्मका नेपालीले म्यान्मारमा धनसँगै प्रतिष्ठान आर्जन गरेका छन् । म्यान्मारमा हीरा (रुबी) का व्यवसायी पनि कम छैनन् ।


हीरा व्यवसायीहरू बढीजसो राजधानी रङगुनमा केन्द्रित छन् । हीरा व्यापार म्यान्मारको आर्थिक प्रगतिको एक हिस्सा मानिन्छ । त्यस्तो व्यवसायमा पर्याप्त नेपाली संलग्न छन् । ‘रुबी व्यवसायमा नेपालीको संख्या पनि धेरै छ,’ व्यवसायी रिजाल भन्छन् । बर्मामा करिब २ लाख नेपालीभाषी रहेको अनुमान छ । अधिकांश कृषि र व्यापारमा संलग्न छन् । सरकारी सेवामा भने नेपालीलाई बर्मा सरकारले निषेध गरेको छ । त्यही भएर सबै व्यापार व्यवसायमै जमेर बसेका हुन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?